अफगान सरकार यति छिट्टै कसरी ढल्यो ? को हुन् तालिबान ?

 साउन ३२, २०७८ सोमबार ११:५३:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर स्राेत : बीबीसी

काठमाण्डाै - अफगानिस्तानमा अमेरिकी सेना फिर्ता हुन थालेसँगै सक्रिय भएका विद्रोही समूह तालिबान छोटो समयमा नै हाबी भयो । अमेरिकी लगायत विदेशी सेना रहँदासम्म सीमित क्षेत्रमा मात्रै पकड जमाएका तालिबान सेना बाहिरिन थालेसँगै सक्रिय भएको हो । 

अफगानिस्तानमा बढ्दो भ्रष्टाचार, कमजोर सुरक्षा प्रणाली, सेनाको मनोबल कायम राख्न नसक्नु जस्ता कारणले अफगान सरकारमाथि तालिबान सजिलै हाबी भएको विश्लेषण गरिएको छ । 

विदेशी सेना बाहिरिन थालेसँगै तालिबानले आफ्नो रणनीति पनि परिवर्तन गर्दै लग्यो । फलस्वरुप उ सफल भएको छ । विदेशी सेना फर्किन थालेको केही समयमा नै अमेरिकी गुप्तचर निकायको एक प्रतिवेदनले केही दिनमै काबुलमा आक्रमण हुन सक्ने र अफगान सरकार ९० दिनमा ढल्न सक्ने आकलन समेत गरेको थियो । 

को हुन् तालिबान ?

अमेरिकी सेनाको कारबाहीमा सन् २००१ मा सत्याच्युत भएसँगै विभिन्न इलाकामा तालिबानले आफूलाई बिस्तारै गर्दै थप शक्तिशाली बनाउँदै लग्यो । 

अफगानिस्तानबाट सोभियत सेनाको फिर्तीपछि सन् १९९० को दशकमा उत्तरी पाकिस्तानबाट तालिबानको उदय भएको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यम लेख्छन् : पाश्तो भाषामा तालिबानको अर्थ विद्यार्थीहरु भन्ने हुन्छ ।  

मुख्यतः पाश्तुन आन्दोलन सुरुमा धार्मिक सङ्घसंस्थाबाट प्रारम्भ भएको विश्वास गरिन्छ जुन सङ्घसंस्थाले सुन्नी इस्लामको कडा धार सिकाउने साउदी अरबबाट आर्थिक सहयोग पाए । तालिबान समूहले अफगानिस्तान र पाकिस्तान जोडिएका पाश्तुन क्षेत्रहरुमा सत्तामा आएपछि शान्ति–सुरक्षा पुनर्स्थापित गर्ने र सरिया कानुन लागू गर्न थाल्यो । 

तालिबानले दक्षिण–पश्चिमी अफगानिस्तानबाट छिट्टै आफ्नो प्रभाव विस्तार गर्यो । सन् १९९५ को सेप्टेम्बरमा उनीहरुले इरानसँग सीमा जोडिएको हेरात प्रान्तमाथि कब्जा गरे ।  त्यसको ठिक एक वर्षपछि उनीहरुले राजधानी काबुलमा नियन्त्रण गर्दै राष्ट्रपति बुर्हानुद्दीन रब्बानीको सरकारलाई सत्ताच्युत गरे ।

सन् १९९८ सम्ममा तालिबानले झण्डै ९० प्रतिशत भूभागमाथि कब्जा गर्यो । सोभियतहरुलाई धपाइएपछि मुजाहिदीनबाट दिक्क भएका अफगानिहरुले तालिबानलाई सुरुसुरुमा स्वागत गरे ।भ्रष्टाचारविरुद्ध चालेका कदम, कानुनविहीनताको अवस्था कम गर्ने र व्यवसाय फस्टाउनका निम्ति सडक निर्माण तथा आफू नियन्त्रित क्षेत्रमा सुरक्षा दिने कामले उनीहरुलाई लोकप्रिय बनायो ।

तर तालिबानले आफूहरुले गर्ने सरिया कानुनको कडा व्याख्याअनुरुप सजाय दिने नियम लागू गरे । हत्यारा तथा व्यभिचारीहरुलाई मृत्युदण्ड दिने र चोरका हात काटिदिने जस्ता नियम बन्यो।उनीहरुको शासनकालमा पुरुषले दाह्री पाल्नुपर्थ्यो भने महिलाहरुले पूरै जीउ ढाकिने बुर्का लगाउनुपर्थ्यो । तालिबानहरुले टेलिभिजन, सङ्गीत र सिनेमामाथि प्रतिबन्ध लगाए भने १० वर्ष र त्यो भन्दा माथि उमेरका किशोरीहरुलाई विद्यालय जान रोक लगाए ।  

बिस्तारै उनीहरुमाथि मानवअधिकार उल्लङ्घन र सांस्कृतिक दुर्व्यवहार गरेको आरोप लाग्न थाल्यो ।यही आलोचनाबीच सन् २०११ मा  उनीहरुले प्रसिद्ध बामियान बुद्धको प्रतिमा समेत ध्वस्त पारे । यसले उनीहरुमाथि हेर्ने नजर फेरिँदै गयो ।

तालिबान सत्तामा रहेका बेला उनीहरुलाई मान्यता दिएका देशमा साउदी अरब र संयुक्त राज्य एमिरेट्सबाहेक पाकिस्तान थियो । तालिबान समूहसँग कूटनीतिक सम्बन्धविच्छेद गर्ने अन्तिम देश पनि पाकिस्तान नै रहेको बीबीसीको समाचारमा उल्लेख छ। 

अमेरिकाको न्यूयोर्कमा विश्व व्यापार केन्द्रमाथि सन् २००१ को सेप्टेम्बर ११ तारिखमा गरिएको आक्रमणपछि विश्वको ध्यान अफगानिस्तानको तालिबानतर्फ तानिएको थियो । त्यो आक्रमणका प्रमुख सन्दिग्ध ठानिएका अलकायदाका नेता ओसामा बिन लादेन र उनको सङ्गठन अल–कायदालाई संरक्षण गरेको तालिबानमाथि आरोप लाग्यो ।

सन् २००१ को अक्टोबर ७ मा अमेरिकी नेतृत्वको गठबन्धन फौजले अफगानिस्तानमाथि आक्रमण गर्न सुरु गर्यो । अनि डिसेम्बर महिनाको पहिलो हप्तासम्ममा तालिबान परास्त भएका थिए । 

त्यसपछि तालिबानका कयौँ वरिष्ठ नेताले पाकिस्तानको क्वेटा सहरमा आश्रय लिए जहाँबाट उनीहरुले यो समूहलाई मार्गनिर्देश गरे । ठूलो सङ्ख्यामा विदेशी फौजको उपस्थितिबीच तालिबानले अवस्था सुदृढ पार्दै गयो र आफ्नो प्रभावलाई क्रमिक रुपमा विस्तार गर्दै लग्यो ।

सन् २०१२ को सेप्टेम्बरमा उनीहरुले काबुलमा उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटोको एउटा शिविरमा कारबाही गर्नुका साथै अन्य थुप्रै आक्रमण गरे । तालिबान समूहले कतारमा कार्यालय खोल्ने योजना घोषणा गरेपछि सन् २०१३ मा शान्ति वार्ताको आशा पलायो ।  तर सबै पक्षबीच अविश्वासको वातावरण कायमै रह्यो र हिंसाले निरन्तरता पाइरह्यो ।

२० वर्षसम्म हिंसात्मक गतिविधि गर्दै आएको तालिबानले सत्ताका लागि लामो युद्ध गर्यो । यसबीचमा पटक पटक शान्ति वार्ता र शान्ति सम्झौता भए पनि त्यो कार्यान्वयन हुन सकेन । सन् २०१८ मा तालिबानले शान्तिवार्ता गर्यो । सन् २०२० मा कतारको दोहामा शान्ति सम्झौता समेत भएको थियो । शान्ति सम्झौतामा अमेरिकी सेना फिर्ती र तालिबानले उनीहरुमाथि आक्रमण नगर्ने प्रतिबद्धता जनाएको थियो । 

सम्झौतामार्फत गरिएका अन्य प्रतिबद्धतामा तालिबान नियन्त्रित क्षेत्रहरुमा अल–कायदा अथवा अरु समूहलाई सञ्चालनमा आउन नदिने र राष्ट्रिय शान्तिवार्ताको प्रक्रियालाई अगाडि बढाउने उल्लेख थियो । तर त्यसयता पनि तालिबानी लडाकुले अफगान सुरक्षाकर्मी र नागरिकमाथिको आक्रमणलाई भने रोकेन ।

सन् २००१ मा अमेरिकी सेना नेतृत्वको कारबाहीले तालिबानलाई सत्ताच्युत गरेको तालिबान अहिले फेरि सत्ता सम्हाल्ने शक्तिसम्म पुगेको छ  । 

एजेन्सीकाे सहयाेगमा

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Padam bahadur nepali

    Aug. 16, 2021, 5:27 p.m.

    What will happen ?

  •  0 Reply

तपाईको प्रतिक्रिया