आधुनिकताले नछाेएकाे कटुवाल प्रथा

 कात्तिक ६, २०७८ शनिबार १६:१०:५१ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दशैँको फूलपातीका दिन दिउँसो हातमा लामो बाँसको लौरोको अडेस लागेर घोक्रो नै फुलाएर दाङको सीमलताराका दुर्गाबहादुर सार्की जोडजोडले हाँक हाल्दै गाउँको मन्दिरमा फूलपाती लिनका लागि सबैलाई जुट्न खबर गर्दै हुनुहुन्थ्याे।

फूलपातीमा मात्रै होइन गाउँमा समूह जुटाउनका लागि उहाँले यसरी नै हाँक हाल्ने गर्नुहुन्छ । उमेर चालिस वर्षा पार गरिसक्नु भएका दुर्गाबहादुर हाँक हाल्न थालेको पनि पाँच वर्ष पूरा भइसक्याे । दुर्गाबहादुर भन्दा पहिले अरु नै थिए । उनीहरुले नसक्ने भएपछि दुर्गाबहादुरले पेसाका रुपमा हाँक हाल्ने काम थाल्नुभयो  । गाउँगाउँमा गएर हाँक हाल्ने व्यक्तिलाई मासिक तलब दिने समेत व्यवस्था गरिएको छ । 

दाङका गाउँ बस्तीमा अहिले पनि कटुवाल प्रथा कायमै छ । आधुनिकताको विकास हुँदै गए पनि कटुवाल कराएर खबर गरेपछि मात्रै गाउँलेहरु जुट्ने गर्छन् । दाङको सदरमुकाम घोराही बजारको छेवैमा रहेका घोराही उपमहानगरपालिका वडा नं १ का गाउँमा कालो पत्रे सडक पनि पुगेको छ, सबैका हातहातमा मोबाइल फोन छन् र धेरैले इन्टरनेट पनि चलाउँछन । तर गाउँमा कसैको ज्यान गएमा अन्त्येष्टिका लागि चाहिने दाउरा घरघरबाट घाटमा पुर्याउन, बालबालिकालाई भिटामिन 'ए' खुवाउने जस्ता सामूहिक अभियानमा जुट्नदेखि गाउँघरको कुलाझारा र अरु छलफल र भेलामा जुट्नका दुर्गाबहादुरले टोलटोलमा पुगेर हाँक हाल्नुहुन्छ । 

'गाउँमा कुनै खबर गर्नुपरे पहिला मलाई भन्नुहुन्छ अनि मैले टोलटोलमा पुगेर हाँक हाल्छु', दुर्गाबहादुरले थप्नुभयो, 'जब मैले लौ हो...भनेर हाँक हाल्न सुरु गर्छु सबैले कान ठाडा पारेर सुन्छन् र भनिएको खबर अनुसार जुटिहाल्छन्।'

घोराही उपमहानरपालिका वडा नं १ का अठ्ठाइसे, सीमलतारा, सानीचौर, ठूलीचौर, माले र सुकाखोला गाउँका एक दर्जनभन्दा बढी टोलमा पुगेर हाँक हाल्ने यी गाउँको वर्षौँदेखि चलन हो । गाउँमा हाँक परेपछि कसैले सुनिन/बुझिन भनेर उम्कने अवस्था नभएको र हाँकमा भनिएको खबर अनुसार सबै गाउँका स्थानीयले काम गर्छन् ।

'गाउँमा हाँक परेपछि कसैले पनि नाइनास्ती गर्न पाइँदैन, हाँक अनुसार गर्छाैँ', स्थानीय भुपेन्द्रबहादुर घर्तीले भन्नुभयो, 'हाँकमा भने अनुसार नजुटे गाउँलेले खारझारा समेत गर्छन् ।'

ती गाउँमा पाँच सय बढी घरधुरी छन् । स्थानीय सन्देश दिनेदेखि वडातहबाट प्रवाह गर्नुपर्ने सार्वजनिक सूचना समेत हाँक हालेर दिने गरिन्छ । हाँक हाल्ने कामले आफूहरुलाई गाउँमा जुट्न, झारा जान, वृद्धभत्ता बुझ्न जुट्न, भिटामिन 'ए' खुवाउने काममा जुट्ने मात्रै हाेइन कोरोना विरुद्धको खोप लगाउने काममा जुट्न समेत सजिलो भएको स्थानीय बताउँछन्। 

हाँक हाल्ने काम गरेबापत गाउँलेहरुको निर्णय अनुसार स्थानीय मालझाँक्री सामुदायिक वन उपभोक्ता समूहले वन पैदावार बिक्री गरेर सङ्कलन भएको र अन्य आम्दानीबाट मासिक ३ हजार ५ सय रुपैयाँ दिँदै आएको छ । दशैँ र तिहार दुई वटा पर्वमा दुर्गाबहादुर सबैका घरघरमा जाने र उहाँलाई चामल, रोटी, घ्यु तेल लगायतका सामान सहयोग गर्ने चलन गाउँमा छ ।

सामुदायिक वनले गाउँलेहरुबाट सहयोग जुटाउन भने पनि आधुनिक पुस्ताले त्यो नबुझेर होच्याएर बोल्ने गरेको भन्दै दुर्गाबहादुरले गुनासो गर्नुभयो 'भाग उठाउन जाने बेला नानाथरी भन्छन, 'मेरो च्याख्ला मरिसकेको छ । अब म जान्न क्या हो !'

सामूहिक कामसँगै यी गाउँमा कसैले व्यक्तिगत पूजाआजा, बिहे व्रतबन्ध जस्ता कार्यमा निम्तो गर्नका लागि पनि हाँक हाल्ने कटुवाललाई नै जिम्मा दिने र कटुवालले घरघरमा गएर निम्तो गरे बापत सम्बन्धित व्यक्तिले पैसा दिनुपर्ने चलन रहेकाे छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया