श्रम गन्तव्य मलेसिया र खाडीका देशबाट विद्युतीय राहदानी जारी

 फागुन ८, २०७८ आइतबार १०:५६:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालीको श्रम गन्तव्य देश खाडी र मलेसियाबाट विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट सुरु भएको छ । खाडीका देश कतार, साउदी, कुवेत, यूएई र मलेसियामा रहेको नेपाली दूतावासले विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट सुरु गरेका हुन । 

खाडीका देश साउदी र कुवेतमा रहेको नपाली दूतावासले आज आइतबारदेखि लाइभ इनरोलमेन्ट सुरु गरेका छन् भने यूएईमा रहेको नेपाली दूतावासले सोमबारदेखि विद्युतीय राहदानीको लागि लाइभ इनरोलमेन्ट सुरु गर्ने जानकारी दिएको छ ।

विदेशस्थित नेपाली नियोगमा सबैभन्दा पहिले कतारमा रहेको नेपाली दूतावासले विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट सुरु गरेको हो ।

शुक्रबारसम्म मलेसियामा रहेको नेपाली दूतावासले ६ सय भन्दा धेरैको राहदानी नवीकरणका लागि लाइभ इनरोलमेन्ट गरिसकेको जनाएको छ ।

सुरुवाती चरणमा दूतावासहरूले निश्चित सङ्ख्यामा मात्र विद्युतीय राहदानीको लागि लाइभ इनरोलमेन्ट गरिरहेका छन् ।

दूतावासहरूले भर्खरै विद्युतीय राहदानी सम्बन्धी सिस्टम जडान गरेकाले सुरुवाती दिनमा केही समस्याहरू आउन सक्ने छ । 

स्लो हुने वा अन्य प्राविधिक समस्या पनि देखा पर्दा प्री इनरोलमेन्टमा समस्या भएको सेवाग्राहीको गुनासो छ । तर दूतावासमा जडित सिस्टम काठमाण्डौको सिस्टमसँग बेलाबेला बिच्छेद हुने समस्या भइरहेकाले पहिलो चरणमा यो समस्यालाई बुझिदिनेसमेत अनुरोध दूतावासले गरेका छन् । सिस्टममा समस्या भएमा दूतावासमा पुगेका सेवाग्राही पनि फर्कन पर्ने हुनसक्छ । 

अबको एक दुई हप्ता यस्तो समस्या आउन सक्ने भन्दै अति आवश्यक परेकाले बाहेक तत्काललाई राहदानी नवीकरणको लागि निवेदन नदिन समेत साउदीमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।

धेरै जनाले एकै पटक प्री इनरोलमेन्ट गर्ने प्रयास गर्दा कहिलेकाहीँ समस्या आउनेभन्दै धैर्य गरेर आवेदन दिन भनिएको छ ।

प्री इनरोलमेन्ट गरेर तोकिएको समयमा दूतावासमा उपस्थित भएका सेवाग्राहीको मात्र दूतावासले बायोमेट्रिक विवरणसहितको प्रक्रिया अघि बढाउने छ । 

राहदानी नवीकरणका लागि दूतावासमा आफैँ उपस्थित हुन पर्ने छ ।

विद्युतीय राहदानीको लागि आवेदन दिन प्र इनरोलमेन्ट गर्ने तरिका

सबैभन्दा पहिला https://emrtds.nepalpassport.gov.np लिंकमा जानुहोस् ।

पहिलो पटक राहदानी बनाउने (नेपाली बाबु आमाका कतारमा जन्मेका सन्तानको हकमा) वा हस्तलिखित राहदानीवाहकहरूले नयाँ (New) मा क्लिक गर्ने ।

पुरानो एमआरपी  हुनेहरूले नवीकरण (Renewal) मा क्लिक गर्ने ।

राहदानी हराएको हकमा हराएको/चोरिएको (Lost/Stolen) तथा राहदानी विभिन्न कारणले बिग्रेको हकमा बिग्रेको (Damaged) र त्यसपछि Ordinary 34 pages अप्सनमा क्लिक गर्ने ।

त्यस पश्चात् उपलब्ध हुने राहदानीको फाराममा भएका विभिन्न चार उपशीर्षकमा रहेका विवरणहरू भर्ने । विदेशबाट आवेदन गर्नेकाे हकमा राष्ट्रिय परिचयपत्र नम्बर राख्न नपर्ने ।

आफ्नो नागरिकता प्रमाणपत्रको दुवै पेज, अहिले भएको राहदानीको फ्रन्ट र ब्याक पेज तथा अन्य सान्दर्भिक कागजात छुट्टाछुट्टै स्क्यान गरी अपलोड गर्ने ।

त्यसपछि Book Your Appointment मा प्रवेश गरेर Other अप्सन क्लिक गरी NE, Doha अप्सन छानेर आफूलाई उपयुक्त हुने वा उपलब्ध मध्ये अघिल्लो मिति र समय बुकिङ गर्ने र फाराम submit गर्ने ।

त्यसपछि प्राप्त हुने बारकोडसहितको फाराम डाउनलोड गरी प्रिन्ट गरेर दूतावासमा आवेदनका लागि जाँदा फाराम पनि लिएर जानुपर्छ ।

प्र इनरोलमेन्ट गर्दा अपलोड गर्नुपर्ने कागजातहरू

नागरिकता प्रमाणपत्रको पहिलो र दोस्रो पेज छुट्टाछुट्टै, अहिलेको राहदानीको फ्रन्ट पेज (फोटो तथा व्यक्तिगत विवरण भएको पेज) र ब्याक पेज (पेज ३० र ३१) छुट्टाछुट्टै र अहिलेको राहदानी हराएको हकमा प्रहरीबाट जारी गरिएको राहदानी हराएको प्रहरी प्रतिवेदन चाहिन्छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया