चुनाव पालिकाको : जनमत अनेक विषयको

 बैशाख २९, २०७९ बिहिबार ११:२२:३३ | मिलन तिमिल्सिना
unn.prixa.net

पालिका चुनावको मतदान त सकिएको छ र सबै परिणामको पखाईमा छन् । परिणामको व्यग्र प्रतीक्षाको सूचीमा छन् कांग्रेसले नेतृत्व गरेको पाँच दलीय गठबन्धनका नेताहरु र गठबन्धन विरुद्ध लडेका एमाले अध्यक्ष केपी शर्मा ओली । किनकी पालिकाको भए पनि यो पालिको चुनाव पाँच दलीय गठबन्धन र एमाले को सही हो भन्ने विषयमा अघोषित जनमत सङ्ग्रह हो । यो चुनावले नेपालको भावी राजनीतिको एजेण्डा कस्ले तय गर्छ भन्ने स्पष्ट सन्देश दिनेछ । खासगरी एमालेका अध्यक्ष के.पी. शर्मा ओलीको संसद् विघटन गर्ने कदम ठिक थियो कि सर्वोच्च अदालतले गरेको संसद्को पुनर्स्थापना सही थियो भन्ने विवादित प्रश्नको जवाफ यो पालि खस्ने मतले दिनेछ । त्यसैले, नेता, कार्यकर्ता र उम्मेदवार आक्रामक चुनावी प्रचार अभियान सकेर मौन सक्रियतामा छन् । महानगरको मेयरदेखि गाउँपालिकाको वडा सदस्यसम्म कहाँ कसले जित्छ भनेर हरहिसाब भइरहेको छ । चुनाव पालिकाको भए पनि यो पालि खसेका मतले राष्ट्रिय राजनीतिको स्पष्ट बाटो तय गर्नेछ । 

त्यसो त, यो पालिको पालिका चुनावमा पनि पाँच दर्जनभन्दा बढी राजनीतिक दल सहभागी छन् । तर मुख्य प्रतिस्पर्धा दुई पक्षबीच मात्रै छ, एउटा पक्ष हो कांग्रेसको नेतृत्वमा रहेको सत्तारुढ पाँच गठबन्धन र अर्को पक्ष हो नेकपा एमाले । हुन त एमालेसँग केही पालिकामा पुरानो शक्ति राप्रपादेखि त्यति अस्तित्वमै नरहेको परिवार दलको पनि तालमेल छ । तर पाँच दलले महानगरदेखि वडासम्मै गठबन्धन गरेको छ । भलै त्यो गठबन्धनको बन्धन धेरैतिर खुकुलो भइसकेको छ । गठबन्धनका नेताहरु खुकुलो बन्धनलाई जोडजाड र कसकास पारेर जसरी पनि एमालेको पत्तासाफ गर्ने अभियानमा छन् । एक्लै काफी छौँ भने पनि एमालेले गठबन्धनको मुकाबिला गर्न कतै कांग्रेसको गोविन्दराज जोशी र कतै राप्रपा र परिवार दलको त्यान्द्रो समातेको छ । तर गठबन्धनको विरुद्ध एमाले धेरैतिर एक्लै औँलो ठड्याएर मैदानमा उत्रिएको छ ।

जे होस्, यो चुनावमा एमाले एकातिर र कांग्रेस र माओवादी सहितका पाँच दल अर्कोतिर छन् । एमालेलाई राप्रपा, लोसपासहित कांग्रेसका केही असन्तुष्ट पक्षको साथ छ । गठबन्धनको नेतृत्व गरेको कांग्रेससँग माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चाको ठूलो शक्ति छ । त्यसैले यो चुनाव जसरी पनि एमालेलाई हराउने सत्ता गठबन्धन र गठबन्धनलाई देखाइदिने एमालेबीचको प्रतिष्ठाको लडाइँ हो । 

गठबन्धनका नेताहरु यो चुनावमार्फत एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सडकमा पुर्याउने अभियानमा छन् । दुईदुई पटक संसद् विघटन गर्ने ओलीको कदम विरुद्ध बनेको गठबन्धनलाई चुनावले अनुमोदन गर्ने उनीहरुको दाबी छ । यसैगरी ओली र एमालेका नेताहरु चुनावमा गठबन्धनको बन्धन खुस्काएर पाँच दललाई पाँचतिर छिन्नभिन्न बनाउन लागेका छन् । एमालेले यो चुनावलाई जनादेश र परमादेशबीचको लडाइँ ठानेको छ । संसद् विघटन गर्ने ओलीको कदम ठिक थियो कि प्रधानमन्त्रीलाई जनादेशमा जान रोक्ने अदालतको कदम ठिक थियो भन्ने विवादको निरुपण पनि यही चुनावको परिणामले दिनेछ । 

कांग्रेसको नेतृत्वमा रहेको पाँच दलीय गठबन्धन अदालतको पुनर्जन्म हो । त्यसैले संसद् पुनर्स्थापना गर्ने सर्वोच्च अदालतका न्यायाधीशहरु ठिक कि जनमतमा जान्छु भन्ने तत्कालीन प्रधानमन्त्री ओली ठिक थिए भन्ने पेचिलो प्रश्नको जवाफ पनि यो पालिको चुनावले दिनेछ । 

साथसाथै, यो चुनावले नेकपा नामक एउटै पार्टीमा रहेर अहिले छिन्नभिन्न भएका एमालेका नेता ओली र माओवादीका नेता दाहालमध्ये को सही थिए भन्ने फैसला पनि गर्नेछ । २०७४ सालमा एउटै घोषणापत्रसहित तालमेल गरेर चुनावमा होमिएका एमाले र माओवादीले भनेजस्तै परिणाम हात पारे । अहिले उनीहरु त्यो परिणामको जस आफूले मात्रै लिने होडबाजी गर्दैछन् । एमालेका नेताहरु भन्छन्, माओवादीलाई हामीले जिताएका हौँ, नत्र उनीहरु पत्तासाफ भइसक्थे । अनि माओवादी नेताहरु छाती फुलाएर भन्छन्, त्यतिबेला हामीले भोट नदिएको भए अरुको त कुरा छाडौँ, ओलीले समेत जित्दैन थिए । ओली र दाहालले अहिलेसम्म लिँदै आएको जस कस्को भागमा पर्नेछ भन्ने निर्णय पनि यो चुनावको मत परिणामले स्पष्टै पारि दिनेछ । 

सत्ता गठबन्धन र एमालेबीचको प्रतिष्ठाको लडाइँले यो चुनावमा अहिलेसम्म ठूला ठानिएका धेरै एजेण्डा छायाँमा परेका छन् भने कतिपय शक्ति कमजोर र अदृश्य भएका छन् । यसअघिको चुनावमा कांग्रेस, एमाले, माओवादीसँगै मधेसवादी, जनजाति र राजावादी शक्तिहरु चुनावमा निकै प्रभावशाली थिए । तराई मधेसमा एमाले पस्न सकेको थिएन । त्यहाँ कांग्रेस, एमालेजस्ता ठूला राजनीतिक दलको भन्दा मधेसवादी दलकै दबदबा थियो । जनजाति र दलितका मुद्दा उठाउने दलहरुको बलियो अस्तित्व थियो । वैकल्पिक शक्तिका नाममा विवेकशील साझाको छुट्टै चर्चा थियो । तर योपालि त्यो बेलाका कतिपय शक्ति कमजोर भएका छन्, कतिपयको नामोनिशान नै हराइसकेको छ । मधेसवादी दलहरुमध्ये जसपा कांग्रेस नेतृत्वको गठबन्धनमा छ, लोसपा एमालेसँगको तालमेल गरेर आफ्नो अस्तित्व जोगाउने कसरतमा छ । कमल थापा नेतृत्वको राप्रपा एमालेले दिएको सूर्यको तापमा मात्र अस्तित्व देखाउन विवश छ । राजेन्द्र लिङ्देनको राप्रपा वैकल्पिक शक्ति हुने प्रयासको परीक्षणमा छ भने विवेकशील साझाको ठाउँ केही स्वतन्त्र उम्मेदवारले लिएका छन् ।

यो चुनावको परिणामबाट संविधानमा व्यवस्था भएको चुनावी प्रणालीलाई हेरफेर गर्नुपर्छ या पर्दैन भन्ने जनादेश पनि आउनेछ । ओली बाहेकको दलका नेता, कार्यकर्ता र राजनीतिका पण्डितहरु अहिलेको चुनावी प्रणाली अनुसार कुनै दलले बहुमत ल्याउँदैन भन्ने निष्कर्ष निकालेर त्रिशङ्कु संसद्को चिन्ताले चिन्तित छन् । प्रत्यक्ष र समानुपातिकको मिश्रित चुनावी प्रणालीका कारण कुनै एक दलको बहुमत नआउने भएकाले नेपालको भावी राजनीतिमा गठबन्धन अनिवार्य ठानेर कांग्रेसले जन्मजात दुश्मन कम्युनिस्टहरुसित सहकार्य गरेको छ । भविष्यमा गठबन्धन चाहिन्छ भन्ने निष्कर्षमा माओवादी र कांग्रेस एकमत देखिन्छन् । तर, नागरिकले कुनै एक दललाई बहुमत दिँदै दिँदैनन् भन्ने निष्कर्ष सही हो कि गलत भन्ने प्रश्नको परीक्षण पनि यसै चुनावमा हुन सक्छ । हरेक चुनावमा गठबन्धन बनाउनुपर्ने अवस्था आउँछ या यही व्यवस्थाअनुसार नै कुनै दलले बहुमत पाउँछ भन्ने संशय यो चुनावपछि सकियो भने देशको चुनावी प्रणालीबारेका संशयहरु समाप्त हुनेछन् । 

त्यसैले पालिका चुनाव भए पनि अनेक राजनीतिक र शासकीय विवादमा यो चुनाव जनमत सङ्ग्रह नै साबित हुनेछ । देशको राजनीति अहिले दुई ध्रुवमा केन्द्रित भइरहेको छ । एउटा ध्रुवमा एमाले र अर्को कांग्रेस । राजनीतिक शक्ति क्षीण हुँदै गएका पाँच दललाई कांग्रेस आफैँ कमजोर भएकाले मात्र छहारी दिएको हो । त्यसैले, नेपाली नागरिकको मत कांग्रेस नेतृत्वको राजनीतिक ध्रुवतिर छ या एमाले नेतृत्वको राजनीतिक ध्रुवमा भन्ने प्रष्ट सङ्केत प्रचण्ड घाम र शीतल छायाको फेरबदल हुने महिना जेठको सुरुदेखि नै देखिन थाल्नेछ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

1 Comments

  • Bikram

    May 16, 2022, 10:29 a.m.

    I am very happy to use this app.it is the most good app for finding details

  •  0 Reply

तपाईको प्रतिक्रिया