धमाधम उडान विस्तार गर्दै नेपाल एअरलाइन्स

 चैत ३, २०७८ बिहीबार १७:५२:३ | रासस
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले कोभिड–१९ महामारीका कारण उडान स्थगित भएका गन्तव्यमा धमाधम उडान विस्तार गरिरहेको छ । 

महामारीको जोखिम कम भएसँगै सबैजसो क्षेत्र सहज बनेपछि नेपाल एअरलाइन्सले महामारीअघि उडान सेवा दिइरहेका गन्तव्यमा फेरि उडान सुरु गरेको हो । नेपाल एअरलाइन्सले दुई वर्षको अन्तरालपछि भारतको मुम्बई र बेङ्गलाेरमा फेरि उडान गर्ने घोषणा गरिसकेको छ । निगमले आउँदाे मार्च २१ देखि बेङ्गलाेर र मार्च २९ तारिखदेखि मुम्बईमा उडान गर्ने तयारी गरेको छ । 

बेङ्गलाेरमा हप्ताकाे मङ्गलवार, बिहीवार र शनिवार उडान सञ्चालन हुनेछ भने मुम्बईमा बुधवार, शुक्रवार र आइतवार उडान गरिनेछ ।

नयाँ दिल्लीमा दैनिक दुई उडान

महामारीको असहज अवस्थामा पनि नियमित उडान भइरहेको भारतको नयाँ दिल्ली गन्तव्यमा पनि गएकाे फागुन ३० गतेदेखि दैनिक दुई उडान भइरहेको छ । भारतले आफ्ना सबै प्रकारका व्यावसायिक उडान खुला गरेसँगै नेपाल एअरलाइन्सले दिल्लीमा दैनिक दुई उडान गरिरहेको हो ।

जापानको नारितामा हप्ताकाे दुई उडान

नेपाल एअरलाइन्सले जापानको नारितामा हप्ताकाे दुई दिन उडान गर्ने गरी आवश्यक तयारी गरिरहेको छ । कोभिड महामारीका कारण उडान स्थगित भएको यो गन्तव्यमा निगमले फैरि उडान सञ्चालन गर्न लागेको हो । निगमले जापानको नारितामा हप्ताकाे दुई उडान गर्ने निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । 

नारिता विमानस्थलमा अप्रिल १ देखि उडान गर्ने गरी तयारी भइरहेको हो । निगमका प्रवक्ता अड्काले कोभिड महामारीअघिकाे सबैजसो गन्तव्यमा फेरि उडान विस्तार गरेर नेपाल एअरलाइन्स उडान सेवामा पूर्ववत् लयमा फर्किएको उल्लेख गर्नुभयो । नेपाल एअरलाइन्सले नारितामा अप्रिल १ देखि हप्ताकाे मङ्गलवार र शुक्रवार उडान गर्नेगरी नयाँ तालिका सार्वजनिक गरिसकेको छ । 

अहिले नारितामा हप्ताकाे एक दिन शुक्रवार मात्रै उडान भइरहेको छ । नेपाल एअरलाइन्सले सात देशका नौ गन्तव्यमा उडान गर्दै आएको छ ।

बैंककमा पनि हप्ताकाे दुई उडान   

नेपाल एअरलाइन्सले थाइल्यान्डकाे राजधानी बैंकक गन्तव्यमा पनि हप्ताकाे दुई उडान सञ्चालन गर्ने भएको छ । यसअघि हप्तामा एक मात्रै उडान गरिरहेको नेपाल एअरलाइन्सले यही चैत ७ गतेदेखि हप्तामा दुई उडान गर्ने तयारी गरेको हो ।

अन्तिम अपडेट: जेठ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया