पञ्जाबमा मासिक तीन सय युनिटसम्म बिजुली नि:शुल्क दिने मुख्यमन्त्रीको घोषणा

 वैशाख ३, २०७९ शनिबार १५:३५:७ | एजेन्सी
unn.prixa.net

भारतको पञ्जाबका मुख्यमन्त्री भगवंत मानले आउँदो जुलाई १ तारिखदेखि मासिक तीन सय युनिटसम्म बिजुली नि:शुल्क दिने घोषणा गर्नुभएको छ । आम आद्मी पार्टीको तर्फबाट मुख्यमन्त्रीमा निर्वाचित भएको एक महिना पुगेको अवसरमा मुख्यमन्त्री मानले पञ्जाबका नागरिकले हरेक महिना तीन सय युनिटसम्मको बिजुली नि:शुल्क पाउने घोषणा गर्नुभएको हो ।

उहाँले औद्योगिक उपभोक्ताको लागि महसुल नबढाउने र कृषकहरुका उपकरणमा लाग्ने शुल्क पनि कटौती गरिने बताउनुभएको भारतीय सञ्चारमाध्यम एनडीटीभीले जनाएको छ । उहाँले गएको मंगलबार ट्विट गर्दै आफूले दिल्लीका मूख्यमन्त्री अरविन्द केजरीवालसँग भेट गरेको र पञ्जाबका नागरिकलाई छिटै एउटा खुसीको खबर दिने बताउनुभएको थियो । हरेक घरमा तीन सय युनिटसम्म बिजुली नि:शुल्क उपलब्ध गराउने विषय आम आद्मी पार्टीको चुनावी वाचामध्ये एक थियो । यो निर्णय कार्यान्वयन भएमा पञ्जाबका ६२ लाख २५ हजार अर्थात झण्डै ८४ प्रतिशत परिवारले नि:शुल्क बिजुली पाउनेछन् ।

पञ्जाब सरकारले तीन सय युनिटसम्म नि:शुल्क बिजुली दिँदा वार्षिक ५५ अर्ब भारतीय रुपैयाँ बेहोर्नुपर्ने खबरमा उल्लेख छ । यसअघि कांग्रेस आईको सरकारले मासिक दुई सय युनिटसम्मको बिजुली नि:शुल्क गरेको थियो भने सात किलोवाटसम्मका ग्राहकले न्युनतम प्रति युनिट तीन भारु तिरे पुग्थ्यो । गएको महिना भएको चुनावमा पञ्जाबका एक सय १७ सिटमध्ये आम आद्मीले ९२ सिटमा जितेको छ । आम आद्मी नेतृत्वको सरकारले दिल्लीमा गरेको व्यापक सुधार र विकासका कारण अन्य प्रदेशमा पनि पार्टीको प्रभाव बढ्दै गएको छ । 
 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया