निर्वाचन कल सेन्टर सञ्चालनमा आयो, ११०२ मा फाेन गरेर सूचना लिन सकिने

 चैत १५, २०७८ मंगलबार १६:२७:३४ | रासस
unn.prixa.net

काठमाण्डौ – निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि स्थापना गरेको ‘कल सेन्टर’ आज मङ्गलवारदेखि औपचारिकरुपमा सञ्चालनमा आएको छ ।

चुनावका सिलसिलामा नागरिक, मतदाता र सरोकारवालाको जिज्ञासा, गुनासो, उजुरी र प्रश्नलाई आयोगका तर्फबाट सम्बोधन गर्न यो कल सेन्टर सञ्चालनमा ल्याइएको हो ।

विगतमा ११ अङ्क नम्बर रहेको टोल फ्री सञ्चालनमा आएकामा सेवाग्राहीको हितलाई ध्यानमा राखेर आयोगले यस पटक चार अङ्कको टोल फ्री नम्बर सञ्चालनमा ल्याएको छ । कल सेन्टरमा नौ जनालाई खटाइएको छ । आउँदो स्थानीय तहको चुनावसँग जोडेर सेवाग्राहीका जिज्ञासा आउने क्रम पनि बढेको छ ।
 
निःशुल्क टोल फ्री नम्बर ११०२ रहेको कल सेन्टर शुभारम्भ गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले टेलिफोनमार्फत सेवाग्राहीले सोधेका जिज्ञासालाई सम्बोधन गर्नुभयोे ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले कल सेन्टरमा सेवाग्राहीबाट आउने जिज्ञासा र गुनासालाई शिष्ट भाषामा सम्बोधन गर्न निर्देशन दिनुभयो । चुनावसँग सरोकार राख्ने व्यक्ति वा संस्थाले आफूलाई आवश्यक पर्ने तथ्यको तत्कालै जानकारी प्राप्त गर्न सकोस् भनेर आयोगले विगतदेखि नै चुनावका बेला कल सेन्टर सञ्चालन गर्दैआएको हो । 

‘सबै मतदाताले मतदानका विषयमा निःशुल्क र सहजै जानकारी प्राप्त गरुन् र आफूले चाहेको उम्मेदवारलाई निर्भयपूर्वक मतदान गर्न सकुन् भन्नेमा आयोगले विशेष ध्यान पुर्‍याउँदै आएको छ’, उहाँले भन्नुभयो, ‘कल सेन्टर मतदाताको आकर्षणको निम्ति हो । सेन्टरमा जवाफ दिने भूमिकामा रहनुभएकाले पनि सुझबुझका साथ विनम्र भएर जवाफ दिनु होला ।’ 

आयोगका प्रवक्ता शालिग्राम शर्माले कल सेन्टरमा खटिएका कर्मचारीलाई सेवाग्राहीबाट आउने जिज्ञासा र गुनासोलाई बुझिने भाषामा सरलरूपमा  सम्बोधन गर्न सुझाव दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया