उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैते छठ सम्पन्न

 चैत २५, २०७८ शुक्रबार १०:४६:४३ | रासस
unn.prixa.net

तस्बिर : रासस

धनुषा - मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैते छठ सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यो पर्व अन्तिम दिन आज बिहान तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलमा जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी सकिएको हो ।

पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठका अवसरमा पोखरी, नदी, तलाऊ र जलाशयमा श्रद्धालु भक्तजनको भिड लाग्ने गर्छ ।

चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन मङ्गलवार व्रतालुले नहा खा अर्थात नुहाएर खाएर जीउ चोख्याउने काम गरेका थिए ।  पर्वको दोस्रो दिन बुधवार खरना मनाएका थिए । खरनाका दिन व्रतालुले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कूलदेवताको पूजा गरेका थिए र राति अरवा अरबाइन (बिना नुन हालेको) खानेकुरा खाएका थिए ।

षष्ठीका दिन अर्थात बिहीवार बेलुका गहुँ र चामल ओखल, जातो वा ढिकीमा कुटान पिसान गरी त्यसबाट निस्केको पिठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरिया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाँजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाक्कीमा राखेर परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठघाटसम्म पुगेका थिए ।

हिजो बेलुका व्रतालुले सन्ध्याकालीन अर्घ्यका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल हालेर अन्य अर्घ्य सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्घ्य अर्पण गरेका थिए । आज बिहान पुनः छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन बेलुका गरेको क्रम दोहोर्याइ प्रातःकालीन उदाउँदो सूर्यलाई अर्घ्य दिइ छठ सम्पन्न गरेका छन् ।     

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया