हेवाखोलाको झोलुङ्गे पुल निर्माण कार्य अलपत्र

सम्झौता अुनसार म्याद सकिन एक महिना

 असोज १, २०७५ सोमबार ११:१५:२९ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा — संखुवासभाको चैनपुर नगरपालिका र पाँचखपन नगरपालिकाको सिमानामा रहेको हेवा खोलामा सम्झौता अनुसारको समय सकिन एक महिना मात्रै बाँकी हुँदासमेत झोलुङ्गे पुल निर्माणको काम सुरु भएको छैन । 

२०७३ साल भदौदेखि काम सुरुवात गरी २०७५ असोजमा निर्माण कार्य सम्पन्न गर्ने भनेर पुष्पाञ्जली कन्स्ट्रक्सन प्रालिले हेवा खोलाको दोभानेमा पुल निर्माण गर्ने सम्झौता गरेको थियो । तर सम्झौता अनुसारको समय सकिन एक महिना हुँदासमेत पुल निर्माणको काम चारभागमा एक भागसमेत सम्पन्न नभएको स्थानीयको गुनासो छ । सडक विभाग र ठेकेदार कम्पनीको लापरवाहीको कारणले गर्दा पुल निर्माणले गति लिन नसकेको स्थानीयको आरोप छ । 
    
४ करोड ५८ लाखको कुल लागतमा निर्माण हुन लागेको याे पुल ०७५ असोज सम्ममा निर्माण कार्य सम्पन्न गरिसक्नु पर्ने भए पनि अहिले सम्म उक्त पुलो निर्माण कार्य १५ प्रतिशत भन्दा अघि नबढेको पाँचखपन नगरपालिका–८ का वडाध्यक्ष छत्र न्यौपानेले बताउनुभयो । उहाँको अनुसार, पहिलो वर्ष फाउन्डेसन खन्दा चट्टान भेट्टिएको वाहाना बनाएर काम स्थगित गरेको थियो । अहिलेसम्म त्यो भन्दा अगाडि काम बढेको छैन ।

हेवाखोलामा झोलुङ्गे पुल नहुदाँ पाँचखपन नगरपालिका र सभापोखरी गाउँपालिका जाने यात्रुहरु बाँसको अस्थायी पुल (फड्के) बाट असुरक्षित यात्रा गर्न बाध्य छन् । पाँचखपन र सभापोखरी जावातजावात गर्ने सबैभन्दा छोटो बाटो भएकाले आमसर्वसाधारणहरु बाँस फड्केबाट भए पनि सोही बाटो हिड्ने गरेका छन् ।

अर्को बाटोबाट आवात–जावात गर्ने दुई–तीन घण्टा घुमाउरो पर्ने भएकाले छोटो बाटो हिड्ने गरेको वडाअध्यक्ष न्यौपानेको भनाई छ । भर्खरै सडक सञ्जाल बिस्तार भए पनि वर्षायाममा खोलामा पानीको वहाब बढेसँगै कुनै पनि सवारी साधान नचल्ने अवस्था भएको वडाध्यक्ष  न्यौपानेले बताउनुभयो । ‘गाडीबाट आवातजावात गर्न धेरै घुमाउरो छ, त्यो पनि बर्खायाम चल्दैन ।’—उनले भने—‘खोलामा झोलुङ्गे पुल समेत नहुदाँ पुलमा प्रयोग गरिएका बाँस र काठ पनि पुरानो भएर मक्किइसकेको छ ।’—उहाँले भन्नुभयो ।
    
पुलबाट बाह्रै महिना यात्रा गर्नु पर्ने भए पनि बर्षायाममा पानीको बहाब बढेपछि  आवातजावात नै बन्द हुने गरेको छ । कहिलेकाँही अति आवश्यक काम गर्दा समेत बाढीको कारण बाँसको फड्केबाट आवातजावात गर्न सकिदैन । ठूलो भेल आयो भने बाँसको फड्के नै बगाएर लैजाने गरेको छ ।

ठेकेदार कम्पनीले काम संचालन नगरेको भन्दै गएको साउन २८ गते सडक डिभिजन कार्यालय तुम्लिङटारमा स्थानीयहरुको डेलीगेसन समेत गएको थियो । उहाँहरुले तत्कालै काम अगाडि बढाउनु पर्ने र ठेकेदार कम्पनीलाई कारवाही गर्नुपर्ने माग राख्नुभएको थियो ।  

हेवाखोलाको पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले समय भन्दा ढिलो गरि काम सुरुवात गरेको सडक डिभिजन कार्यालय तुम्लिङटारका इन्जिनियर त्रिलोकनाथ घिमिरे बताउनुभयो । उहाँले भन्नुभयो–‘पहिलो वर्ष फाउन्डेसन खन्दा चट्टान भेटिएकाले डिजाइन परिवर्तन गरेर गत वैशाखमा पुनः खनेको नयाँ पिलरको फाउन्डेसन पनि भलबाढीले पुरेकाले काम स्थगित भएको हो ।’

यता वडाध्यक्ष न्यौपानेले त्यसको ठाडै अस्वीकार गर्दै भन्नुभयो—‘यहाँ सबैको मिलेमतो देखिन्छ । पहिलो वर्ष खनेको फाउन्डेसन बाढीले बगाएपछि अर्को पटक काम सुचारु नै भएको छैन ।’

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया