झन्डै ५ अर्ब रुपैयाँ खर्च भयो तर नहरमा पानी बगेन

 फागुन २९, २०७८ आइतबार १९:१८:४३ | रासस
unn.prixa.net

महाकाली सिँचाइ आयोजना, तस्बिर : सामाजिक सञ्जाल

कञ्चनपुर – झन्डै डेढ दशकअघि कञ्चनपुरमा सुरु भएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहर निर्माणमा अरबौँ रुपैयाँ खर्च भए पनि पानी भने अझै बग्न सकेको छैन । राष्ट्रिय गौरवको आयोजनामा समेत समेटिएको महाकाली सिँचाइ आयोजनाले डेढ दशकमा २५ किलोमिटर मूल नहर पनि तयार गर्न सकेको छैन । आयोजना सुरु भएदेखि अहिलेसम्म चार अर्ब ९२ करोड रुपैयाँ खर्च भइसकेको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर शम्भु पण्डितले जानकारी दिनुभयो ।

अहिलेसम्म १३ किलोमिटर मूलनहर निर्माण सकेर आयोजनाले दुई अर्ब ३२ करोड रुपैयाँको लागतमा थप १५ किलोमिटर मूल नहर निर्माण गरिरहेको छ । नेपाल–भारत सिमानाभन्दा वर (भीमदत्त नगरपालिका–९) मा छुटेको दुई सय २० मिटर मूल नहर पनि ठेक्का भएर निर्माणको चरणमा रहेको आयोजनाले जनाएको छ ।

मुआब्जा वितरणको सकस, वनको रुख कटानलगायत समस्या झेल्दा ढिला हुनाका साथै आयोजनाले आर्थिक अभावसमेत झेल्दै आएको छ । ‘आउँदो असार मसान्तसम्म २५ किलोमिटर मूल नहर निर्माण सकिन्छ ।’ इन्जिनियर पण्डितले भन्नुभयो, ‘आउँदो वर्षभित्रै शाखा नहर बनाएर मूल नहर बनेको क्षेत्र वरपर सिँचाइ पुर्‍याउने गरी काम गर्दैछौँ ।’

शाखा नहर निर्माणका लागि मुआब्जा दिनुपर्ने जग्गाको सर्वेक्षणलगायत काममा भएको ढिलाइका कारण बनाइएको नहर पनि उम्रेको घाँसले कतिपय ठाउँमा पुर्न थालेको भीमदत्त नगरपालिका–८ तिलाचौरका स्थानीयवासीको भनाइ थियो ।

कञ्चनपुर र कैलालीको ३५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य रहेको आयोजनाअन्तर्गत महाकाली नदीबाट एक हजार दुई सय मिटर लामो मूल नहर भारतले बनाइदिनुपर्ने थियो । आयोजनाअन्तर्गत अहिले शुक्लाफाँटाको फुलेली गाउँसम्म मूल नहर निर्माण भइरहेको छ ।

त्यही क्रममा महाकाली नदीमा हेडरेगुलेटर लगायत नहरको काम भारतले बनाइसके पनि नेपालतर्फ पानी छोड्दा त्यसको उपयोगितामा ध्यान दिन आवश्यक देखिन्छ । ‘कञ्चनपुरमा २२ शाखा नहर निमार्णका लागि गृहकार्य भइरहेको छ’, इन्जिनियर पण्डितले भन्नुभयो, ‘करिब ५० किलोमिटर शाखा नहर बनेपछि सिँचाइ सुरु हुन्छ ।’

भारतले पनि महाकाली सन्धिअनुसार नेपाली सिमानासम्म बनाउनुपर्ने एक हजार दुई सय मिटर मूल नहर निर्माण गर्न दुई दशकसम्म आनाकानी गरेको थियो । गएको वर्षदेखि त्यो काम थालेको भारतीय पक्षले अहिले भने काम सकिसकेको छ । कैलालीको मालाखेतीसम्म ए कसय ५१ किलोमिटरको नहर निर्माणका लागि २७ अर्ब रुपैयाँको लागत अनुमान गरिए पनि र आयोजनाले तोकिएको रकम तथा लामो समय खर्चिसके पनि पानी भने दिनसकेको छैन ।

भीमदत्त नगरपालिका–८ का अध्यक्ष ध्वजबहादुर विष्टले नहर निर्माण भएको लामो समय भइसक्दा पनि सिँचाइ सुविधा पाउन नसकेको गुनासो गर्नुभयो । ‘नहरमा पानी बगेको भए धेरै किसानलाई माछा पालनदेखि आयमूलक रोजगारीमा लाग्न पनि सहज हुने आशा थियो’, उहाँले भन्नुभयो, ‘किसानलाई सिँचाइका लागि वडा र प्रदेश सरकारबाट बोरिङ जडान र भूमिगत सिँचाइको प्रबन्ध मिलाएका छौँ ।’ वडाध्यक्ष विष्टले बितेको चार वर्षमा वडामा २२ वटा बोरिङ जडान र भूमिगत सिँचाइ संरचना बनाइसकिएको जानकारी दिनुभयो । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया