पालिका चुनाव : प्रतिस्पर्धा एकातिर, नतिजा अर्कोतिर !

 जेठ ९, २०७९ सोमबार ८:१९:१७ | मिलन तिमिल्सिना
unn.prixa.net

पालिका चुनावको नतिजा अन्तिम चरणमा पुग्दा कांग्रेस र माओवादी मसक्क मस्किएका छन् भने एमाले र एकीकृत समाजवादी झसक्कै झस्किएका छन् । गठबन्धनकै कारण कांग्रेस र माओवादी केन्द्रले सोचेभन्दा राम्रो परिणाम ल्याएको छ । दुवै पार्टीका एकथरी नेताहरु उत्साहित छन् । फुटेकै कारण घाटा लागेको बुझेर एमाले र समाजवादीका धेरै नेता कार्यकर्ता पछुताउन थालेका छन्। 

कांग्रेस र माओवादीको फेर समातेर एमालेभन्दा धेरै ठाउँमा जितिन्छ भन्ने समाजवादीलाई अहम थियो । गठबन्धनलाई एकसाथ पछारेर पहिलो हुन्छु भन्ने एमालेलाई घमण्ड थियो । अनि एमालेको यति सिट पनि आउँदैन, सेरोफेरो सबै आफ्नै हो भन्ने गठबन्धनका दुई दल कांग्रेस र माओवादीलाई दम्भ थियो । तर कांग्रेस र माओवादीका नेता उत्साहित भए पनि चुनावी परिणाम समग्रमा उनीहरुले भनेजस्तो भएन ।

यो पालिको पालिका चुनाव जसरी पनि एमालेलाई हराउने सत्तागठबन्धन र गठबन्धनलाई देखाइदिने एमालेबीचको प्रतिष्ठाको लडाइँ थियो । यो लडाइँमा कसको कतिसम्म हार र कतिसम्म जित भयो भन्ने त छर्लङ्ग भइसकेको छ । न गठबन्धनले चाहे बमोजिम एमालेको पत्तासाफ गर्न सक्योे, न एमालेले सोचेजस्तो गठबन्धन किलोको ढकमा मात्रै सीमित भयो । चुनावको झट्का सबैभन्दा बढी एमाले र एमालेबाट छुट्टिएर बनेका एकीकृत समाजवादीलाई लागेको कुरा अब कसैबाट छिपेको छैन ।  

एमालेको नाफा/नोक्सान

२०७४ सालको चुनावमा सबै पदमा सबैभन्दा बढी जितेर तीन वर्ष सत्तामा राइँदाइँ गरेको एमाले यसपटक दोस्रो भएको छ । पहिलेका किल्ला र गढ भत्किएका छन् । अघिल्लो चुनावमा ६ महानगरमध्ये दुई जितेको एमाले यसपालि महानगरबाट विस्थापित भएको छ । पहिले ११ उपमहानगरमध्ये आठवटा जितेकोमा अहिले छ वटा गुमाएर दुई उपमहानगरमा खुम्चिन पुगेको छ । एमालेका नेता कार्यकर्ता उपमेयरमा पहिलेकोभन्दा राम्रो स्थान ल्याएको भनेर हारले रोएको मन बुझाउने प्रयास मात्रै गरिरहेका छन् ।   

मतदानको दिनसम्म एमाले अध्यक्ष केपी शर्मा ओली र अरु नेताहरुलाई आफ्नै पार्टी पहिलो हुन्छ भन्ने भ्रम थियो । एमालेलाई लागेको थियो माओवादी कमजोर भएकाले कांग्रेससँग प्रचण्ड र माधव नेपाल मिले पनि त्यसले एमालेलाई चुनावमा खासै असर पर्दैन । माधव नेपालले पार्टी फुटाए पनि पहिले वामदेवको मालेजस्तै हालत हुन्छ र एमाले पहिलो दल नै कायम रहन्छ भन्ने थियो । माधव नेपालतिर गएकाभन्दा धेरै कार्यकर्ता माओवादी केन्द्रबाट एमालेमा आएका र अरु दलबाट एमालेमा प्रवेश गर्ने लहर चलेकोले आफ्नो पार्टी पहिलो हुन्छ भन्ने एमाले नेताहरुलाई लागेको थियो । पाँच दलीय गठबन्धनप्रति नागरिकमा वितृष्णा र केपी ओलीप्रति आकर्षण ह्वात्तै बढेकाले यसबाट फाइदा हुन्छ भन्ने एमालेका धेरै नेताहरुको हिसाब थियो । नयाँ थपिएका ३५ लाख मतदाताले केपी ओलीलाई हेरेर एमालेलाई मत खसाल्छन र मधेसमा एमालेको आकर्षण बढेकाले मत पनि बढ्छ भन्ने एमालेको आकलन थियो । तर नेता कार्यकर्ताको अनुमान र हरहिसाबले फेल खायो । धेरै ठाउँमा गठबन्धनको कारण र केही ठाउँमा पार्टीभित्रैको अन्तरविरोधले एमाले पहिलोबाट दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भएको छ । 

तर गठबन्धनले सोचेजस्तै एमाले पत्तासाफ भएन । धेरै गाउँ र नगरपालिकामा गठबन्धनका उम्मेदवारलाई पराजित गरेर एमाले एक्लैले जित्यो । मधेसमा एमालेको स्थान पहिलेको भन्दा सुधार भयो । नतिजाले एमाले पत्तासाफ हुने शक्ति होइन भन्ने र गठबन्धनलाई पछार्न एमाले एक्लै काफी छ भन्ने दुवै दाबीलाई असत्य प्रमाणित गरेको छ । जितेको सिट सङ्ख्या घटे पनि एमालेको जनमत पुरानै अवस्थाको हाराहारीमा देखिएको छ । सत्तारुढ दलले गठबन्धन नगरेर एक्लाएक्लै उठेको भए फेरि पनि एमाले नै पहिलो दल हुन्थ्यो भन्ने त छर्लङ्ग भइसकेको छ । 

कांग्रेस र माओवादीको जितमा गठबन्धनका अरु दलको हिस्सा कति ?  

मत परिणाम सार्वजनिक हुँदै गर्दा अरु पार्टीकाले पनि भने, शेरबहादुर देउवा राजनीतिका सबैभन्दा चलाख नेता रहेछन्, गठबन्धन नगरेको भए कांग्रेसको हालत के हुन्थ्यो ? शेखर कोइराला, गगन थापा लगायतका नेताहरुले एक्लाएक्लै चुनावमा जानुपर्छ भनेर दबाब दिए पनि देउवाकै जोडबलमा गठबन्धन भएको थियो । स्थानीयस्तरमा गठबन्धनको विरोधमा धेरैले बागी उम्मेदवारी दिए । तर, नेतृत्वको दबाब र धम्कीपछि केहीले उम्मेदवारी फिर्ता लिए । उम्मेदवारी फिर्ता नलिएका कतिपय ठाउँमा अन्तिममा बागी उम्मेदवारले आफू पछि हटेको जानकारी गराए । भरतपुर महानगर र अरु केही ठाउँबाहेक प्राय सबै बागी अन्तिम समयमा पछि हटे । सबै पालिकामा गठबन्धन पनि भएन । एक तिहाइ ठाउँमा मात्रै गठबन्धन भएको कांग्रेस र माओवादी नेताहरुका दाबी छ । तर, गठबन्धन थोरै ठाउँमा भए पनि गठबन्धनको मनोवैज्ञानिक असर भने सबै पालिकामा देखियो । गठबन्धन भएकै ठाउँमा कांग्रेस र माओवादीका उम्मेदवार धेरै विजयी भएका छन् । गठबन्धन नभएका गोरखा लगायतका केही ठाउँमा माओवादी एक्लैले जितेको छ । केही पालिकामा कांग्रेस र एमाले, एमाले र माओवादी तथा एमालेले अरु साना दलसँग तालमेल पनि गरेको छ । तर यस्ता केही अपवादलाई छाड्ने हो भने यसपालिको चुनाव एमाले र गठबन्धनबीचकै लडाइँ हो र गठबन्धन गरेकै कारण कांग्रेस पहिलो दल भएको हो । कांग्रेसलाई उसका नेता, कार्यकर्ताले मात्रै हैन, माओवादीदेखि जनमोर्चासम्मले मिलिजुली जिताएका हुन् । 

तर गठबन्धनभित्रबाट भएको जितलाई पनि कांग्रेस, माओवादी र गठबन्धनका अरु दलले आफ्नो पार्टीको मात्रै जित भनेर हिसाब गर्दैछन् । प्राविधिक रुपमा गठबन्धनका उम्मेदवारको जित सम्बन्धित पार्टीको भए पनि जितको वास्तविकताभित्र अरु दलको हिस्सा निकै ठूलो छ । अर्थात गठबन्धनबाट चुनाव लडेका कांग्रेस, माओवादी या एकीकृत समाजवादीले जितेका पदाधिकारीको सङ्ख्या पार्टीको नाममा गनिए पनि मतमा चाहिँ गठबन्धनका सबै दलको योगदान छ । त्यसो हुँदा पहिलो भएको कांग्रेस एक्लैले सङ्ख्या बढाएको होइन । तर जे होस्, समग्रमा यो चुनावबाट कांग्रेस पहिलो र माओवादी तेस्रो निर्णायक शक्तिमा स्थापित भएका छन् । 

वैकल्पिक शक्तिको ठाउँमा स्वतन्त्र हाबी

यसअघिको चुनावमा मधेसवादी, राजावादीसँगै विवेकशील लगायतका वैकल्पिक शक्ति निर्णायक मानिएका थिए । कांग्रेस, एमाले र माओवादीलाई उनीहरुले टक्कर पनि दिएका थिए । तर यसपटक केही पालिकामा मात्रै उनीहरु निर्णायक देखिए । उनीहरुभन्दा जेलभित्र बसेर राजनीतिक गरिरहेका रेशम चौधरी र स्वतन्त्र मधेसको अभियान छाडेर राजनीतिको मूल प्रवाहमा आएका सीके राउतले राम्रो स्थान ल्याएका छन् । विवेकशील साझाको ठाउँमा स्वतन्त्र उम्मेदवार वैकल्पिक शक्तिमा उदाए । काठमाण्डौमा बालेन साहले अप्रत्याशित रुपमा मुख्य लेन समातेका छन् । धरानमा हर्क साम्पाङ र धनगढीमा गोपी हमालले विजय पताका फहराएका छन् । धनुषामा स्वतन्त्र उम्मेदवारले मूलधारका दलहरुलाई कडा टक्करसँगै चुनौती दिएका छन् । अनि धेरै पालिकामा बागी उम्मेदवारी दिएर निर्वाचित भएका जनप्रतिनिधिले दलहरुभित्रको नातावाद, अवसरवाद, कृपावाद र परिवारवादको प्रवृत्ति सुधार नगरे आउँदो चुनाव दल र वरिष्ठ नेताहरुको हातबाट फुस्केर युवाहरुको आवेगमा पुग्ने स्पष्ट सक्छ भन्ने सन्देश दिएका छन् । 

गठबन्धनको भविष्य 

चुनावी गठबन्धनको सबैभन्दा बढी फाइदा कांग्रेस र माओवादी केन्द्रलाई भएपछि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी नतिजाबाट असन्तुष्ट देखिएको छ । एक्लै चुनावमा गएको भए अहिलेको नतिजा कति फरक हुने थियो भन्ने हरहिसाब नगरि, नेकपा एसका नेताहरु केही ठाउँमा कांग्रेस र माओवादीले धोका दिएको निष्कर्षमा पुगेका छन् । हेटौँडा उपमहानगरपालिकाको जितेर पोखरा महानगरपालिका पनि जित्ने देखेपछि माधव नेपालको मनमा केही राहत पलाए पनि सुरुवाती नतिजामा नेपालले चर्को असन्तुष्टि पोखेका थिए । गठबन्धनभित्र समीक्षा हुनुपर्छ भन्ने नेपालको अभिव्यक्तिले अब गठबन्धनको भविष्य कस्तो हुन्छ भन्ने विश्लेषण सुरु भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र कांग्रेसका केही नेताहरुले सङ्घीय र प्रदेश चुनावमा पनि गठबन्धनले निरन्तरता पाउने बताएका छन् । तर एकीकृत समाजवादीका नेताहरुले खुलेर यसबारे केही बताएका छैनन् । बरु, एमाले र एसका युवा नेताहरु फेरि पार्टी एकता नामक भ्यागुताको धार्नी पुर्याउने गफ गर्न थालेका छन् । 

जे होस् यो चुनावले सबैभन्दा बढी फाइदा कांग्रेस र माओवादीलाई अनि सबैभन्दा बढी घाटा एमालेलाई भएको छ । गठबन्धन नभएको भए एमाले पहिलो दल हुनेथियो । अनि एक्लै लडेको भए एकीकृत समाजवादी अहिलेको तुलनामा धेरै पछि पर्थ्याे । अनि गठबन्धनमा सबै दल इमानदार भएका भए माओवादीको अवस्था अझै सुधार हुन्थ्यो र एकीकृत समाजवादीले अहिलेको भन्दा बढी ठाउँमा जित हात पार्थ्याे । गठबन्धन हुँदा पनि कांग्रेसलाई जस्तो फाइदा अरुलाई भएन । सबै ठाउँको नतिजा सार्वजनिक भएपछि दलहरुबीच हुने चुनावी समीक्षा र रणनीतिले गठबन्धनको बन्धन अझै कसिलो हुन्छ या फुस्कन्छ भन्ने निर्धारण त गर्ने नै छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया