ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
सुनसरी – पालिका चुनावमा धरान उपमहानगरपालिकाको मेयरमा एक्ला स्वतन्त्र उम्मेदवार हर्क राई (साम्पाङ) विजयी हुनुभयो । वडामा दलका उम्मेदवारलाई समर्थन गरे पनि उपमहानगरको मेयरमा भने धरानवासीले स्वतन्त्र उम्मेदवारलाई रुचाएका हुन् । साम्पाङले ठूला पार्टीलाई पछि पार्दै उपमहानगरको मेयरमा विजयी हुनुभएको हो ।
साम्पाङ उपमहानगरको मेयरमा विजयी भएपछि स्थानीयवासीले राजनीतिक दलप्रतिको ‘वितृष्णा’ उजागार गरेको चर्चा यत्रतत्र हुन थालेको छ । धरानमा एउटा सामान्य नागरिकले इतिहाससमेत बनाउनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई चार हजार सात सय ६२ मतान्तरले पराजित गर्नुभएको हो । साम्पाङले २० हजार आठ सय २१ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी राईले १६ हजार ६९ मत प्राप्त गर्नुभयो ।
यस्तै निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको अन्तिम मत परिणामअनुसार उपमहानगरको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारीले १२ हजार आठ सय २५ मत मात्र प्राप्त गर्नुभयो ।
सामाजिक अभियन्ताका रूपमा दरिनुभएका साम्पाङले धरानमा भएको खानेपानी समस्या, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको बेथितिबारे एक्लै आवाज उठाउँदै आउनुभएको थियो । उहाँले मेयरमा उम्मेदवारी दिने भएपछि उपमहानगरमा भइरहेको बेथितिबारे एक्लै भाषणमार्फत सन्देश फैलाउँदै घरदैलो गर्नुभएको थियो । एक्लै भए पनि उहाँले धरानको विकासमा खेल्नुपर्ने भूमिकाबारे बताउँदै आएपछि धरानका स्थानीयवासीले यसपालि उहाँलाई लोकप्रिय मत दिएर जिताएका हुन् । यसअघि साम्पाङले २०७६ को उपचुनावमा पनि मेयरमा उम्मेदवारी दिँदा जम्मा चार सय ४२ मत प्राप्त गर्नुभएको थियो ।
को हुन हर्क साम्पाङ ?
हर्क साम्पाङ खोटाङको खार्ताम्छाबाट धरान झरेर राजनीतिशास्त्र र समाजशास्त्र पढ्दै गायनमा सङ्घर्षरत व्यक्ति हुनुहुन्छ । विसं २०३९ साल फागुन १५ गते खोटाङको खार्ताम्छामा जन्मनुभएका साम्पाङ त्यहीको शुक्रबारे माविबाट प्रवेशिका उत्तीर्ण गरी २०५६ सालतिर उच्च शिक्षा अध्ययन गर्न धरान झर्नुभएको थियो । उहाँले महेन्द्र बहुमुखी क्याम्पस धरानबाट राजनीति र समाजशास्त्रमा स्नातक गर्नुभएको छ ।
अध्ययनकै क्रममा उहाँले धरानमा रहेको एक शिक्षण संस्थामा अङ्ग्रेजी भाषा प्रशिक्षकका रूपमा पनि काम गर्नुभयो । त्यसको केही समयपछि विदेशिनुभएका साम्पाङ अफगानिस्तान र इराकमा गरी ६ वर्ष बसेर देशमै केही गर्नुपर्छ भनेर उहाँ सामाजिक काममा लाग्नुभयो ।
अहिले उपमहानगरको मेयरमा लोकप्रिय मत ल्याएर विजय हासिल गर्नुभएका साम्पाङ सामाजिक अभियानमा समेत निरन्तर लाग्दै आउनुभएको थियो । तर चर्चा भने कम नै थियो । उहाँले धरानको धनकुटे मार्ग भएर जाने एक सय पाँच मिटर चौडाइको मदन भण्डारी राजमार्गअन्तर्गत स्थानीयवासीको घरजग्गा जोगाउने अभियानबाट सुरुवात गर्नुभयो । सडक विस्तारका नाममा स्थानीयवासीलाई सुकुम्वासी बनाउन नहुने कुरा उठाएपछि साम्पाङको परिचय फैलँदै गयो ।
सन् २०१२ मा धरान खानेपानी आयोजना सम्झौता भइ काम सुरु भएर पानी वितरण त भए पनि समस्या भने ज्युँकात्युँ रह्यो । अहिले पनि धरानमा खानेपानी अभाव छ । साम्पाङले पहिलो पटक हिम्मतका साथ आयोजनाप्रति प्रश्न गर्न थाल्नुभयो । खानेपानीमा केही राजनीतिक चलखेल भएको जनाउँदै उहाँ एक्लै सडकमा निस्कनुभयो । यस विषयमा बिस्तारै अन्यले पनि साथ दिँदै गए ।
धरानको खानेपानी आयोजना, वीपी प्रतिष्ठानको भ्रष्टाचार र बेथिति र महँगीविरुद्ध उहाँले आवाज बुलन्द पार्दै जानुभयो । उहाँको अभियानलाई धरानका स्थानीयवासीले साथ दिन थालेपछि निरन्तर खबरदारीमा लागि रहनुभयो । ‘सतिसाल’ झैँ नागरिकका सानातिना समस्यामा उहाँ आवाज उठाइरहँदा आज अरूको साथ नपाए पनि धरानका स्थानीयवासीको पूर्ण साथ पाउनुभएको छ ।
जनताको सेवा गर्न चुनिएका राजनीतिक दलका जनप्रतिनिधि गम्भीर नहुँदा स्थानीयवासीमा असन्तुष्टि चुलिएको उहाँको बुझाइ छ । त्यही असन्तुष्टिका कारण आफूले लोकप्रिय मत पाएको उहाँ बताउनुहुन्छ । ‘यो चुनावमा न मेरो कुनै सङ्गठन थियो र छ, न म कुनै सेलेब्रिटी वा धनाढ्य हुँ । तर मैले जनताको समस्या सार्वजनिकरूपमा उठाएकाले स्थानीयवासीले मलाई विश्वास गर्नुभयो । उहाँहरूप्रति धेरै कृतज्ञ छु’, नवनिर्वाचित साम्पाङले भन्नुभयो ।
विसं २०७४ को पालिका चुनावमा उहाँ केवल मतदाता भएर मैदानमा हुनुहुन्थ्यो । २०७६ को उपचुनावमा भने उहाँ तिनै मुद्दा लिएर एक्लैको निर्णयले स्वतन्त्र उम्मेदवार बन्नुभएको थियो । भ्रष्टाचारमुक्त समाज र पारदर्शी शासन उहाँको मान्यता रहेको छ ।
उहाँ धरानको खानेपानीको व्यवस्थापन आफ्नो पहिलो जिम्मेवारी भएको बताउनुहुन्छ । ‘धरानका सबैलाई खानेपानी व्यवस्था गरेपछि मात्र मेरो जित हुन्छ’, उहाँले भन्नुभयो ।
अभियन्ता साम्पाङ
धरानका स्थानीयवासीका अनुसार ३९ वर्षका हर्क साम्पाङ एक दशकदेखि धरानका सडकमा कहिले एक्लै त कहिले सानो समूह लिएर प्ले कार्ड, ब्यानर, पर्चा लिएर सधैँ भेटिइरहने सामाजिक अभियन्ता हुनुहुन्छ । उहाँको सर्दु जलाधार क्षेत्र संरक्षण अभियान पनि योगदान रहेको बताइन्छ । सर्दु जलाधर क्षेत्रमा मुआब्जा पाइसकेका स्थानीयवासीले केही व्यक्तिसँग मिलेर फेरि जमिन हडप्ने र बेचबिखन गर्ने गरेपछि कृष्णनारायण पालिखे नेतृत्वको जनसरोकार मञ्चले अभियान चलाइरहेको थियो । साम्पाङ पनि त्यसमा जोडिनु भइ त्यही मुद्दा बोकेर हिँड्ने क्रममा कृष्णनारायण पालिखेको मृत्यु भएपछि त्यस अभियानको काम साम्पाङले सम्हाल्नुभएको थियो ।
एकपछि अर्को सामाजिक अभियान सञ्चालनमा ल्याउनुएका साम्पाङलाई स्थानीयवासीले यस पटक जनमत दिने मौका पाए । दलप्रति स्थानीयवासीले पटकपटक गरेको विश्वास र अपेक्षा पूरा नभएका कारण आक्रोशपूर्ण अभिव्यक्ति मतमार्फत व्यक्त गरेको धेरैको विश्लेषण छ ।
‘धरानका नागरिकले आधारभूत आवश्यकताका लागि सङ्घर्ष गरिरहेका सामाजिक अभियन्ता स्वतन्त्र उम्मेदवार हर्कराज राईलाई विजयी गराउनुभयो, यो सुखद विषय हो’, मेहन्द्र बहुमुखी क्याम्पसका उपप्रध्यापक राजेश विद्राहीले भन्नुभयो । महानगर उपमेयरमा भने माओवादीका अइन्द्रविक्रम बेघाले जित हासिल गर्नुभएको छ ।
धरानमा विसं २०७६ पछि एमाले पछि पर्यो
वामपन्थी गढका रूपमा चिनिएको धरान उपमहानगरमा नेकपा एमालेका लागि ठूलो प्रतिष्ठाको विषय थियो । विसं २०४८ देखि वामपन्थीले जित्दै आएको धरान एमालेको ‘लालकिल्ला’ का रुपमा चिनिएको थियो । तर पछिल्लो समय लालकिल्ला तोडिँदै आएको छ ।
पालिकाको उपचुनावमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले एमालेको लालकिल्ला भत्काउनुभयो । नेकपा (माओवादी केन्द्र) र एमाले एक भएको बेला १६ हजार मतान्तर हुँदा राईले वामपन्थी उम्मेदवार प्रकाश राईलाई हराएर एमालेलाई पछाडि पार्नुभएको हो ।
ठूलो सङ्घर्ष गरेर पाएको विरासत जोगाउन कांग्रेसले फेरि गठबन्धनका घटक माओवादी, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र जनमोर्चाका साथमा उम्मेदवारी दिए पनि एउटा समान्य नागरिक जो धरानका लागि सपना बोकेर एक्लै हिँडिरहनुभएको थियो, हर्क साम्पाङले जित हासिल गर्नुभयो ।
धरानको राजनीतिक इतिहासलाई फर्केर हेर्दा विसं २०१७ मा नगरपालिका घोषणा भएसँगै वामपन्थीले लगातार प्रमुखमा जित हासिल गर्दै आएको थियो ।
विसं २०४६ को जनआन्दोलनपछि तत्कालीन संवैधानिक राजतन्त्रको पालामा विसं २०४८ र २०५४ मा भएका चुनावमा समेत एमालेले विजयी हासिल गर्दै आएको थियो । विसं २०४८ मा ध्यानबहादुर राई, २०५४ मा मनोज मेन्याङ्बोले प्रमुखमा जित हासिल गर्नुभएको थियो । विसं २०७४ को पालिका चुनावमा एमालेका तारा सुब्बाले उपमहानगरको नेतृत्व गर्नुभयो ।
विसं २०७६ को उपचुनावमा तिलक राईले नेकपाका उम्मेदवार प्रकाश राईलाई हराउँदा तिलकले २६ हजार सात सय नौ मत प्राप्त गर्नुभयो भने प्रकाश राईले २३ हजार नौ सय १४ मत पाउनुभएको थियो ।
धरानको कुल मतदाता एक लाख तीन सय २४ रहेकामा यस पटकको चुनावमा ६२ हजार जनाले मतदान गरे । यस पटक ठूला दलका उम्मेदवारलाई पाखा लगाउँदै हर्क साम्पाङले लोकप्रिय मत पाउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।