श्रममन्त्री श्रेष्ठ नेतृत्वको टोली यूएई, सेसेल्स र कतार भ्रमणमा जाँदै

 फागुन ३०, २०७८ सोमबार ७:३०:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली यूएई, सेसेल्स र कतारको भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्दैछ ।

नेपाल–यूएई संयुक्त समितिको बैठकका साथै रोजगारीका लागि पर्यटन भिसामा संयुक्त अरब इमिरेट्स पुगी अलपत्र परेका नेपालीको समस्या समाधानका लागि मन्त्री श्रेष्ठ नेतृत्वको टोली यूएई जान लागेको हो ।

भ्रमण टोलीमा मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा.थानेश्वर भुसाल, परराष्ट्र मन्त्रालयका उपसचिव प्रकाश अधिकारी र केन्द्रीय अनुसन्धान ब्युराेका प्रहरी नायब उपरीक्षक रोशन खड्का हुनुहुन्छ ।

भिजिट भिसामा लैजाने व्यक्ति/संस्थालाई कानुनी दायरामा ल्याउन केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षकलाई पनि टोलीमा समावेश गरिएको हो । भ्रमणका क्रममा मन्त्री श्रेष्ठले संयुक्त अरब इमिरेट्सका आफ्ना समकक्षीका अतिरिक्त त्यहाँका उच्चपदस्थ अधिकारी र नेपाली श्रमिकहरूसँग पनि छलफल गर्ने कार्यक्रम छ ।

मन्त्री श्रेष्ठले भोलि भिजिट भिसा र त्यसबाट सिर्जित समस्या समाधानका उपायबारे यूएईका मानव संशाधनमन्त्री डा. अब्दुलरहमान अब्दुलमानन अल अवारसँग छलफल गर्नुहुनेछ । भोलि नै नेपाल–यूएई संयुक्त समितिको बैठक उद्घाटन सत्रमा मन्त्री श्रेष्ठले सम्बोधन गर्नुहुनेछ ।

नेपाल–यूएई संयुक्त समिति बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सहसचिव राजीव पोखरेलले गर्नुहुनेछ । नेपाल–यूएई संयुक्त समितिको बैठकमा सन् २०१९ मा भएको श्रम–सम्झौता कार्यान्वयनमा देखा परेका समस्या समाधानबारे छलफल हुनेछ ।

पर्सि मन्त्री श्रेष्ठले आबुधाबीमा रहेको नेपाली दूतावासमा नेपाली श्रमिकले भोगेका समस्या र समाधानबारे नेपाली समुदायसँग छलफल गर्नुहुनेछ । मन्त्री श्रेष्ठ नेतृत्वको टोलीले पर्सि नै यूएईमा सरकार मातहत रहेका आप्रवासी घरेलु श्रमिक सेवा प्रदायक संस्थाहरु (तडवीर सेन्टर) मा भ्रमण गर्ने कार्यक्रम छ । त्यही दिन उहाँले यूएईमा रहेका नेपाली समुदाय तथा श्रमिकहरुसँग अन्तर्क्रिया गर्नुहुनेछ । मन्त्री श्रेष्ठ नेतृत्वको टोली बिहीवार बेलुका अफ्रिकी देश गणतन्त्र सेसेल्स प्रस्थान गर्नेछ ।

वैदेशिक रोजगारीका लागि नेपाली श्रमिक लैजान गणतन्त्र सेसेल्सबाट प्राप्त द्विपक्षीय श्रम सम्झौताको प्रस्ताव र रोजगारीका थप अवसरहरुबारे त्यहाँका उच्च अधिकारीहरुसँग छलफल हुनेछ। भ्रमण टोली आउँदो आइतवार कतार जाने र सोमवार कतारसँगको श्रम सम्झौता नवीकरणबारे उच्चस्तरीय छलफल गर्ने कार्यक्रम छ । मन्त्री श्रेष्ठ नेतृत्वको टोली मङ्गलवार स्वदेश फर्किने छ। 

अन्तिम अपडेट: माघ १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Ghan shyam pandey

    March 14, 2022, 12:57 p.m.

    I am intrest work in korea

  •  0 Reply

तपाईको प्रतिक्रिया