बिरालो कालो होस् वा सेतो, मुसा मारे पुग्छ : मुख्यमन्त्री राई

 माघ २७, २०७८ बिहिबार १६:१५:३७ | रासस
unn.prixa.net

फाइल फाेटाे

मोरङ – प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवलाई एकआपसमा समन्वय गरेर काम गर्न निर्देशन दिनुभएको छ । 

प्रदेश नं १ सरकारअन्तर्गतका मन्त्रालय तथा निकायको हिजो बुधवार भएको अर्धवार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री राईले कामको सिलसिलामा कसैले कसैको राजनीतिक वाद वा सिद्धान्त नहेर्न पनि आग्रह गर्नुभएको छ । ‘हामीलाई चिनियाँ उक्ति जस्तो– बिरालो चाहे कालो होस् वा सेतो मुसा मारे पुग्छ’, उहाँले भन्नुभयो, ‘हाम्रो सरकारको योजना र उद्देश्यसँग तालमेल मिलाउनुपर्‍यो, कर्मचारी जो भए पनि हुन्छ ।’ उहाँले कर्मचारीलाई अनावश्यक र अनुचित काम गर्न दबाब नदिन पनि मन्त्रीलाई निर्देशन गर्नुभयो । 

मुख्यमन्त्री राईले योजना कार्यान्वयन क्रममा मन्त्रीलाई असहयोग नगर्न सचिवलाई आग्रह गर्नुभएको छ । ‘यो वा त्यो कानुनको बहाना गरेर मन्त्रीलाई अलमल्याउनु भएन’, उहाँले भन्नुभयो, ‘टार्ने, पन्छिने र पन्छाउने कामले संशय पैदा गर्छ, जे कुरा हो सचिवले पनि मन्त्रीलाई खुला र पारदर्शी ढङ्गले भन्नुपर्‍यो ।’ उहाँले ऐन, कानुनका कारण गाँठो परेका विषय फुकाउन सरकार तत्पर रहेको उल्लेख गर्नुभयो । ‘अब जहाँ समस्या पर्छ त्यहाँ कानुन बनाउँदै जाने हो’, मुख्यमन्त्री राईले भन्नुभयो ।  

समीक्षा कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले मन्त्रालय विस्तारपछि जनस्तरबाट आलोचना भएको अवस्थामा अब कार्यसम्पदानबाटै जवाफ दिनुपर्ने बताउनुभयो । ‘मन्त्रालय र मन्त्री बढाएर खर्च बढाए भन्ने आरोप छ, अब राम्रो कार्यसम्पादन गरेर परिणाममुखी कामबाटै जवाफ दिनुपर्दछ’, उहाँले भन्नुभयो । उहाँले कामको प्रकृति र जिम्मेवारीअनुसार मन्त्रालयको बजेट फरक–फरक हुनु स्वाभाविक भएको उल्लेख गर्दै प्राप्त बजेट सञ्चालन र खर्च गर्नमा दक्षता वृद्धि हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । 

उद्योग, श्रम तथा रोजगार मन्त्री प्रतापप्रकाश हाङ्गामले कर्मचारीलाई स्थिर सरकारको संज्ञा दिँदै जाडोमा तराई गर्मीमा पहाड बस्न खोज्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले प्रदेश सरकारको मुख्य राजस्वको स्रोतलाई वृद्धि गर्न यातायात व्यवस्था कार्यालयको काम कारवाहीलाई थप व्यवस्थित गरिने बताउनुभयो ।   

प्रमुख सचिव डा. रामप्रसाद घिमिरेले सरकारको कार्यक्रम र भावनाअनुसार काम गर्नका लागि आवश्यक तादम्यता मिलाउन सचिवलाई निर्देशन दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया