एमाले सांसदले शून्य समयकाे भरपुर उपयाेग गरे, दार्चुला घटना र खाेपकाे विषयमा सरकारप्रति खनिए

 साउन १९, २०७८ मंगलबार १६:६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद दार्चुलाको घटना र खोपको विषयलाई लिएर सरकारमाथि खनिएका छन् । 

प्रतिनिधि सभाको शून्य समयमा बोलेका प्रमुख प्रतिपक्षका सांसदले दार्चुला घटनामा सरकार मौन बसेको आरोप लगाएका छन् । भारत सरकारका विरुद्ध बोल्न नसकेको, कम्फर्टेबल भएको भन्दै निन्दा गरेका छन् । प्रतिनिधि सभाको बैठक सुरु हुनुअघि आफू बसेको ठाउँबाट उठेर सरकारको ध्यानाकर्षण गराएका नेकपा एमालेका सांसदले शून्य समयको भरपुर उपयोग गरेका छन् । 

सरकारले दार्चुला घटनामा छानबिन समितिको निष्कर्ष आउनुअघि धारणा सार्वजनिक उचित नहुने बताइरहेका बेला सांसदहरूले सरकारले भारतीय राजदूतलाई बोलाएर स्पष्टीकरण लिनुपर्ने आवाज उठेको छ । त्यसैगरी सत्तारुढ दलका सांसदले पनि समसामयिक विषयमा आफ्नो धारणा राखेका छन् ।

सांसद विमला नेपालीले तीन वर्ष अगाडि नै प्रधानमन्त्री केपी शर्मा ओलीले तुइन विस्थापित गर्ने घोषणा गरेको भए पनि अहिलेसम्म विस्थापित हुन नसकेको भन्दै नेताहरूले सक्ने कामबारे मात्रै बोल्न सुझाउनुभएको छ । 

उहाँले नेताले नागरिकलाई झुक्याउन नहुनेमा सचेत गराउनुभएको छ । उहाँले भन्नुभयो ‘केपी शर्मा ओलीले पहिलो निर्णय नै एक वर्षभित्रमा देशैभरिका तुइन विस्थापित गर्छु भन्ने प्रतिबद्धता गर्नुभएको कुरा आज सम्झना आयो । उहाँ तीन वर्ष प्रधानमन्त्री हुनुभयो तर काम भएन । आज हामीले यो दुःखद घटना सम्झनुपर्दा उहाँको बोलीको ठेगान थिएन भन्ने कुरा प्रमाणित भएको छ । तसर्थ हामी नेतृत्वमा बस्ने व्यक्तिहरूले सक्ने काम मात्रै गरौँ, नसक्ने काममा नबोलौँ र नागरिकतालाई नझुक्काऔँ भन्ने कुरा राख्न चाहन्छु ।’

सांसद भरतकुमार साहले राज्य व्यवस्था समितिबाट पास भएर संसदमा आएको नागरिकतासम्बन्धी विधेयकलाई संसदबाट छिट्टै पास गराउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले सवारी साधनको लाइसेन्स परीक्षा नखुलेको भन्दै त्यसलाई पनि खुलाउनुपर्नेमा जोड दिनुभएको छ । 

सांसद भीमसेन दास प्रधानले विदेश जाने श्रमिकहरू खोप लगाएको प्रमाणित गर्न भिडभाड गर्दै लाइनमा बस्नुपरेको भन्दै त्यसलाई सहज बनाउन सरकारसमक्ष माग गर्नुभयो । 

सांसद भूमिप्रसाद त्रिपाठीले दार्चुला घटनाको सत्य/तथ्य सार्वजनिक गरी दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्नुभयो । वर्तमान सरकार भारतीय दादागिरीका सामु निरीह भएको उहाँको टिप्पणी छ । उहाँले भन्नुभयो, ‘सत्य/तथ्य अविलम्ब सार्वजनिक गर्न, दोषीलाई कारबाहीको दायरामा ल्याउन र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु । वर्तमान सरकार भारतीय दादागिरीका सामु निरीह साबित भएको छ । यो सरकार नेपाली नागरिकका लागि होइन । अरू कसैका लागि कम्फर्टेबल भएको चर्चा सर्वत्र सुन्न पाइन्छ । हेक्का रहोस् गोरु सधैँ ब्याउँदैन । लोकतन्त्रमा नागरिक नै भगवान हुन् ।’

सांसद मनकुमारी जिसीले केही महिनाअघि दुई राउटे युवतीलाई अमानवीय व्यवहार गरिएको र उनीहरूको जीवन नै जोखिममा रहेको प्रचारप्रसार भइरहेको भन्दै उनीहरूको अवस्था सार्वजनिक गर्न सरकारसँग माग गर्नुभयो । 

सांसद महेश बस्नेतले कांग्रेस नेतृत्वको सरकारले स्वास्थ्य माफियालाई संरक्षण गरेको आरोप लगाउनुभयो । त्यस्तै सरकारले खोपको दुरुपयोग गरेकोप्रति कवितात्मक शैलीमा खरो टिप्पणी गनुभयो । उहाँले वर्तमान सरकार चल्ने जस्तो नदेखिएको पनि बताउनुभयो ।

सांसद बस्नेतले भन्नुभयो, एसएसबीले तुइन काटे, जयसिंह धामी महाकालीमा डुबे । सरकार भन्छ मौन बस, समाचार नबनऊ । प्रधानमन्त्री भन्नुहुन्छ– खोप, खोप, खोप । कांग्रेसको मेयरको घरमा खोप । उपसभापतिको घरमा खोप । होटलमा सत्ता पक्षको कार्यकर्तालाई खोपै खोप, नागरिक दिनभरि लाइनमा खोप न सोप । बिचरा सरकार व्यापारी मन्त्री बनाउँछ । दक्ष सचिव फेर्छ । वीर अस्पतालकाे एमडी फेर्छ । स्वास्थ्य माफियालाई संरक्षण गर्छ । देशभर बाढी पीडित नागरिक राहत पाइनँ भनेर कराउँदछन् । कांग्रेसका विपक्षीहरू मन्त्री नपाए सरकारमा जान्न भन्दैछन् । कांग्रेसका वडा अध्यक्षहरू नगरपालिकाको कार्यालय फोड्दै छन् । माओवादी, जसपा भन्दैछ– मन्त्री सङ्ख्या नबढाए सांसदले आत्महत्या गर्ने भए । दिमागमा आतङ्क ल्याए, भूकम्प ल्याए । परमादेशबाट बनेको सरकार तीन हप्ता भएछ, मन्त्रीमण्डल गठन भएन, न्यूनतम साझा कार्यक्रम आएन । प्रधानमन्त्री अब बेरोजगार भएका त्रिपाठीहरूलाई अदालत पठाउनुस् । फलानो पार्टीका फलानो मन्त्रीलाई मन्त्री बनाइँ पाउँ भनेर परमादेश जारी गराउनुस् । नत्र जनादेशविनाको सरकार चल्ला जस्तो देखिएन । अब जनता भन्दैछन्, केपी बा आई लभ यू ।’

सांसद महेश्वरजंग गहतराज अथकले दार्चुला घटनाको सत्य/तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न कुटनीतिक र राजनीतिक तहबाट छलफल अगाडि बढाउनुपर्ने बताउनुभयो । 

सांसद मीनबहादुर विश्वकर्माले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनियमितता र भ्रष्टाचार भएको भन्दै त्यसको छानबिन गर्न माग गर्नुभयो । त्यहाँ आन्दोलनरत चिकित्सक, कर्मचारी र विद्यार्थीहरूको मागलाई सम्बोधन गरिनुपर्ने उहाँले बताउनुभयो । 

सांसद मेटमणि चौधरीले अब प्रतिनिधि सभा पूरा अवधि चल्नुपर्ने बताउनुभयो । संविधानको पालना गरी त्यहीअनुसार सरकार सञ्चालन गर्न उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । सत्तामा बस्नेहरूलाई घमण्ड नदेखाउन पनि उहाँले सचेत गराउनुभयो । 

सांसद योगेश भट्टराईले कोरोना रोकथाम र नियन्त्रणमा सरकारलाई समयको छुट नभएको बताउनुभयो । स्वास्थ्य मन्त्री र प्रधानमन्त्रीले घोषणा गरेअनुसार खोप उपलब्धता हुनेमा शङ्का व्यक्त गर्दै उहाँले प्रतिबद्धताअनुसार काम गर्ने समय सुरु भएको सुझाउनुभयो । 

सांसद रामकुमारी झाँक्रीले वर्तमान सरकारले विगतको सरकारले गरेको जनविरोधी कामहरूलाई खारेजी गर्नुपर्ने बताउनुभयो ।  

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया