टेलिकमकाे एसईई अफर : विद्यार्थीलाई निःशुल्क सिम, एक महिनासम्म कल र डाटामा पनि शुल्क नलाग्ने

 साउन २५, २०७८ सोमबार १३:५८:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल टेलिकमले एसईईका विद्यार्थीहरूका लागि निःशुल्क सिम कार्ड, एक महिनासम्म निःशुल्क कल र डाटा सेवा दिने भएको छ । 

नयाँ सिम प्राप्त गर्नका लागि विद्यार्थीहरूले कक्षा १० को मार्कशिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा अरू परिचय पत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्नेछ । 

सिम लिइसकेपछि *1600# डायल गरी प्राप्त निर्देशनअनुसार सिम्बोल नम्बर र जन्म मिति उल्लेख गर्नुपर्दछ । स्टुडेन्ट रजिस्ट्रेशन प्याकबाट नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक १० मिनेट कुराकानी गर्न, १० वटा एसएमएस पठाउन र एक सय एमबी डाटा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । 

यसअनुसार ३० दिनसम्म तीन हजार एमबी डाटा, तीन सय मिनेट कुराकानी र तीन सय  वटा एसएमएसको सुविधा प्राप्त हुनेछ । यो सुविधा नेपाल टेलिकमको नेटवर्कमा मात्र लागू हुनेछ । यो अफर भएको नयाँ सिममा बोनस अन रिचार्ज प्याक समेत उपलब्ध गराइएको छ । यस प्याकमा ५० रुपैयाँ र त्योभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि पाँच सय एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्कभित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधासमेत उपलब्ध हुनेछ । यो सुविधा ६ महिनासम्मको रिचार्जमा उपलब्ध हुनेछ । बोनसबापत यसरी प्राप्त हुने सुविधा तीन दिनभित्र प्रयोग गरिसक्नुपर्ने टेलिकमले जनाएको छ ।

विद्यार्थीहरूले पहिलेदेखि नै प्रयोग गरिरहेको नेपाल टेलिकमको मोबाइल नम्बरमा स्टुडेन्ट रजिस्ट्रेशन प्याक सुविधा लिन परेमा प्रयोग गरिरहेको मोबाइलबाट *1600# मा डायल गरी प्राप्त निर्देशनअनुसार सिम्बोल नम्बर र जन्म मिति उल्लेख गर्नुपर्दछ । त्यसपछि नेपाल टेलिकमले प्राप्त सूचनाका आधारमा त्यो सिमलाई विद्यार्थी सिमका रूपमा रजिस्टर गर्दछ ।

Student Registration Pack / Bonus On Recharge Pack​ बाट प्राप्त हुने कल मिनेट, एसएमएस र डाटा रजिस्टर गरेको र रिचार्ज गरेकोे ३० मिनेटभित्रमा प्राप्त गर्न सकिनेछ । 

एसईईका विद्यार्थीहरूका लागि कम्पनीले निःशुल्क प्रदान गरेको वा पहिलेदेखि नै प्रयोगमा रही विद्यार्थी सिमको रूपमा रूपान्तरण गरिएको सिम कार्डमा आवश्यकताअनुसार ई–शिक्षा प्याकेज पनि लिन सकिनेछ । यसअघि ई–शिक्षा प्याकेजमा प्रदान गरिएको बिहान ५ बजेदेखि बिहान १० बजेसम्म मात्र प्रयोग गर्न सकिने समय अवधिलाई थप गरी अबदेखि बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म प्रयोग गर्न सकिने बनाइएको छ । 

नयाँ सिम प्राप्त गरेका विद्यार्थीहरूले सिम कार्डमा मुख्य ब्यालेन्सको रूपमा उपलब्ध हुने १० रुपैयाँबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्नेछन् भने योबाहेक ४० मिनेट टक टाइम र २० वटा एसएमएस सहितको सुविधा एक महिनाभित्र नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सक्नेछन् । त्यसैगरी त्यही अवधिमा ६० एमबी डाटा पनि चलाउन सकिनेछ । अहिलेलाई एसईई अफर सहितको नयाँ सिम तीन महिनासम्म उपलब्ध हुने टेलिकमले जनाएको छ ।  

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Bibek Kunwar

    Aug. 9, 2021, 11:48 p.m.

    I want it.

  •  0 Reply

तपाईको प्रतिक्रिया