पहिरोले पाँच दिनदेखि बन्द बेनी–जोमसोम सडक अझै खुलेन

 भदौ १७, २०७८ बिहिबार १२:२८:१७ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण पाँच दिनदेखि बन्द बेनी–जोमसोम सडक अझै खुल्न सकेको छैन । हिमालपारिको जिल्ला मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक खण्डमा वर्षाले पहिरो खसेर बन्द भएको हो। 

आज बिहान परेको वर्षाका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दानाको गुइँठेमा पहिरो खसेर सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । गुइँठेमा सडकभन्दा माथिबाट खसेको ठूलो पहिरोले सडक पूर्ण रुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक नवराज केसीले बताउनुभयो । 

यसअघि बेनी–जोमसोम सडक खण्डको विभिन्न ठाउँमा खसेको पहिरो पन्छाइएको भए पनि आज बिहानको वर्षाका कारण पुनः पहिरो खसेर सडक बन्द भएको हो । अहिले पनि पहिरो खसिरहेकाले सडक खुल्न समय लाग्ने प्रहरीले जनाएको छ । पहिरो पन्छाउनका लागि मुस्ताङबाट डाेजर मगाइएको इलाका प्रहरी कार्यालय दानाका प्रमुख एवं प्रहरी सहायक निरीक्षक सूर्य थापाले बताउनुभयो । 

पहिरो ठूलो खसेकाले पन्छाउनका लागि तीन/चार घण्टाको समय लाग्ने देखिएकाले आज बेलुकासम्म बेनी–जोमसोम सडक सञ्चालनमा आउने सक्ने सहायक प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो । वर्षाका कारण सडकभन्दा माथिबाट खसेको ढुङ्गा, माटो र गेगरसहितको पहिरोले पटक-पटक बेनी–जोमसोम सडक बन्द हुँदै आएको छ । लगातारको वर्षाले भू–स्खलन भइ सडक खण्डको विभिन्न ठाउँमा खसेको पहिरोले बेनी–जोमसोम सडकमा सास्ती हुने गरेको छ । 

बेनी–जोमसोम सडक खण्डमा कहिले वर्षाका कारण पहिरो र कहिले सुख्खा पहिरोले अवरोध पुर्याउँदा समस्या हुने गरेको प्रहरी निरीक्षक केसीले बताउनुभयो । बेनी–जोमसोम सडक खण्डअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका-१ बेगखोला, २ बैंसरी, ३ राहुघाट, अन्नपूर्ण २ नैनीबगर, ३ दानाको गुइँठे, जलथले, रुप्सेखोला, म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभीर तथा घोप्टेभीर क्षेत्र पहिरोको उच्च जोखिममा पर्दछन् । 

उत्तर–दक्षिण जोड्ने सबैभन्दा छोटो सडकमार्गको रुपमा रहेको कालीगण्डकी करिडोर अन्तर्गतको बेनी–जोमसोम–कोरला सडक आयोजना निर्माणाधीन अवस्थामा छ । आयोजनाको म्याग्दी र मुस्ताङ क्षेत्रमा विभिन्न ४ वटा प्याकेजमा सडक स्तरोन्नतिको काम भइरहेको छ ।

राष्ट्रिय महत्त्व राख्ने यस सडकलाई गण्डकी प्रदेशको लाइफलाइनका रुपमा मानिएको छ । निर्माणाधीन यो सडक खण्डमा ११ मिटरको चौडाइमा सडक बनाउँदा पहिरोको जोखिम बढेको भन्दै स्थानीयवासीले गुनासो गरेका छन् । 

यसैबीच पश्चिम म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिका हुँदै जलजला–ढोरपाटन भएर रुकुम जोड्ने बेनी–दरबाङ सडक भने पूर्ण रुपमा सञ्चालनमा आएको छ । यसैगरी पहिरोका कारण बन्द भएको बेनी–बाग्लुुङ सडक खण्डमा पनि यातायात सुचारु भएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया