वैशाख ११ गतेदेखि मेलम्चीकाे पानी धारामा : मन्त्री चाैधरी

 वैशाख ६, २०७९ मंगलबार १९:५५:३६ | रासस
unn.prixa.net

काठमाण्डाै – खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरीले यही वैशाख ११ गतेदेखि काठमाण्डाै उपत्यकावासीका धारामा मेलम्चीको पानी वितरण गर्न निर्देशन दिनुभएको छ । पानी प्रशोधनलगायत तयारीका काम गर्न मेलम्ची आयोजनासहित सरोकारवाला निकायलाई उहाँले निर्देशन दिनुभएको हो ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा रहेकाे मेलम्चीको मुहानबाट गएकाे चैत ३० गते सुरुङमा हालिएको पानी हिजाे साेमवार राति सुन्दरीजलमा आइपुगेपछि आज मङ्गलवार प्रशोधन केन्द्रमै गएर मन्त्री चौधरीले सरोकारवाला निकायका अधिकारीहरूलाई समयमै पानी उपलब्ध गराउन निर्देशन दिनुभएको हो । 

संविधानमा स्वच्छ खानेपानी र सफाइको हक उल्लेख गरिएकाले पनि पानीबाट कसैलाई वञ्चित नगर्न मन्त्री चौधरीले निर्देशन दिनुभयो । काठमाण्डाै उपत्यकाका १० वटै पानीपोखरीबाट समानुपातिक रूपमा पानी वितरण गर्न उहाँले आह्वान गर्नुभयो । मेलम्चीवासीलाई लेबीस्वरुप पाँच प्रतिशत रकम दिने सहमति भएकाले काठमाण्डाै उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) लाई महसुल उठाउन मन्त्रालयले निर्देश गरेको छ ।

मन्त्रालयका सचिव सुरेश आचार्यले खानेपानी चुहावट भएका ठाउँमा सडक विभागसँग समन्वय गरेर मर्मत गरी सडक पुनर्निर्माण गरिने बताउनुभयो । काठमाण्डाै उपत्यकामा अहिले तीन लाख ३७ हजार धारा रहेकामा मेलम्चीको पानी वितरणका लागि थप एक लाख ६० हजार धारा निर्माण गरिसकिएको उहाँले जानकारी दिनुभयो । मेलम्चीको पानी नयाँ र पुरानो दुवै धाराबाट वितरण गरिने बताइएको छ । 

मुहानबाट दुई सय ६० लिटर प्रतिसेकेन्डका दरले सुरुङमा हालिएको पानी सोमवार राति पौने १० बजे सुन्दरीजल आइपुगेको थियो । सुरुङ पूरा भरिन दुई दिन लाग्नेछ । भरिएपछि प्रशोधन केन्द्रमा ल्याइ प्रशोधन गरी मेलम्चीको पानी वितरण गर्ने गरी तयारी गरिएको छ । यसअघि काठमाण्डाै आइपुगेको पानी गएकाे वर्ष असार १ गतेको बाढीका कारण मुहान क्षेत्रका संरचना भत्किएपछि अवरुद्ध भएको थियो ।
 
मेलम्ची आयोजनाले अहिले अस्थायीरूपमा पानी ल्याउन लागेको हो । वर्षा लागेसँगै फेरि पानी बन्द गरिने छ । वर्षा कम भएपछि फेरि पानी ल्याउने तयारी गरिएको बताइएको छ । 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया