माधव नेपाल र महन्थ ठाकुरको नयाँ दल दर्ता हुन केही दिन लाग्ने

 भदौ ३, २०७८ बिहिबार ७:५३:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा एमालेको माधव नेपाल समूह र जसपाको महन्थ ठाकुर समूहको निवेदन अनुसार दल दर्ताको लागि केही दिन लाग्ने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार दल दर्ताको लागि अध्यादेशअनुसार नियमावली बन्नुपर्छ । दल विभाजनसम्बन्धी अध्यादेश हिजो जारी भएपछि त्यसअनुसार नियमावली संशोधनको प्रक्रिया सुरु भएको आयोगले जनाएको छ । दल दर्ताका लागि निवेदन परेको ३५ दिनभित्र आयोगले निर्णय गर्नुपर्ने कानुनी व्यवस्था रहे पनि १५ दिनसम्ममा प्रक्रिया पूरा गर्ने आयोगको तयारी छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले अध्यादेशअनुसार नियमावली संशोधन भएपछि दल दर्ताको लागि परेको निवेदनमाथि अध्ययन गर्ने काम सुरु हुने जानकारी दिनुभयो । सबै प्रक्रिया पूरा गर्न कति दिन लाग्छ भनेर तोक्न नसकिए पनि एक हप्ता भन्दा बढी समय लाग्न सक्ने उहाँको भनाइ छ ।  

निर्वाचन आयोगमा हिजो माधवकुमार नेपाल अध्यक्ष प्रस्तावित गरिएको नेकपा एमाले (समाजवादी) र महन्थ ठाकुर अध्यक्ष प्रस्तावित जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक)को दल दर्ताका लागि निवेदन दर्ता भएका छन् ।

नयाँ दल दर्ताको लागि प्रस्तावित नाम, चिह्नलगायतका विषय मिल्ने–नमिल्ने हेरेर आयोगले निर्णय लिनेछ । नयाँ दल दर्ताको लागि केन्द्रीय कमिटी कम्तीमा २१ जनाको र कमिटीमा कम्तीमा ३३ प्रतिशत महिला हुनुपर्छ । यस्तै केन्द्रीय सदस्यहरु सबैको नागरिकता र मतदाता नामावलीमा नाम अनिवार्य हुनुपर्छ ।

आयोगले नाम, झण्डा र चुनाव चिह्नबारे पनि अध्ययन गर्नेछ । यसअघि नेकपाको एकता खारेज गर्दा सर्वोच्च अदालतले दिएको आदेशका कारण माधव नेपाल र ठाकुर पक्षले रोजेको नाम नपाउने सम्भावना पनि छ । माधव नेपाल समूहले नेकपा एमाले (समाजवादी) र ठाकुर पक्षले जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) नाम प्रस्ताव गरेका छन् ।

एमाले र जसपा यसअघि नै दर्ता भएको पार्टी भएकाले प्रस्तावित नाम स्वीकार गर्ने कि नगर्ने भन्नेमा आयोगमा बहस हुनेछ । यो सबै प्रक्रिया पूरा गर्दा कम्तीमा १५ दिनसम्म लाग्न सक्ने आयोगको भनाइ छ । माधव नेपाल र महन्थ ठाकुरको नयाँ दल दर्ता भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया