१ सय रुपैयाँमा पढाउने विद्यालय भवनको शिलान्यास

 चैत १४, २०७८ सोमबार १४:५८:४६ | रासस
unn.prixa.net

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका–४ मा समता शिक्षा निकेतन माविको २० कोठाको नयाँ विद्यालय भवन निर्माण हुने भएको छ । 

७० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न हुन गइरहेको त्यस विद्यालय भवन आउँदाे  एक वर्षभित्रमा तयार गरिने भएको छ । विद्यालय भवन निर्माणका लागि हास्य कलाकार किरण केसीले व्यक्तिगत एक लाख पाँच हजार पाँच सय र सांस्कृतिक कार्यक्रममार्फत २० लाख रुपैयाँ उपलब्ध गराउने कार्यक्रममार्फत घोषणा गर्नुभएको छ । 

विद्यालय भवन निर्माणका लागि विराजविक्रम सिलवालले २० वर्षका लागि चार रोपनी जग्गा उपलब्ध गराएपछि विद्यालय भवन बन्ने पक्का भएको हो । यसअघि त्यस विद्यालय ललितपुर महानगरपालिका–१७ मा सञ्चालनमा थियो । १५ वर्षका लागि उपलब्ध गराइएको जमिनको सम्झौता सकिएपछि विद्यालय अर्को वडामा स्थानान्तरण गर्नुपरेको समता शिक्षा निकेतन गुठीका निर्देशक दीपक सञ्जेलले जानकारी दिनुभयो ।

नयाँ निर्माण हुने विद्यालय भवनको आज साेमवार महालक्ष्मीका मेयर रामेश्वर श्रेष्ठ, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्वसभापति जीवा लामिछाने, वरिष्ठ कलाकार हरिवंश आचार्य र नेपाल सरकारका पूर्व मुख्य सचिव तीर्थमान शाक्यले संयुक्त रूपमा शिलान्यास गर्नुभएको हो । 

समता शिक्षा निकेतन गुठीले विगत २१ वर्षदेखि देशका सबै जिल्लामा मासिक एक सय रुपैयाँमा अङ्ग्रेजी माध्यममा विद्यार्थीलाई पढाउँदै आएको छ । अहिले ७७ जिल्लाका ८० ठाउँमा समता शिक्षा निकेतन स्कुल सञ्चालनमा छन् । अहिले ४० हजार तीन सय २१ विद्यार्थी समताको विद्यालयमा पढ्छन् । समताको स्याङ्जा र गोर्खामा आफ्नै निजी भवन छ । अन्य जिल्लामा दाताले उपलब्ध गराएको जमिनमा कच्चा टहरा बनाइ समताले विद्यालय सञ्चालन गर्दे आएको छ । 

अहिले सार्क राष्ट्रअन्तर्गत भारतको बिहार, श्रीलङ्काको अनुराधापुर, बङ्गलादेशको ढाका र बर्मामा समता गुठीले विद्यालय स्थापना गरी पठनपाठनको कार्यअघि बढाउँदै आएको छ । नेपालमा झन्डै १६ हजार शिक्षक समताले सञ्चालन गरेको विद्यालयमा पढाउने गर्छन् । समताले एक सय रुपैयाँमा जोरपाटीमा अस्पतालसमेत सञ्चालनमा ल्याएको छ । समता शिक्षा निकेतन गुठीका संस्थापकमा उत्तम सञ्जेल छन् भने संरक्षकका वरिष्ठ कलाकारद्वय श्रेष्ठ र आचार्य हुनुहुन्छ । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Sarswati

    April 5, 2022, 12:37 a.m.

    यो अत्यन्त राम्रो काम हो , अझै उन्नती अनि प्रगतिको कामना !!

  •  0 Reply

तपाईको प्रतिक्रिया