दशैँ बिदामा घुम्न जाने होइन ? यी हुन सक्छन् गन्तव्य

 असोज २६, २०७८ मंगलबार १७:८:५८ | वैद्यनाथ पाैडेल
unn.prixa.net

काठमाण्डौ – यस वर्ष  सरदर १५ प्रतिशतभन्दा बढी वर्षाका साथ मनसुन बाहिरिएको छ । शरद ऋतुको मौसम । खुलेको आकाशका साथ महान् चाड दशैँ । मन पुलकित हुने नै भयो । सँगै लामो बिदा पनि । यस अर्थमा पनि यो घुमघामको राम्रो अवसर हो । 

अहिले नेपालीहरूमा घुमघामको संस्कृति विकास भइरहेको छ । अहिले आफ्नो व्यस्त दैनिकीबाट समय निकालेर घुम्ने प्रचलन बढेको छ । 

घुम्दा तनाव कम हुने, त्यस ठाउँको परम्परा–संस्कृतिका बारेमा जानकारी हुने र पुनः काममा फर्कँदा ताजापनको महसुसले स्फूर्ति बढ्ने हुन्छ । 

अझ पोहोरको लकडाउनले घरमै थुनिनु परेको अवस्था सम्झँदा पनि यस दशैँ घुमघामका लागि अर्को विकल्प र बहाना हो । 

दशैँमा टीका लगाइसकेपछि परिवार र साथीभाइ मिलेर घुम्न जाने प्रचलन बढेको छ । दशैँको अवसर पारेर ट्राभल एजेन्सीहरूले समेत विभिन्न प्याकेज ल्याउने गरेका छन् । 

आउनुहोस्, यस दशैँमा घुमघामका लागि केही उपयुक्त ठाउँकाबारेमा चर्चा गरौँ । 

पोखरा

घुमघाम भन्नेबित्तिकै पहिलो नम्बरमा आउने नाम हो पोखरा । काठमाण्डौबाट झन्डै दुई सय किलोमिटरको दुरीमा रहेको पोखरा हवाईजहाज र गाडीबाट पनि जान सकिन्छ । काठमाण्डौको कलङ्कीबाट माइक्रो बसमा जानु अहिले उत्तम विकल्प हुन सक्छ । 

माइक्रो बसमा चार सय ५० देखि पाँच सय रुपैयाँ र हवाई भाडा चार हजार पाँच सयदेखि पाँच हजार पाँच सय रुपैयाँसम्ममा पोखरा पुग्न सकिन्छ । गाडीमा यात्रा गर्दा विविध दुष्यावलोकनको आनन्द लिन सकिन्छ । 
पोखरामा बस्न, खानका लागि सुविधा सम्पन्न होटलदेखि सामान्य लजसम्म उपलब्ध छन् । 

पोखरालाई तालहरूको सहर पनि भनिन्छ । फेवा ताल, रूपा ताल, बेगनास तालसँगै डेभिड फल्स, महेन्द्र गुफा छँदैछ । 

एडभेन्चर (साहसिक खेल) रूचाउनेका लागि प्याराग्लाइडिङ, बन्जी, जिपलाइन पनि छ । 

पोखराको कुरा गर्दा सराङकोट छुटाउन नहुने नाम हो । नयाँ गन्तव्य खोज्नेहरूका लागि पोखराको पामे र लेखनाथ पनि अहिले थपिएका नाम हुन् । 

चितवन

पर्यटकीय गन्तव्यको अर्को छुटाउन नहुने नाम होे चितवन । चितवन काठमाण्डौबाट झन्डै एक सय ५५ किमि दुरीमा रहेको छ । काठमाण्डौबाट गाडी तथा हवाईजहाजमा चितवन पुग्न सकिन्छ । पर्यटक बसमा जाने हो भने सात सय र माइक्रो बसबाट जाँदा पाँच सय रुपैयाँमा पुगिन्छ चितवन । 

चितवन राष्ट्रिय निकुञ्ज अन्र्तगत सौरहामा जङ्गल सफारी, थारु संस्कृति तथा कायाकिङ पनि रमाउन सकिन्छ । सौरहादेखि अघाएकाहरूका लागि मेघौली नयाँ गन्तव्य बन्न सक्छ चितवनमा । 

खप्तड

सुदूरपश्चिम प्रदेशमा रहेको खप्तड झन्डै एक सय ४४ वर्ग किमिमा फैलिएको छ । हरियाली, रङ्गीबिरङ्गी फूल र प्राकृतिक सौन्र्दयको अनुपम नमुना नै मानिन्छ खप्तडलाई । हिउँदमा ढपक्कै हिउँले ढाक्ने हुँदा यो मौसम खप्तड घुम्नका लागि अनुकूल मानिन्छ ।   

काठमाण्डौबाट धनगढीसम्म ६ सय ५० किमि बसमा यात्रा गरेर डडेल्धुरा, बझाङ हुँदै पाँच घण्टाको पैदल यात्रापछि पुगिन्छ खप्तड । 

हवाई मार्गबाट जानेका लागि पनि धनगढीसम्म जहाजमा र त्यसपछि भने गाडीबाट नै जानुपर्ने हुन्छ । 

समूह मिलेर गाडी रिजर्भ गरेर जाँदा बाटोमा पर्ने प्राकृतिक सौन्दर्यको आनन्द पनि उठाउन सकिन्छ ।   

कालीञ्चोक

धार्मिक सँगै पर्यटनका लागि पछिल्लो समय चर्चामा रहेको गन्तव्य पनि कालीञ्चोक । केबुलकार निर्माण भएसँगै कालीञ्चोक धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकसित भएको छ ।  

काठमाण्डौबाट झन्डै एक सय ३२ किमि दुरीमा रहेको चरिकोटसम्म गाडीमा गएर त्यसपछि फेरि रिजर्भ गाडीमा जानुपर्ने हुन्छ कालीञ्चोक । 

उपल्लो मुस्ताङ

घुमघामको कुरा गर्दा उपल्लो मुस्ताङ पनि प्रचलित गन्तव्य हो । मुस्ताङ घुम्नका लागि असोज तथा कात्तिक महिना उपयुक्त मानिन्छ । मुक्तिनाथ र मुस्ताङका लागि ट्राभल एजेन्सीहरूले विभिन्न प्याकेज पनि लिएर आएका छन् । 

सात रात आठ दिनको प्याकेजमा मुक्तिनाथ मन्दिर दर्शन र दुम्बा ताल, लोमान्थाङदेखि जोमसोमसम्म घुम्न पाइन्छ । जसका लागि झन्डै २५–३० हजार रुपैयाँ खर्च लाग्छ भने मुक्तिनाथ मन्दिरमात्र गएर आउनका लागि १५–२० हजार रुपैयाँसम्म खर्च लाग्छ । 

मनाङ

मनाङ विशेषगरी पदयात्रामा रमाउनेका लागि उपयुक्त मानिन्छ । मनाङमा रहेको तिलिचो ताल निकै सुन्दर र आकर्षक मानिन्छ । प्रकृति प्रेमीका लागि यो सुअवसर हो । 

मनाङमा स्याउको बगैँचा, बेसी सहर र चामे घुम्नका लागि आकर्षक मानिन्छ । मनसुनका कारण पहिरो गएपछि अहिले बाटो बन्द भएका कारण ट्राभल एजेन्सीहरूले प्याकेज बनाएका छैनन् । अरू बेला ६ रात सात दिनको प्याकेजका लागि २५–३० हजार रुपैयाँ खर्च लाग्छ । 

बर्दिया

बर्दिया गाडी तथा हवाई दुवै माध्यमबाट जान सकिन्छ । काठमाण्डौबाट गाडीमा झन्डै १२–१३ घण्टाको यात्रामा बर्दिया पुगिन्छ । हवाईजहाजमा जाँदा भने नेपालगञ्जसम्म गएर त्यहाँबाट गाडीमा जान सकिन्छ । 

बर्दियामा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज घुम्नका लागि निकै आकर्षक ठाउँ हो । बर्दियामा बाघ, गैँडा, घडियाल गोही र डल्फिन जस्ता जीवजन्तुहरु हेर्न पाइन्छ । साथै थारु संस्कृति बर्दियाको अर्को आकर्षण हो । 

रारा

घुम्नका लागि अर्को आकर्षक गन्तव्य हो रारा । रारा जानका लागि हवाई तथा सडक दुवै माध्यम प्रयोग गर्न सकिन्छ । आफैँले गाडी रिजर्भ गरेर लिएर जाने हो भने अहिले गाडी रारा नजिकै पुग्छ । 
हवाई माध्यमबाट जाँदा भने नेपालगञ्ज र ताल्चा विमानस्थलसम्म अनि दुई घण्टा हिँडेर रारा पुग्न सकिन्छ । 

राराको आकर्षण भनेको रारा ताल हो । निकै मनोरम र प्राकृतिक सौन्दर्यले भरिएको रारा ताल पुगेपछि थकाइ पनि मरेको झैँ हुन्छ । 

ट्राभल एजेन्सीहरूले ल्याएका प्याकेज अनुसार रारा जाँदा २०–३० हजार रुपैयाँ लाग्छ । आफैले समूह बनाएर जाँदा खर्च अलि कम पर्छ । 

दक्षिणकाली 

काठमाण्डौको नजिकै घुम्न चाहनेका लागि दक्षिणकाली अर्को आकर्षक ठाउँ हुन सक्छ । काठमाण्डौबाट झन्डै २० किमिको दुरीमा रहेको दक्षिणकाली जानका लागि बस चाहिँदो मात्रामा पाइन्छ । 
पश्चिम तथा दक्षिणमा मकवानपुर अनि ललितपुर जिल्लासँग जोडिएको दक्षिणकालीमा आराम गर्नका लागि राम्रा र स्तरीय रिर्सोटहरू पनि छन् । 

दक्षिणकाली माताको मन्दिर, शेषनारायण मन्दिर, नेपालकै पहिलो जलविद्युत् आयोजना रहेको दक्षिणकाली प्राकृतिक हरियाली तथा सुन्दरताका लागि आकर्षक मानिन्छ ।  

अन्तिम अपडेट: बैशाख ९, २०८१

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया