मनाङलाई स्थलमार्गसँग जोड्न सडक मर्मतकाे काम सुरु

 साउन १९, २०७८ मंगलबार १२:५४:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

मनाङ - लामो समयदेखि सडक सञ्जालबाट विच्छेद बनेको मनाङलाई जोड्न सडक डिभिजन कार्यालय लमजुङले काम थालेको छ ।

गएको असार १ गते आएको बाढीपहिराेले डुम्रे–बेँसीसहर–खाङ्सार सडकको झण्डै ८० प्रतिशत खण्डमा क्षति पुगेको छ । क्षति पुगेको सडक सञ्जाल फेरि सञ्चालनमा ल्याउनका लागि पालिका, प्रदेश र सङ्घ सरकारसँग पहल गर्दै मनाङका जनप्रतिनिधिले मर्मतको काम गरिरहेका छन् । सम्बन्धित निकायबीच समन्वय गरी मनाङलाई सडक सञ्जालसँग जोड्न लागि परेको प्रतिनिधि सभा सदस्य पाल्देन छोपाङ गुरुङले बताउनुभयो ।

उहाँका अनुसार जनप्रतिनिधि विपदमा परेका स्थानीयवासीको उद्धारसँगै सडक सञ्जालसँग जोड्न लागि परिरहेका छन् । जिल्लाकै ‘लाइफलाइन’का रूपमा रहेको सडक खण्ड अवरुद्ध हुँदा मनाङवासीलाई दैनिकी चलाउन धौ–धौ भएको छ ।

बाढी पहिराेका कारण घरबारविहीन बनेका यहाँका बासिन्दालाई एक गाउँबाट अर्को गाउँ आवतजावत गर्न समेत कठिनाइ छ । साथै जिल्लामा आवतजावत गर्न सहज वातावरण तयार गर्नुपर्ने अवस्था छ । यसका लागि जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय सरकारको सहकार्यमा काठे पुल, फड्के र गोरेटो बाटो निर्माण गरी मानिसको आवागमन केही हदसम्म सहज बनाइएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिनुभयो ।

बाढीले माथिल्लो मनाङको वडा नं १ पिसाङदेखि चामे गाउँपालिकाको पाँचवटै वडा र नासों गाउँपालिकाका सबै वडा पूर्णरूपमा प्रभावित भएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया