'ओमिक्राेन' भेरियन्ट : ‘सावधानी अपनाउनुपर्छ, आत्तिहाल्नुपर्ने अवस्था भने छैन’

 मंसिर १२, २०७८ आइतबार १४:४२:० | डा. शेरबहादुर पुन
unn.prixa.net

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन स्पाइक जिनको प्रयोग गरेर मानव शरीरमा प्रवेश गर्छ । यस भेरियन्टमा अत्यधिक मात्रामा म्युटेशन (उत्परिवर्तन) भएको देखिएको छ । अहिले यो भेरियन्ट युरोप र अमेरिकामा तीव्र रूपमा फैलिँदै गइरहेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । यो भेरियन्ट देखिएको देशलाई आधार मान्ने हो भने यो भाइरसले २० देखि ३० वर्ष उमेर समूहकालाई बढी सङ्क्रमण गरेको पाइएको छ । 

यो भेरियन्ट कति घातक छ ? कति तीव्र गतिमा फैलिन सक्ने क्षमता लिएर आएको हो ? खोपले यसलाई काम गर्छ कि गर्दैन भन्नेमा अन्योल नै रहेकाले अहिले यो चिन्ताको विषय बनेको छ । विश्वमा नै यो चासोको विषय बनेकाले अहिले यसबारेमा अध्ययन भइरहेको छ । दक्षिण अफ्रिकामा यो भेरियन्ट पुष्टि भएकामध्ये ३५ प्रतिशतले कोरोनाविरुद्धको दुवै डोज खोप लगाएको पाइएकाले पनि यो बढी फैलियो भन्ने आशङ्का गरिएको छ । यसभन्दा अगाडि आएको डेल्टा भेरियन्टले एकछत्र राज गरेको थियो । कतै यसले पनि डेल्टाले  जत्तिकै जोखिम ल्याउने त होइन भनेर विश्व नै यसप्रति सचेत छ । र यो भाइरसले लगाइएका खोपलाई कति प्रभावहीन बनाउन सक्ने क्षमता राख्दछ भन्नेबारेमा अध्ययन भइरहेको छ, विस्तृत जानकारी भने सार्वजनिक हुन बाँकी नै छ । 

यसबाट नेपाल उच्च जोखिममा छैन भन्ने अवस्था छैन । किनभने नेपालमा अहिले खुला हवाई मार्ग छ । योसँगै होटल, रेस्टुरेन्ट र पर्यटकीय क्षेत्र खोलिएकाले नेपालमा यो भाइरसको जोखिमको सम्भावना छ । यसबाट सचेत रहन आवश्यक देखिन्छ । अहिले नागरिकले कोरोना भाइरसबाट सुरक्षित रहनका लागि तोकिएको स्वास्थ्य मापदण्डको पालना गर्न छोडेको हो कि जस्तो देखिन्छ, यसलाई प्राथमिकतामा राख्न छाडेको हो कि जस्तो देखिन्छ । जोखिमको सम्भावना कायमै रहेकाले बेवास्ता गर्नुहुँदैन, पूर्वसावधानी अपनाउनैपर्छ, सर्तकता अपनाउनै पर्छ । अहिले अन्तर्राष्ट्रिय आवतजावत पनि बढेको छ ।

अफ्रिका महादेशको बाटो भएर आएका नागरिकले पनि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन ल्याउन सक्छन् । नयाँ भेरियन्ट छ/छैन भनेर सजिलै थाहा पाउन नेपालमा प्रयोगशालाको विस्तारसँगै मेशिन पनि जडान भएको छ । यस कारण पनि नेपालमा यो भेरियन्टको उच्च जोखिम छ भनिहाल्नुपर्ने र आत्तिहाल्नुपर्ने भने देखिँदैन । 

नेपालमा सीपक्वएन्सीङ्ग प्रविधि जडान गरिएको छ । यसलाई प्रयोगमा ल्याएर अझ प्रभावकारी बनाउन परीक्षणको दायरा थप गर्नुपर्छ । नयाँ भेरियन्टको भाइरस छ/छैन भनेर बेलैमा पहिचान भए फैलिने क्रमबाट बच्न र बचाउन सकिन्छ । यसअघि लगाइएका भेरोसेल र एस्ट्राजेनिका खोप स्पाइक जिनप्रति लक्षित खोप हुन् । यो भेरियन्टले हामीले अहिले लगाइरहेका खोपलाई छल्न सक्ने क्षमता वृद्धि गर्‍याे कि भन्ने चासोकाबारेमा अध्ययन भइरहेको छ । अध्ययनले यसलाई पुष्टि गरेमा यो चिन्ताको विषय बन्न सक्ने हुन सक्छ । 

यसबाट सुरक्षित रहनका लागि कोभिडविरुद्धको खोप लगाउने र स्वास्थ्य मापदण्डलाई निरन्तर पालना गर्ने गर्नुपर्छ । यसमा सरकारले पनि पहल चाल्नु पर्छ । यो कुन प्रकारको भाइरस हो भनेर थाहा पाउन यसको पहिचान गरिरहनुपर्छ । केही हप्तापछि यसको पूर्ण जानकारी आएपछि खोपले काम गर्छ गर्दैन भन्ने थाहा हुन्छ । 

शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल क्लिनिकल रिसर्च सर्जिकल युनिटका संयोजक शेरबहादुर पुनसँगको कुराकानीमा आधारित । 

अन्तिम अपडेट: भदौ २०, २०७९

डा. शेरबहादुर पुन

डाक्टर पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकाे क्लिनिकल रिसर्च युनिटका संयाेजक हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया