फरार कैदी खाेज्न डीएसपीको कमान्डमा टाेली खटियो, मिलेमतो मै भगाएको निष्कर्ष

 पुस ९, २०७८ शुक्रबार १८:४५:४४ | हेमराज शर्मा
unn.prixa.net

फरार कैदी परियार

दाङ – दाङको घोराहीमा रहेकाे कारागारबाट उपचारका लागि अस्पताल लगेको अवस्थामा भागेका एक कैदीको खोजी गर्न जिल्ला प्रहरी कार्यालय दाङले प्रहरी नायब उपरीक्षक (डीएसपी) को कमान्डमा प्रहरी परिचालन गरेको छ । 

कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद तोकिएका राजपुर गाउँपालिका ३ का २९ वर्षीय यामराज परियारलाई छाला उपचार गर्न हिजो बिहीवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगिएको अवस्थामा प्रहरीकै मोटरसाइकल लिएर भागेका हुन् । 

परियार आफूलाई उपचार गर्न ल्याउने प्रहरी जवान धनबहादुर चौधरीको लु ३१ प ४१० नम्बरको १५० सीसीकाे निलो–कालो पल्सर मोटरसाइकलसहित अस्पतालबाट भागेपछि उनको खोजीमा डीएसपी मुकुन्दप्रसाद रिजालको कमान्डमा प्रहरी परिचालन भएको प्रहरी प्रमुख, एसपी सुरेश काफ्लेले जानकारी दिनुभएको छ । 

यसैबीच मिलेमतोमै कैदी परियार भगाएको प्रहरीले बताएको छ । परियारलाई भगाउने उद्देश्यअनुसार नै घटनामा धेरै व्यक्तिको संलग्नता देखिएको प्रारम्भिक अनुसन्धानले देखाएको एसपी काफ्लेले बताउनुभयो । सुरक्षाको कुनै पनि मापदण्ड पालना नभएको भन्दै उहाँले उपचारमा लगेका प्रहरी जवानलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयाे । 

कारागारका जेलर युवराज परियारले सुरक्षा प्रशासनकै कमजोरीले कैदी भागेको बताउनुभयो । आफूहरूसँग अस्पताल र अदालत ल्याउने/लैजाने गाडी नभएका कारण मोटरसाइकलमा लगेको भन्दै उहाँले सुरक्षा प्रशासनले कमजोरी गरेका कारण कैदी भागेको प्रतिक्रिया दिनुभयो ।

२० वर्ष कैद सजाय तोकिएका परियारले अहिलेसम्म साढे सात वर्ष कैद सजाय भुक्तान गरिसकेका थिए । घटनाबारे प्रहरी जवान चौधरीले दिउँसो ४ बजे मात्रै जानकारी दिनु र चौधरीको मोटरसाइकल कैदीले लिएर जानुमा मिलेमतो देखिएको प्रहरीको ठम्याइ छ । यसअघि परियार कारागारमा नाइकेका रूपमा थिए । उनलाई उपचारमा हतकडी नै नलगाएर लगेका कारण उनी सहजै भाग्न सफल भएका हुन् । 

अन्तिम अपडेट: चैत २९, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया