छुटेको जनसङ्ख्या अनौपचारिक रुपमा समेटिन्छ

 माघ १७, २०७८ सोमबार १३:१४:१२ | हेमराज रेग्मी
unn.prixa.net

हामीले २०७८ सालको असार महिनामा सम्पन्न गर्ने गरी तयार गरेको राष्ट्रिय जनगणनाको १२औँ श्रृङ्खला कोभिड महामारीको कारणले गर्दा असार महिनामा सम्पन्न गर्न सकेनौँ। तर, नयाँ आर्थिक वर्ष लागि सकेपछि कोभिड पनि बिस्तारै कम भएको अवस्था पारेर हामीले गएको कात्तिक/मंसिर २०७८ साल, कात्तिक महिनाको २५ गतेदेखि मंसिर महिनाको ९ गतेसम्म १५ दिनको समय लगाएर झण्डै ४० हजार गणक, १० हजार सुपरीवेक्षक र अन्य व्यवस्थापकीय कर्मचारीसहित झण्डै झण्डै ५० हजारको ठूलो जनशक्ति प्रयोग गरेर सङ्कलन गरेर ल्याएका आँकडाहरुको सारांश मात्रै सार्वजनिक गरेका हौँ ।

 यो सारांश यस अर्थमा हो कि हामीले विस्तृत प्रश्नावली भरेका थियौँ । यस पूर्व पनि हामीले पटक पटक छलफल गरेका थियौँ । ती प्रश्नावलीहरुको विवरण अझै सार्वजनिक भइसकेको छैन । 

हामीले एउटा गणकलाई एउटा गणना क्षेत्र तोकेर पठाएका थियौँ । जसमा झण्डै/झण्डै १ सय ५० देखि २ सय वटा परिवारसम्मको विवरण उहाँहरुले भर्नुपर्ने थियो । त्यो उहाँहरुले गरेको कामको जम्माजम्मी सारांश अर्थात तपाईँ कति घरमा पुग्नु भयो, कति परिवारसँग अन्तर्वार्ता गर्नुभयो, त्यहाँ कति महिला थिए, कति पुरुष थिए, जम्मा जनसङ्ख्या कति थियो र विदेश गएको अनुमानित जनसङ्ख्या कति थियो भन्ने विवरण मात्र हामीले सार्वजनिक गरेका हौँ । 

हामीले यस पूर्व २०६८ सालको असार महिनामा आजभन्दा झण्डै १० वर्ष ६ महिना अघि ११औँ चरणको नेपालको राष्ट्रिय जनगणना सम्पन्न गरेका थियौँ । त्यसबेला नेपालको जनसङ्ख्या २ करोड ६५ लाख हाराहारीमा रहेको हामीले जानेकै छौँ । 

त्यतिखेरका जनसङ्ख्याका दरहरु भन्नाले मूलतः जन्मदरका कुराहरु, मृत्युदरका कुराहरु र बसाइँसराइ जसलाई हामी जनसङ्ख्याका अवयवहरु भनेर भन्छौँ । आजभन्दा पहिले १० वर्षअघिका ती दरहरुको आधारमा हामीले अनुमान गर्दा यतिखेरको जनसङ्ख्या ३ करोड पुग्छ कि भन्ने आजभन्दा १० वर्ष पहिले गरिएको अनुमान हो । 

१० वर्षभन्दा पहिलेको त्यो अनुमान सही साबित भएन । हुनत अनुमानहरु ठ्याक्कै मिल्यो भने जनगणना किन गर्नुपर्यो र भन्ने पनि तर्क उठ्ला । तर, १० वर्ष अगाडि र १० वर्ष पछाडि तुलना गर्दा के भएछ भने अघि उल्लेख गरिएका जनसङ्ख्याका अवयवहरु जस्तै जन्मदरमा निरन्तर कमी आएको, पहिला एकजना महिलाले आफ्नो जीवनकालमा धेरै केटाकेटी जन्माउँथे । हाम्रै आमाहरुले पनि कति धेरै जन्माउनु भयो । अब अहिले हाम्रो पालामा आउँदा त्यो सङ्ख्या घट्दै गएको छ । 

त्यस्तै गरेर स्वास्थ्य सेवामा भएको पहुँचका कारण मृत्युदरमा पनि सुधार भएको छ । मूलतः केटाकेटीको मृत्युदर, शिशु मृत्युदर, बाल मृत्युदर तथा मातृ मृत्युदरमा पनि निरन्तर कमी आउनुको साथै अन्तर्राष्ट्रिय बसाइँसराइ पनि झण्डै २१ लाखले बढेको देखिन्छ । यसरी सबै सकारात्मक विषयहरु यसलाई सकारात्मक हिसाबले लिनुपर्यो । 

जन्मले जनसङ्ख्या जहिले पनि बढाउँछ, मृत्युले जहिले पनि जनसङ्ख्या घटाउँछ र बसाइँसराइको भने दोहोरो प्रभाव रहन्छ । जहाँ थपिन्छन् त्यहाँ गएर बढ्छ । जहाँ छोडेर जान्छन् त्यहाँ गएर घट्छ । यी तीनवटै कुराहरुलाई हामीले हेर्दा आजभन्दा १० वर्ष पहिले गरेको अनुमान त्यतिखेर ठीक थियो । अहिले आउँदा भने त्यसमा परिवर्तन भइसकेछ भन्ने विषय हामीले सार्वजनिक गरेको जनसङ्ख्याका तथ्याङ्कहरुले झण्डै २ करोड ९२ लाख मात्र नेपालको जनसङ्ख्या छ भन्ने विषयबाट पुष्टि भएको छ । 

यसले कुल जनसङ्ख्यामा तात्विक फरक पर्दैन । झण्डै ४० हजार गणकहरुले भित्रको पाना पल्टाएर त्यो पाना जोडेर त्यसको सारांश हामीलाई दिनुभयो त्यसलाई हामीले जोडेका हौँ । हामीले प्रकाशन गरेका विवरणहरु भनेको वितरण मात्रै हो । सङ्ख्या र त्यसको वितरण मात्रै हो । हामीले केन्द्रदेखि पालिकासम्म, पालिका तथा नगरपालिका, हिमाल, पहाड, तराई, महिला/पुरुष र जम्मा गरेर एउटा मात्र विशेषताको मात्र वितरण प्रकाशन गरेका छौँ ।

अब भित्र गणकले कतै गल्ती गरेको भए, सय, पचास, हजारमा तलमाथि पर्न सक्छ तर तात्विक फरक पर्नेवाला छैन । मोटामोटी कुल जनसङ्ख्या  भनेको यही हो । दुई/चार सय, हजारमा फरक पर्न सक्ला तर ठूलो सङ्ख्यामा फरक नपर्ने विगतका अनुभवले पनि हामीलाई देखाएको छ । 

हामीले नेपालको जनसङ्ख्या ३ करोड पुग्यो होला भनेर अनुमान गरेजस्तै विदेश गएका नेपालीको सङ्ख्या पनि यति नै भन्दा पनि विभिन्न श्रोतहरुबाट विदेश गएका नेपालीको सङ्ख्या पनि ठूलो छ कि अनुमान गरेका थियौँ । कसैले २५ लाख कसैले ४० लाख भन्ने गरेका थिए । ठूलो जनसङ्ख्या छ कि भन्ने अनुमानहरु थिए । ती अनुमानहरु सत्यमा आधारित रहेनछन् भन्ने कुराको पुष्टि हाम्रो तथ्याङ्कले  पनि गरिसकेको छ । 

२१ लाख नेपालीहरु विदेशमा 

तर, यति भन्दा भन्दै पनि हामीले प्रकाशन गरेको विवरणमा २१ लाख ७० हजार नेपालीहरु अक्सर विदेशमा बसोबास गर्नुहुन्छ । जनगणनाको समयमा भनेर जुन हामीले विवरण प्रकाशन गर्याैँ त्यसभित्र पनि केही सीमितता भने छन्।

हाम्रो सीमितता भनेको के हो भने जसको परिवार नै विदेशमा बस्नु भएको छ भारतमा वा नेपालबाट पूर्णरुपमा बसाइँ सरेर जानुभएको छ, गणनाको समयमा उहाँलाई सोध्ने, उहाँलाई समात्ने कोही पनि छैन यहाँ घरमा भनेदेखि त्यस्तो परिवारहरु गणनामा जोडिएको छैन । किनकि हामीले विदेशमा गएर गणना गरेनौँ । नेपालभित्र मात्र गणना गर्यौँ । 

नेपालभित्र कम्तीमा एक जना सदस्य भएको परिवारबाट उहाँमार्फत तपाईँको परिवारका कति जना सदस्य विदेशमा हुनुहुन्छ, कहाँ हुनुहुन्छ, किन जानुभएको छ भन्ने विस्तृत विवरणहरु सङ्कलन गरेका हौँ। त्यसकारण हाम्रो अङ्कमा थोरै कमी त हुनसक्छ त्यो पूर्ण परिवारलाई जोड्दाखेरि । तर, अन्य अन्य स्रोतहरुबाट आउने गरेजस्तो स्वाभाविक रुपमा विदेश गएको भन्ने कुरा चाहिँ प्रमाणित गरेन अहिलेको तथ्याङ्कले । 

वैदेशिक रोजगारीमा गएका जनसङ्ख्या यसमा पर्नुहुन्छ । विदेशमा अनुपस्थित जनसङ्ख्या भनेको वैदेशिक रोजगारीका लागि गएका, शिक्षा आर्जन गर्नका लागि गएका विद्यार्थीहरु अथवा अन्य पेसा, व्यवसाय गर्नका लागि गएका उद्यमीहरु सबै पर्नुहुन्छ । 

केही समयको लागि विदेश गएको तर, त्यो चाहिँ ६ महिनाभन्दा बढी भएको हुनुपर्नेलाई नै हो हामीले अहिले टिपेको अर्थात अक्सर विदेशमा बसोबास गर्नेहरुको विवरण सङ्कलन गरेका छौँ । यसको अर्थ वैदेशिक रोजगारीमा गएका सबै परे । तर, परिवार नै वैदेशिक रोजगारीमा गएको, पीआर लिएर कतै विदेशमा बसेको, डीभी परेर अमेरिका तिर बसिरहेको अर्थात उहाँको परिवारको कोही पनि सदस्य नेपालमा नभएको त्यस्तो समूह भने परेको छैन यसमा । 

त्यसबाहेक अहिले कामको खोजीमा गएको, शिक्षा आर्जन गर्न गएको वा पेसा, व्यवसाय गर्न गएको र भोलि नेपाल फर्कने मान्छेहरु जसलाई हामीले अनुपस्थित जनसङ्ख्या भनेको । यो भित्र छोटो अवधिको लागि गएका मान्छेहरु परेका छैनन् । घुम्ने प्रयोजनको निमित्त, धार्मिक प्रयोजनको निमित्त अथवा केही छोटो अवधिको लागि विदेश गएको जसलाई हामीले वर्ष दिनमा ६ महिनाभन्दा कम भनेर बुझ्छौँ । 

छोटो अवधिको लागि बाहिर गएको मानिसहरु अनुपस्थित जनसङ्ख्यामा जोडिनुहुन्न । उहाँहरु नेपालको जनसङ्ख्यामै जोडिनु भएको छ । अलिकति लामो अवधिको लागि विदेश गएका मान्छेहरु चाहिँ अनुपस्थित जनसङ्ख्यामा जोडिनु भयो । जुन २१/२२ लाखको हाराहारीमा रहेछ भन्ने हामीले बुझ्यौँ । अब सदाको लागि नेपाल छोडेर गएका मानिसहरु चाहिँ जोडिँदै जोडिनु भएको छैन । यो एउटा हाम्रो सीमितता थियो । यसको अर्थ वैदेशिक रोजगारीमा जानु भएका नेपालीहरु यो २१/२२ लाखमा पर्नुहुन्छ । 

यस पूर्व २०७५ सालमा केन्द्रीय तथ्याङ्क विभागले श्रमशक्ति सर्वेक्षण गरेको थियो । त्यो राष्ट्रिय स्तरको सर्वेक्षण भएता पनि परिवारको जनसङ्ख्या १०/१५ हजार मात्र थियो । १०/१५ हजार परिवारमा गएर हामीले सोध्दा पनि त्यतिखेर झण्डै यस्तै २५/३० लाख विदेशमा रहेको भन्ने अनुमानित विवरण आएको थियो । त्यसमा पनि ठूलो सङ्ख्या  भारतमा रहेको भन्ने आएको थियो । 

हामीले जनगणना गरेको समय कोभिडको समयमा भएको हुनाले कोभिडका कारण भारतबाट मानिस फर्किएको पनि हुनसक्छ । अनि अरु देशबाट पनि केही सङ्ख्या  फर्केर आएको हुनसक्छ । त्यसकारण पनि सङ्ख्यामा कमी आएको हो भन्ने हाम्रो तथ्याङ्कीय विश्लेषण हो । 

हिमाल, पहाडमा जनसङ्ख्या  निरन्तर घट्दो 

हामीले प्रकाशन गरेका जिल्ला तहका तथ्याङ्कहरुमा जानु भयो भने हुनत नेपालका अहिलेका ७७ जिल्लामध्ये ३२ वटा जिल्लाको जनसङ्ख्या अघिल्लो दशकको तुलनामा घटेको छ । तर, यति हुँदाहुँदै पनि कर्णाली प्रदेशका सबै जिल्लाको जनसङ्ख्या  घटेको छैन । 

यसपटकको जनसङ्ख्याको केही विशेषताहरु भने निरन्तर छन् जस्तो नेपालभित्र अक्सर बसोबास गर्ने महिलाको जनसङ्ख्या पुरुषको भन्दा बढी छ । जनसङ्ख्याविद्हरु जन्मिँदा यस्तो हुँदैन भन्छन् । जन्मिँदा केटाहरु बढी जन्मन्छन् केटीहरु कम जन्मन्छन् । तर, नेपालमा किन यस्तो भयो त भन्दा धेरै नेपालीहरु विदेशमा छन् । अघि हामीले उल्लेख गरेको त्यो २२ लाखमध्ये झण्डै झण्डै ८०/८२ प्रतिशत मान्छे त पुरुषहरु छन्। त्यसमा महिलाको प्रतिशत साह्रै कम छ भन्दा देशभित्र बसोबास गर्ने महिलाको सङ्ख्या  झण्डै ६ लाखभन्दा बढी छ । यो जनगणनाको सबैभन्दा ठूलो विशेषता भनेको यो नै हो । 

दोस्रो विशेषता भनेको वितरणको विशेषता । हिमाल र पहाडमा जनसङ्ख्या  निरन्तर घट्दो छ । तराईमा जनसङ्ख्या  निरन्तर घट्दो छ । अघिल्लो दशकमा झण्डै आधा जति जनसङ्ख्या  अर्थात ५० प्रतिशत जनसङ्ख्या तराईमा बस्ने गरेकोमा हामीले सार्वजनिक गरेको विवरणमा झण्डै ५४ प्रतिशत जनसङ्ख्या तराई, मधेस प्रदेशमा बस्ने हामीले पाएका छौँ । हिमालको जनसङ्ख्या  केही घटेको छ । पहाडमा अलि बढी घटेको छ । 

पहिले २०६८ सालमा जनगणना गर्दा हामीसँग प्रदेसहरु थिएनन् । तर, पनि हामीले २०६८ सालको जनगणनालाई समायोजन गरेर प्रदेशको जनसङ्ख्या  पनि प्रकाशन गरेका थियौँ । त्यसको आधारमा अहिले प्रदेशगत रुपमा हेर्ने हो भने मधेस प्रदेश सबैभन्दा ठूलो जनसङ्ख्या भएको क्षेत्र भेटिएको छ । जहाँ झण्डैझण्डै ६१ लाख मानिसहरु बसोबास गर्छन् । त्यसपछि दोस्रो नम्बरमा वाग्मती प्रदेश छ । जनसङ्ख्याको हिसाबले सबैभन्दा सानो प्रदेशको रुपमा कर्णाली प्रदेश रहेको छ जहाँ अहिले पनि ५/६ प्रतिशत मानिसहरु मात्र बसोबास गर्छन् । 

अहिलेको विवरणहरु हेर्ने हो भने ठूला सहरी क्षेत्रहरु र बढी सहरीकरण भइरहेका जिल्लाहरुमा जनसङ्ख्याको वृद्धि तीव्र छ । भक्तपुर, चितवन, मोरङ जस्ता जिल्लाहरु र सहरकै भक्तपुर, काठमाण्डौ जस्ता जिल्लाहरुमा जनसङ्ख्याको वृद्धि व्यापक भएको पाइन्छ । गाउँबाट सहरमा बसाइँसराइ र उत्तरबाट दक्षिणमा हुने बसाइँसराइ व्यापक छ कि भन्ने यी तथ्यहरुले देखाउँछ । 

यसकारण नेपालको बसाइँसराइको पहिलेदेखिको हामीले अनुभव गर्दै आएको प्रचलन के हो भने हिमालबाट पहाडमा, पहाडबाट तराईमा र खुला सिमानाका कारण केही फेरि दक्षिणबाट उत्तरतिर पनि सर्ने छ कि भन्ने खालका विवरणहरु यी तथ्याङ्कले देखाएको छ । 

सरसर्ती हेर्दा भिन्न विशेषताहरु भन्दा पनि वृद्धिदर कम हुनु भनेको चाहिँ अलि भिन्न खालको विशेषता देखिएको छ । त्यो बाहेकका अन्य विशेषता चाहिँ पहिलेकै प्रवृत्तिलाई दोहोर्याइ राखेका छन् । 

१ सय १० वर्ष पहिले जनगणना

नेपालमा जनगणना गर्न लागेको आजभन्दा झण्डै १ सय १० वर्ष पहिले हो । वि.सं १९६८ सालमा चन्द्रशम्शेरको पालमा पहिलो जनसङ्ख्या  भयो । जतिखेर नेपालमा करिब ५६ लाख मान्छेहरु छन् भनेर हामीले पहिलो पटक थाहा पायौँ । त्यसपछि १०/१० वर्षमा ७७/७८ र ८७/८८ मा भएका जनगणनाहरुमा नेपालको जनसङ्ख्याको आकार घटेको छ । ५६ लाखबाट घटेर ५५ लाख । त्यतिखेरको महामारी तथा युद्ध विभिन्न कारणले घटेको छ ।

त्यसपछि विसं १९९८ देखि नेपालको जनसङ्ख्या  निरन्तर बढ्दो थियो । अब यो विषयलाई हामीले जोड्यौँ भने १९९८ देखि निरन्तर रुपमा बढिरहेको जनसङ्ख्या हुनत वृद्धिदरहरु फरक फरक थिए । कहिले २ प्रतिशतभन्दा बढी पनि पुगेको थियो । तर, एक प्रतिशतभन्दा कम कहिले पनि भएको थिएन।

यसरी निरन्तर बढिरहेको जनसङ्ख्याको दरहरु २०६८ सालदेखि २०७८ को बीचको दशकमा आउँदा १० वर्ष ५ महिनाको अवधिमा झण्डै १० प्रतिशतले मात्र नेपालको जनसङ्ख्या वृद्धि भयो । जसलाई हामीले जनसङ्ख्याको वार्षिक वृद्धिदर निकाल्ने विधिबाट निकाल्दा ०.९३ प्रतिशतले मात्र वार्षिक रुपमा नेपालको जनसङ्ख्या वृद्धि भइरहेको छ भन्ने देखिन्छ।

प्रतिशतमा हेर्दा यो सानो अङ्क हो तर अङ्कमा हेर्ने हो भने यो सानो अङ्क होइन । किनभने २०६८ सालमा २ करोड ६५ लाख भएको जनसङ्ख्या अहिले बढेर २ करोड ९२ लाख पुगेको छ । साढे १० वर्षको अवधिमा झण्डै २७ लाख मानिसहरु छन् देशमा । यसरी हेर्दा एक वर्षमा २ लाख ७० हजार मानिस बढिरहेका छन् भने यो अङ्कलाई सानो अङ्क भनेर भन्न त मिल्दैन । तर, यसभन्दा अघि झण्डैझण्डै हामीकहाँ ३ लाखको हाराहारीमा मान्छे थपिने गरेकोमा त्योसँग तुलना गरेकोमा यसलाई कम भन्न सकिन्छ । 

वृद्धिदर कम हुनुको मुल कारण अवयवको हिसाबले भन्ने हो भने फेरि जनसङ्ख्याका अवयवहरु भनेको जन्म, मृत्यु तथा बसाइँसराइ नै हुन् । तर, जन्मदार किन कम हुन्छ, मृत्युदर किन बढ्छ अथवा घट्छ वा बसाइँसराइ किन हुन्छ भन्यो भने त्यहाँ विविध कारणहरु हुन्छन् । आर्थिक कारण हुनसक्छ । गरिबी बढी भयो भने जन्मदर बढी हुन्छ भन्ने मान्यता छ । सम्पन्न परिवारमा जन्मदर कम भएको पाइएको छ । मृत्युदर, स्वास्थ्य सुविधा माथिको पहुँचका कुराहरु, पोषणका कुराहरु, सामाजिक व्यवस्था राम्रो हुने हो भने मृत्युदर कम हुन्छ भन्ने छ । 

बसाइँसराइ चाहिँ आर्थिक, सामाजिक विषय हो । यसमा विभिन्न तत्त्वहरुले प्रभाव पारेको हुन्छ । सेवा, सुविधा माथिको पहुँचदेखि लिएर अवसरको खोजीमा पनि बसाइँसराइ हुनेगर्छ । शिक्षाको कुराहरु, चेतनाको स्तरको कुराहरु अथवा आर्थिक स्तरका कुराहरु, अन्य विविध विषयहरु सेवा सुविधामाथिको पहुँचका विषयहरुले पनि जन्मदरलाई तलमाथि पार्छ । त्यस्तै गरेर मृत्युदरहरुलाई पनि तलमाथि पार्छन् । यसले बसाइँसराइमा पनि सामान्य असर पार्छन् । 

यिनै विविध विषयहरुले जनसङ्ख्याका अवयवहरुमा प्रभाव पारेको हुनाले यसलाई मैले सकारात्मक प्रभाव भन्नुपर्ने हुन्छ । सकारात्मक प्रभाव पारेको हुनाले नेपालको जनसङ्ख्याको वृद्धिदर अघिल्लो दशकको तुलनामा कम भएको हो । 

विस्तृत विवरण आउनै बाँकी

अहिले नै हामीले सामाजिक तथा आर्थिक विषयहरु प्रकाशन गरेका छैनौँ । जुन हामीले विस्तृत विवरणमा प्रकाशन गर्नेछौँ । सम्पूर्ण रुपमा सामाजिक अवस्था कस्तो छ देशको भाषा, जाति, धर्म, अपाङ्गतादेखि लिएर आर्थिक अवस्था रोजगारीमा संलग्न व्यक्तिहरु कति हुनुहुन्छ । बेरोजगार व्यक्तिहरु कति हुनुहुन्छ । यी विवरणहरु अहिले प्रकाशन भएका छैनन् । तर, छोटकरीमा के देखिन्छ भने २०६८ सालको तुलनामा हुनत हामीले उमेरगत जनसङ्ख्याको वर्गीकरण पनि गरिसकेका छैनौँ तर जनसङ्ख्या वृद्धिदर कम हुनुको कारण काम गर्ने जनशक्तिहरु कम हुनु भन्ने हो फेरि । 

हुनत अहिले हामीसँग भएका जनशक्तिहरुलाई अवसर सिर्जना गर्न सकेका छैनौँ देशभित्रै, देशभित्र अवसर सिर्जना गर्न सकेको भए उहाँहरुले साँच्चै देश विकासमा योगदान गर्नुहुन्थ्यो । देशभित्र अवसर नपाएका कारणले गर्दा न वैदेशिक रोजगारीमा ठूलो जनसमूह त्यो पनि आर्थिक हिसाबले सक्रिय १५–५९ वर्ष उमेर समूहका बाहिर जानु भएको छ । लाखौँको सङ्ख्यामा त्यही उमेर समूह छ । त्यसभित्र त केटाकेटी र बुढाबुढी मात्रै छन् । मात्रै त नभनौँ प्रायजसाे सङ्ख्यामा छन् । त्यो जनसङ्ख्यालाई देशभित्रै रोजगारीको अवसर सिर्जना गर्न सक्ने हो भने देश विकासमा योगदान गर्छ । 

जनसङ्ख्या देश विकासको लागि नभइ नहुने तत्त्व

जनसङ्ख्या भनेको देश विकासको लागि नभइ नहुने तत्त्व हो । देश निर्माणको एउटा आधार हो । भूगोल मात्र भएर देश बन्दैन, मान्छे चाहिन्छ भन्ने जुन हाम्रो जनसङ्ख्याको सिद्धान्त छ त्यो मान्छे नै नहुने हो भने त देश विकास हुँदैन । मेसिन चलाउनलाई पनि मान्छे चाहिन्छ । विद्यालय खोलेर मात्र हुँदैन पढ्न पढाउनलाई पनि मान्छे चाहिन्छ । पूर्वाधारहरुको विकास गरेर मात्र हुँदैन उपयोग गर्नको लागि पनि मान्छे चाहिन्छ । त्यसकारण मान्छ नै कम हुनु भनेको त समस्या हो । तर, हाम्रो देशमा चाहिने भन्दा कम भइसकेको अवस्था भने होइन । अहिले पनि हामी उच्चतम तह भन्दा तल गएका छैनौँ भन्ने लाग्छ । 

हुनत जनसङ्ख्या आफैँमा कति ठीक हो फेरि विवादको विषय हो । हाम्रो जस्तो देशको लागि वा काठमाण्डौको लागि, तराई/मधेस वा हिमाल पहाडमा कतिसम्म जनसङ्ख्या ठीक हो भन्नका लागि बहसको विषय हो। यसले तत्काल ठूलो प्रभाव पार्छ भन्ने लाग्दैन । तर, देशभित्रै रोजगारीका अवसरहरु प्रशस्तै सिर्जना गर्ने हो भने अलिकति कम भएको जनशक्तिलाई हामी देशभित्रै खपत गर्न सक्छौँ कि । देश विकासमा योगदान हुन्छ कि । मान्छे बढी भएर नै हामीले देशभित्र रोजगारीको अवसर सिर्जना गर्न नसकेको हो । कयौँ नेपालीहरु आफ्नो श्रम पसिना बगाउन विदेशमा जानु भएको छ । त्यहाँको आर्थिक विकासमा योगदान गर्नु भएको छ । भने त्यो आर्थिक विकासमा योगदान यहीँ गर्न सकियो भने अझ राम्रो हुन्थ्यो भन्ने हो । तत्काल प्रभाव परिहाल्छ भन्ने मलाइ लाग्दैन । तर पनि थप विवरणहरु प्राप्त हुँदै गए भने के हुन्छ भन्ने थप विश्लेषण गर्न आवश्यक छ । 

जनसङ्ख्या वृद्धिदर ऋणात्मक हुनका लागि जनसङ्ख्यामा प्रतिस्थापन दर भन्ने हुन्छ । दुई जना बाबुआमाले दुई जना सन्तान जन्माए भने त्यसले प्रतिस्थापन गर्छ । भविष्यमा बुढाबुढी मर्छन छोराछोरी मात्रै बाँचे भने अहिलेकै आकारमा प्रतिस्थापन हुन्छ भनिन्छ । जहिलेसम्म जनसङ्ख्या प्रतिस्थापन दरभन्दा माथि हुन्छ । एकजना महिलाले आफ्नो जीवनकालमा दुई वा यसभन्दा बढी बच्चा जन्माउनु भयो भने जनसङ्ख्या  ऋणात्मक हुँदैन । जन्मदरको मात्र कुरा गर्दा । हुनत बसाइँसराइले ऋणात्मक हुनसक्छ फेरि । ठूलो जनसमूह देश छोडेर बसाइँसराइ गरेर गयो भने ऋणात्मक पनि हुन सक्ला । 

जन्मकै आधारमा चाहिँ कुल प्रजनन क्षमता घट्दो छ नेपालको । एक जना महिलाले एक जना मात्रै बच्चा जन्माउने वा बच्चा नै नजन्माउने परिपाटि बढ्दै गयो भने भविष्यमा जनसङ्ख्या  ऋणात्मक नहोला भन्न पनि सकिन्न । जनसङ्ख्या भनेकै सङ्ख्या  र त्यसका विशेषताहरु हो । हामी कति छौँ र कस्ता छौँ भन्ने विषयको अध्ययन हामीले गर्न खोजेको हो । हामी कति छौँ भन्ने मोटामोटी आयो । त्यसमा थोरै तलमाथि पर्ला भन्ने हामीले कुरा गर्यौँ । हामी कति छौँ र कहाँ कहाँ छौँ भन्ने थाहा पायौँ । अनि भौगोलिक वितरणसम्मको कुरा गर्यौँ । 

अब हामी कस्ता छौँ भन्ने विषय हामीलाई थाहा छैन । हामीकहाँ केटाकेटी कति छन् तन्नेरी कति छन्, बुढाबुढी कति छन्, कुन जातिका मान्छे कति छन्, कुन धर्म मान्ने मान्छे कति छन्, कुन भाषा बोल्ने मान्छे कति छन्, काम गर्ने मान्छेहरु कति छन्, बेरोजगार मान्छेहरु कति छन् यी विवरण नै जनसङ्ख्या का विस्तृत विशेषताहरु हुन् । 

६ महिनाभित्र सम्पूर्ण विवरण

यो बाहेक हामीले यसपालि ठूलो प्रश्नावलीको प्रयोग गरेका थियौँ । निकै लामो प्रश्नावली प्रयोग गरेका छौँ । प्रश्नावलीमा हामीले विविध विशेषताहरु हामीले सोधेकै के हो त भन्दा जनसङ्ख्याका विशेषताहरु, सङ्ख्याका अतिरिक्त विविध विशेषताहरु हामीले सङ्कलन गरेका छौँ ।

शैक्षिक अवस्थाका कुराहरु छन्, स्वास्थ्यका कुराहरु छन्, सेवा सुविधामाथि पहुँचका कुराहरु छन्, घरको प्रकारका कुराहरु छन्, वित्तीय संस्थामाथि पहुँचको कुराहरु, ऋणका कुराहरु, जग्गा जमिनका कुरा, गाई बाख्राका कुराहरु छन् । यी सबै विस्तृत विवरणहरु जुन जनसङ्ख्यासँग जोडिएका विशेषताहरु हुन्, आर्थिक विशेषता, सामाजिक विशेषता, जनसाङ्ख्यिक विशेषताहरु र केही भौगोलिक र वातावरणीय विशेषताहरु पनि हामीले सङ्कलन गरेका छौँ । तिनै विशेषताहरुलाई हामीले आउँदाे दिनमा प्रकाशन गर्ने विस्तृत प्रतिवेदन सार्वजनिक गर्नेछौँ । 

हाम्रो प्रारम्भिक अनुमान अनुसार ६ महिनाभित्र यो कार्यक्रम गर्ने भन्ने छ । कोभिडको महामारी नबढ्ने हो भने फेरि एउटा चुनौती हामीलाई के छ भने झण्डै हामीले ४ सय जना कर्मचारी भर्ना गर्दैछौँ । यही प्रयोजनको निमित्त । जनगणनाको तथ्याङ्क प्रविष्टि र सम्पादनको लागि विज्ञापन भइसकेको छ । उहाँहरु छनाेट प्रक्रियामा हुनुहुन्छ । उहाँहरुलाई एकै ठाउँमा राख्न पनि कोभिडको चुनौती छ । धेरै मान्छेलाई जम्मा नगर्ने भन्ने खालको निर्देशनले तत्काल काम सुरु गर्न सक्ने भन्ने अवस्थामा पनि छैनौँ । तर, विभिन्न विज्ञहरुले कोभिडको महामारी धेरै लामो समय नचल्ने भन्ने प्रक्षेपण गर्नु भएको छ । त्यो सही ठहरियो भने ६ महिना नभए ८ महिना भित्र विस्तृत विवरण प्रकाशन गर्ने हाम्रो लक्ष्य छ । 

अब यी सङ्ख्याहरु अझै आइपुगेका छैनन्। अहिले हामीले प्रकाशन गर्ने भनेको विवरणहरु चाहिँ पालिकास्तरका छन् । नेपालको नयाँ नक्सामा समेटिएको भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानीको जनसङ्ख्या  पनि हामीले प्रकाशन गरेको जनसङ्ख्यामा समेटिएको छ । त्यहाँको जनसङ्ख्या पनि हाम्रो हिमाली क्षेत्र जस्तै पहिला २०६८ सालमा भारतले गरेको जनसङ्ख्यासँग तुलना गर्दा घटेको पाइएको छ । र, सङ्ख्या  यति नै भन्ने अझै यकिन भइसकेको छैन । 

कालापानी क्षेत्रको पनि गणना

हामीले त्यहाँ अप्रत्यक्ष विधिको प्रयोग गरेर विवरण सङ्कलन गरेका हौँ । प्रत्यक्ष विधि भनेको उत्तरदाता र प्रश्नकर्ताको बीचमा भेटघाट कुराकानी गरेर फारम भर्ने विधिलाई हामी प्रत्यक्ष विधि भन्छौँ । त्यो विधि सम्भव नहुँदा त्यसको विषयमा जानकारी राख्ने व्यक्तिहरु जसलाई हामी साक्षी, सूचनादाता, सम्पर्क सूत्रको प्रयोग गरेर हामीले त्यहाँको जनसङ्ख्याको एउटा अनुमान निकालेका हौँ । त्यो अनुमानलाई हामीले दार्चुला जिल्लाको व्यास गाउँपालिकाको वडा नं १ भित्रै समावेश गरेर र पछि विस्तृत विवरण निकाल्दा चाहिँ हामीले गाउँ टोलसम्मको विवरण पनि निकालेका छौँ । त्यो अङ्क सानै छ । 

छुटेको सङ्ख्या अनौपचारिक रुपमा समावेश गरिने

हामीले परिचालन गरेका झण्डै ४० हजार गणकहरुले ६८ लाख परिवारमा गएर अन्तर्वार्ता गरेको विवरण त हामीसँगै छ । झण्डै झण्डै ६८ लाखकोमा त पुगे । ६८ लाखकोमा पुग्दा पनि केही सय चाहिँ छुट्नु भयो कि भन्ने लाग्छ । अथवा केही हजारसम्म छुट्नु भयो कि भन्ने लाग्छ । किनकि सामाजिक सञ्जालमा, अथवा भेटघाट हुँदा मकहाँ त आइपुगेनन् भन्ने विषयहरु अथवा कहिलेकाहीँ परिवारको एकजना सदस्यले विवरण टिपाएकोमा अर्कोले थाहा नपाउने पनि हुँदो रहेछ । यसलाई हामीले पुनः छानबिन गर्दा अर्को सदस्यले नभनेको अवस्थामा त्यसलाई छुटेको भन्न मिलेन । त्यो बाहेक केही सानो सङ्ख्यामा गन्न छुट्यो कि भन्ने हामीलाई पनि लागेको छ । र अन्तर्राष्ट्रिय अभ्यासहरु पनि जनगणनामा शतप्रतिशत गणना गर्न असम्भव हुँदो रहेछ । हामीकहाँ अब कति प्रतिशत कम भयो त भन्दा आधा प्रतिशत १ प्रतिशत, २ प्रतिशत कति कम भयो भन्नका लागि एउटा छुट्टै अध्ययन गर्दैछौँ । जसलाई हामी पोष्ट इन्युमेरेशन सर्भे भन्छौँ । त्यो अध्ययनले हामीलाई एउटा आइडिया दिनेछ कति प्रतिशत छुटे भनेर । जनसङ्ख्याको सिद्धान्तले छुटेको घरमा फेरि गएर गन् भन्दैन । अब हामीले कति छुटे भनेर त्यो अनुसारको अङ्क समायोजन गर्ने प्रक्रिया सुरु गरेका छौँ । 

यसमा विभिन्न देशका विभिन्न अनुभवहरु छन् । द्वन्द्वग्रस्त देशमा दशौँ प्रतिशत तथा बिसौँ प्रतिशत पनि जनगणना गर्न सकिँदैन । ठूलै भूभाग छुट्छ । २०२० मा कोभिडको समयमा अमेरिकामा गरिएको जनगणना र त्यसपछि उहाँहरुले गर्नु भएको पोष्ट इन्युमेरेशन सर्भेमा झण्डै तीन प्रतिशत जनसङ्ख्या  समावेश नगरिएको भनेर भर्खरै प्रतिवेदन निकाल्नु भएको छ । 

अमेरिकाको सेन्सस ब्युरोले र हाम्रा अघिल्ला अनुभवहरुले पनि अघिल्ला जनगणनामा दुई/अढाइ प्रतिशत जति गणना नभएको भन्ने देखाएका छन् । यसपालिको जनगणनामा कति हुन्छ अध्ययन गरिसकेपछि मात्रै हामी भन्न सक्छौँ । यो तथ्याङ्क किन चाहिन्छ भन्ने विषयसँग जोडिन्छ । 

योजना तर्जुमा गर्ने, अनुगमन, मूल्याङ्कन गर्ने, नीति निर्धारण गर्नको निमित्त तथ्याङ्क चाहिन्छ भन्यो भने छुट्यो भने त ती योजना तर्जुमाहरु, नीतिहरु त वास्तविक बन्दैनन् । त्यसकारण त्यो एउटा अङ्क पनि हामीले प्राप्त गर्न सक्यौँ भने त्यो आधारमा समायोजन गरेर भए पनि हामीले नीतिलाई समायोजन गर्ने, योजनाहरुलाई संशोधन गर्ने गर्छौँ । त्यसकारण छुटेकोलाई औपचारिक नभए पनि अनौपचारिक रुपमा भए पनि समावेश गरिन्छ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

हेमराज रेग्मी

रेग्मी केन्द्रीय तथ्यांक विभागका उपमहानिर्देशक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया