पहाडी भेगका केही ठाउँमा हल्का वर्षाको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
यसभन्दा अघि २०७४ सालको चुनावमा पनि म्यादी प्रहरीको जागिर खानु भएकी गोदावरीकी अनिता परियार यसपटक पनि म्यादीमा जागिर खान पाइन्छ कि भनेर आवेदन दिन ललितपुर जावलाखेलको महानगरीय प्रहरी वृत्त अगाडि लाममा बस्नु भएको छ ।
बच्चा घरमा छोडेर आउनु भएकी परियार दिउँसोको टण्टलापुर घामबाट जोगिन आवेदन दिने फाइलले टाउको छेल्दै उभिइरहनु भएको छ । ‘यो रहर होइन बाध्यता हो । साधारण लेखपढ भएको हामीजस्तो केटी मान्छेलाई कुनै काम नै छैन नि त । बेरोजगारी छ । केटा मान्छेलाई त अलि काम छ बरु हामी जस्तो गृहिणीका लागि त काम नै छैन’ उहाँ प्रष्ट्याउनुहुन्छ, ‘अब म्यादीमा जान पाइयो भने पनि बालबच्चालाई यसो पढाउने खर्च हुन्छ । अब स्कुल भर्ना गर्ने बेला पनि भयो ।’
२०७४ सालको चुनावमा भैँसेपाटीमा खटिएर ५५ दिन पूरा काम गर्नु भएकी परियारको गुनासो छ, ‘त्यो बेला ५५ हजार रुपैयाँ भनेर तोकिए पनि यसोउसो गर्दा ३०/४० हजार रुपैयाँ मात्र पाइयो।’ यस पटकको म्यादी प्रहरीको अवधि र पारिश्रमिकका बारेमा उहाँलाई यकिन जानकारी छैन । भन्नुहुन्छ, ‘पैसाका बारेमा केही सोचिएको पनि छैन अनि थाहा पनि छैन । फर्म बुझाउने हो। भए खाने, नभए जाने ।’
‘अनुभविलाई प्राथमिकता दिए त हाम्रो पनि सम्भावना होला । तर यहाँ पावर नै लगाएर हुन्छ जहाँ पनि’ उहाँको गुनासो छ, ‘आफ्नो मान्छे छैन । भए जागिर खाने । नभए घर फर्केर जाने ।’
वैदेशिक रोजगारीको लागि माल्टा जाने तयारीमा रहनु भएकी चापागाउँकी रसिला घिमिरे पनि म्यादी प्रहरी बन्ने सपना बोकेर लाइनमा उभिनु भएको छ । कलेज छोडेर बस्नु भएकी घिमिरे अहिले फुर्सदमा हुनुहुन्छ । ‘माल्टाको भिसा अहिले आउँदैन । यो समय खाली भएका कारण यसको उपयोग गरौँ र केही पैसा पनि हुन्छ भन्ने हो’ उहाँले भन्नुभयो ।
अनुभविलाई प्राथमिकता भन्ने कुरामा भने उहाँको असहमति प्रष्ट देखिन्छ, ‘सेना, प्रहरीमा जागिर खाएकाले त पहिले पनि जागिर खाइसके । अनि यसभन्दा अघि म्यादीमा जागिर खाए गए सकियो । अब भने नयाँलाई अवसर दिनुपर्छ ।’
‘नेपालमा सबै बेरोजगार । म पनि बेरोजगार । त्यसैले जागिर खानै आएको हो’ यसो भनिरहँदा उहाँले प्रष्ट्याउनु भयो, ‘जागिर खान मात्र होइन । कमसेकम म्यादी प्रहरी बनेर सेवा गर्दा सरकारलाई पनि आफ्नो तर्फबाट केही योगदान होस् भन्ने पनि हो ।’
ललितपुर सुनाकोठीका विपिन तामाङलाई फौजी जवान बनेर काम गर्नुमा रुचि छ । यसभन्दा अघि उहाँले सशस्त्र प्रहरी तथा सेनामा पनि जागिरका लागि प्रयास गर्नु भएको थियो । तर, उहाँलाई कतै पनि सफलता मिलेन ।
‘सशस्त्र र आर्मीमा पनि ट्राइ गरेको हो । कहीँ पनि भएन । चित्त बुझाउनकै लागि भए पनि यहाँ आएको हो’ तामाङ भन्नुहुन्छ, ‘लामो अवधिको काम नभए पनि बेरोजगार बस्नुभन्दा त केही समय भए पनि काम हुन्छ नि !’
जडीबुटीबाट आवेदन दिन आउनु भएकी मुना आले मगरको समस्या पनि बेराेजगारी नै हो । घरको काम बाहेक खासै अरु काम नगरेको बताउने मुना भन्नुहुन्छ, ‘खास समस्या भनेकै बेराेजगारी नै हो । सरकारलाई पनि केही सहयोग होस् साथै सुरक्षा फौजमा सानैदेखि रुचि भएका कारण पनि अहिले जागिर खान आएको हो ।’
कृषिको काम गर्ने ललितपुर नल्लुका वीर बहादुर घलानको उमेर ४९ वर्षको भयो । उहाँ पनि घाममा म्यादी प्रहरीको आवेदन दिने लाइनमा फाइल बोकेर उभिनुभएको छ । मुख्य समस्या नै बेरोजागरी बताउने घलान भन्नुहुन्छ, ‘के हुनु बेरोजगार भएपछि अलिकति भए पनि आम्दानी हुन्छ कि भनेर आएको । काम, साम छैन । केही गरी भयो भने नुन खुर्सानी खान भए पनि पुग्छ ।’
‘फर्मको पैसा नपरे पनि फाइलको दश रुपैयाँ पर्यो’ फाइल देखाउँदै घलान भन्नुहुन्छ, ‘बुढो भयो । काम छैन । रहर पनि लाग्यो । घुमघाम हुन्छ । रमाइलो पनि हुन्छ ।’
चुलाचुली घर भएकी तथा अहिले ललितपुरको मङ्गल बजार बस्दै आउनु भएकी सुजाता लावती भन्नुहुन्छ, ‘मेरो चाहिँ म्यादी हुने इच्छा भन्दा पनि बेराेजगारी र बाध्यता बढी हो । काम छैन के गर्नु ?’
ललितपुर इकुडोलका ४५ वर्षीय अशोक भुलुन भन्नुहुन्छ, ‘बेरोजगारी नै हो समस्या भनेको । यसो हेरौँ भनेर आएको । भए हुन्छ, नभए त के गर्नु र !’
पहिले २०७४ सालको चुनावमा पनि म्यादी प्रहरीको काम गरिसक्नु भएका रोनल कुमार नेपालले यसै बीचमा मार्केटिङको काम गरे पनि अहिले भने बेरोजगार हुनुहुन्छ ।
भिडभाड कम भएका कारण जावलाखेलमा फर्म आएको बताउनु हुने नुवाकोट स्थायी घर भइ कलङ्कीमा बसोबास गर्दै आउनु भएका नेपाल भन्नुहुन्छ, ‘पहिले भन्दा पैसा पनि राम्रो लाग्यो । बेरोजगार भएका बेला यसो भर्दिउँ, जागिर भए खाइ पनि हालौँ भनेर हो ।’ तर, उहाँ जागिर हुनेमा भने त्यति आशावादी देखिनु भएन । भन्नुहुन्छ, ‘भिड छ । यत्रा बिघ्न मान्छे छन् । सबैले आ–आफ्नो मान्छे हाल्छन् । के होला र ?’
ललितपुर गोदावरीका २६ वर्षीय सरोज थापा फर्म बुझाउने लाइनमा पनि अलि रमाइलो गर्ने अवस्थामा हुनुहुन्छ । अर्थात उहाँ लाम लागिरहँदा पनि टिकटक बनाउने उत्साहमा हुनुहुन्छ ।
‘बेरोजगार भएर घरमा बस्नुभन्दा त म्यादी भएकै ठीक नि’ उहाँ भन्नुहुन्छ, ‘एक / डेढ महिनापछि अरु काम भेटिन पनि सक्छ । केही न केही होला । हुँदै नहुनु भन्दा केही न केही गरौँ भनेर हो ।’
‘हामी सबै नेपाली बेरोजगार छौँ । सरकारले राेजगार दिँदैन’ घामले पोलेर यताउति गरिरहनु भएकी इमाडोलकी शान्ति खड्का भन्नुहुन्छ, ‘चुनावमा सरकारलाई पनि सहयोग हुन्छ अनि आफूलाई पनि सहयोग हुन्छ ।’
म्यादी प्रहरीका लागि सरकारले १८ वर्षदेखि ५४ वर्षसम्मका नेपाली नागरिकले आवेदन दिन सक्ने सूचना जारी गरेको छ । म्यादीका लागि सरकारले ४० दिन कार्यावधि तोकेर प्रतिव्यक्ति एकमुष्ट ३० हजार २ सय ४० रुपैयाँ पारिश्रमिक दिने जनाएको छ ।
पोसाकबापत ६ हजार, राशनबापत एकमुष्ट ७ हजार २ सय र एक पटकका लागि गाडी खर्चबापत १ हजारका दरले रकम विनियोजन हुने गरी सुविधा निर्धारण गरिएको छ । आवेदन दिन लाइनमा भेटिएका उमेर समूह तथा भिडले नेपालमा रहेको बेरोजगारी दरलाई थप प्रष्ट्याएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ ।