विषाक्त रक्सीका कारण मलेसियामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो, कडा रक्सी भएको स्वास्थ्य मन्त्रालयको दावी

 असोज २, २०७५ मंगलबार २२:३:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

मलेसियामा विषाक्त रक्सीका कारण बिरामी परेको भनिएकाहरुले कडा रक्सी पिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मलेसियाका स्वास्थ्य विभागका निर्देशक डाक्टर नूर हिशाम अब्दुल्लाहका अनुसार त्यहाँको स्वास्थ्य विभाग र प्रदेशले गरेको अनुसन्धानमा बिरामीले क्वालालम्पुर सेलांगोर क्षेत्रबाट लामो समयदेखि कडा खालको रक्सी किनेको खुलाशा भएको छ ।

बिरामीको शरीरबाट निकालिएको रक्सीको नमुना बजारमा पाइने रक्सीको नमुनाको टेष्ट हुने उनले बताएका छन् । 

बिरामीहरुबाट लिइएको जानकारीअनुसार उनीहरुले तीनवटा ब्राण्डका रक्सी किनेका थिए । मण्डले ह्विस्की, किंगफिसर बियर र ग्राण्ड रोयल ह्विस्की उनीहरुले स्थानीय बजारबाट किनेका हुन् । स्थानीय कारखानाहरुमा काम गर्ने विभिन्न देशका मजदुरहरुले सोमबार सार्वजनिक बिदा भएकाले खाने पिउने गरेको बताइएको छ ।

डाक्टर नूरका अनुसार बिरामीहरुलाई ‘मेथानोल पोइजनिङ’ भएको र पेट दुख्ने, वान्ता हुने, टाउको दुख्ने, रिँगटा लाग्ने तथा श्वासप्रश्वासमा समस्या देखिनेलगायतका लक्षणहरु देखा परेको छ ।

मलेसियाको स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार बेलुकासम्म बिरामी पर्नेको संख्या ५१ पुगेको छ । बिरामीमध्ये तीन जना मलेसियाली नागरिक छन् भने बाँकी नेपाल, म्यानमार, बंगलादेश र इन्डियाका नागरिक रहेका छन् । 

डाक्टर नूरका अनुसार अहिलेसम्म मृत्यु हुनेको संख्या १९ पुगेको छ । १४ जनाको अवस्था गम्भीर रहेको छ । मलेसियामा रहेको नेपाली दूतावासले जानकारी दिएअनुसार अहिलेसम्म चार जना नेपाली नागरिकको मृत्यु भएको पुष्टि भएको छ । मलेसियाका लागि नेपाली राजदूत  कुमारराज खरेलका अनुसार सञ्जय उराव र विशाल बुढाथोकीको सनाखत भएको छ ।

मलेसियाली प्रहरीले ती रक्सीमा के कस्तो विषाक्त पदार्थ थियो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ । 

-द स्टार डट कमको सहयोगमा

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया