देश विकास गर्न र सुशासनमा एमाले अरू पार्टीभन्दा बढी प्रतिबद्ध छ : अध्यक्ष ओली

 चैत ११, २०७८ शुक्रबार १९:४३:४३ | रासस
unn.prixa.net

उदयपुर – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सुशासन स्थापना र विकास गर्ने पार्टी एमाले नै भएको दाबी गर्नुभएको छ । उदयपुरको सदरमुकाम गाईघाटको लोकतान्त्रिक चोकमा एमालेले आज शुक्रवार आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, ‘एमाले हिजो पनि देश र जनताको विकास तथा सुशासन स्थापना गर्न प्रतिबद्ध थियो र आज पनि अन्य पार्टीभन्दा बढी प्रतिबद्ध छ ।’ 

अहिले वर्तमान पाँच दलको संयुक्त सरकार उल्टो दिशातिर चलिरहेका कारण देश अस्थिरतातिर गइरहेको आरोपसमेत अध्यक्ष ओलीको थियो । एमालेले देशमा गरिबी हटाउन सडक, भौतिक संचरना निर्माणको काम, लोककल्याणकारी कामका लागि देशको अन्य राजनीतिक दलहरूभन्दा दुई–चार कदम अगाडि रहेको दाबी गर्दै उहाँले अन्य राजनीतिक दल देश विकासको काम गर्न र सुशासन स्थापनामा असफल भएको आरोप लगाउनुभयो ।

आफ्नो नेतृत्वमा बहुमतको सरकार रहेको बेला आफ्नै पार्टीका केही स्वार्थी नेता र अन्य पार्टीले आफूले राम्रो काम गरिरहेको कारण सरकार ढाल्ने काम गरेर विकास गर्न नदिएको अध्यक्ष ओलीले गुनासो गर्नुभयो । उहाँले आउँदो चुनावमा एमाले निर्वाचित भएपछि पार्टीले देश विकासलाई निरन्तरता दिने बताउनुभयो ।

उहाँले अलमलिएका पुराना कार्यकर्तालाई बेलैमा एमालेमा सङ्गठित हुन आह्वान गर्नुभयो । एमालेले आउँदो चुनावबाट बहुमतको सरकार गठन गरेपछि लोककल्याणकारी काम र देश विकासको कार्यलाई झनै तीव्रता दिने विश्वास दिलाउँदै अध्यक्ष ओलीले देशको हित हुने तथा कसैसँग नझुक्ने नीतिसमेत लिने उल्लेख गर्नुभयो । 

एमाले उदयपुरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुअघि एमाले अध्यक्ष ओलीले उदयपुरको सदरमुकाम गाइघाटमा रहेको बोक्से बासबारीमा निर्माण गरिएको नयाँ मदन भण्डारी आँखा अस्पतालको उद्घाटन गर्नुभएको थियो । आँखा अस्पताल उद्घाटनसँगै आँखाको अप्रेशन गरेका बिरामीसँग अध्यक्ष ओलीले परामर्शका साथै अस्पताल भवनको निरीक्षणसमेत गर्नुभएको थियो । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया