अमेरिका र बेलायतद्वारा आफ्ना नागरिकलाई तत्काल अफगानिस्तान छाड्न आग्रह

 साउन २३, २०७८ शनिबार १९:३३:५ | रासस
unn.prixa.net

काठमाण्डाै - संयुक्त राज्य अमेरिका र बेलायतले आफ्ना नागरिकलाई तत्काल अफगानिस्तान छाड्न आग्रह गरेका छन् । 

अफगानिस्तानबाट अमेरिकी नेतृत्वमा रहेको विदेशी सैनिकको फिर्ता प्रक्रिया बढेपछि तालिबान विद्रोहीले आफ्नो गतिविधिलाई देशभर बढाएको र यसका कारण सुरक्षा अवस्था बिग्रँदै गएको भन्दै आफ्ना नागरिकलाई अफगानिस्तान छाड्न आग्रह गरेका हुन्। 

अफगानिस्तानको सुरक्षा अवस्था कमजोर बनेकाले अन्तर्राष्ट्रिय आतङ्कवादी समूहहरुले अफगानिस्तानमा आफ्ना नागरिकहरुलाई लक्षित आक्रमण हुन सक्ने चिन्ता बेलायतको विदेश मन्त्रालयले प्रकट गरेको छ।

काबुलमा रहेकाे अमेरिकी राजदूतावासले तत्काल हवाई टिकट खरिद गर्न नसक्ने अवस्थामा रहेका आफ्ना नागरिकलाई ऋण उपलब्ध गराउने समेत जानकारी गराएको छ। 

अमेरिकाले आफ्ना नागरिकहरुलाई व्यापारिक उडानहरुबाट फर्कन र दूतावासले गर्ने आपत्कालीन उद्धारमा भर नपर्न आग्रह गरेको छ । स्थानीय अधिकारीहरुका अनुसार तालिबान लडाकुहरुले निम्रोज प्रान्तको राजधानी जारञ्जमाथि नियन्त्रण कायम गरेका छन् । त्यसलाई सरकारी फौजका निम्ति ठूलो धक्काको रुपमा हेरिएको छ ।  

दक्षिण–पश्चिमी अफगानिस्तानको त्यस सहर तालिबान लडाकुहरुको नियन्त्रणमा गएको पहिलो प्रान्तीय राजधानी बनेको छ । तालिबान लडाकु समूहको अबको निशानामा दक्षिणी सहरहरु कान्दहार र लस्कर गह रहेको देखिएको छ।

शुक्रवार ट्विटरमा एउटा पोस्ट गर्दै तालिबान लडाकुहरुले इरानी सीमासँग जोडिएको एउटा महत्त्वपूर्ण व्यापार केन्द्र जारञ्जमाथि कब्जा गरेको दाबी गरेका थिए । 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया