पोखराको पर्यटन प्रवर्द्धन गर्न 'डुलुवा' समूह एक महिने भारत यात्रामा

 जेठ २२, २०७९ आइतबार १७:५०:३२ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – पोखराको पर्यटन प्रवर्द्धन गर्न युवाहरूको 'डुलुवा' समूह एक महिने भारत यात्रामा निस्केको छ । यस अगाडि नेपालका विभिन्न ठाउँमा पुग्ने गरेको समूह पहिलो पटक विदेशमा पर्यटन प्रवर्द्धन गर्न निस्केको हो । पोखरा पर्यटन व्यवसायीमा संलग्न रहेका १९ जना युवा प्रवर्द्धनका लागि भारतका विभिन्न सहर हुँदै लद्दाखसम्मको यात्रामा निस्केका हुन् ।   

पोखरासहित नेपालका प्रमुख पर्यटकीय गन्तव्यकाे प्रवर्द्धन गर्दै टोलीले नेपालको महेन्द्रनगर, भारतको अमृतसर, कश्मीर, कार्गिल, लद्दाख, मनाली, सिम्ला, देहरादून, नैनीताल, हलपुर हुँदै बुटलबाट फर्किने टोली प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयाे । 

यात्रा गर्दा फरक संस्कार–संस्कृतिको अध्ययन गर्ने, एकअर्काका ठाउँका बारेमा जानकारी आदानप्रदान गर्न आफूहरू सफल हुने उहाँकाे भनाइ छ । घुम्ने संस्कृतिको विकासका लागि यात्रा तय गरेको बताउँदै भट्टराईले पहिले देश अनि विदेश भन्ने उद्देश्यसहित टोलीले नेपालका ७० जिल्लाको यात्रा गरिसकेकाे बताउनुभयाे ।   

बिदाइ कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले सुरक्षालाई ध्यानमा राख्दै यात्रा गर्न शुभकामना दिनुभयाे । भारतकाे लामो यात्रा गर्दा पोखरा र नेपालको पर्यटनकाे ठूलो विज्ञापन हुने उहाँले बताउनुभयाे । पोखरा साहसिक गतिविधिको सहर भएकाले भ्रमण टाेलीले भारतका विभिन्न सहरमा त्यसकाे प्रवर्द्धन गर्ने उहाँकाे भनाइ छ । 

भारतीय पेन्सन क्याम्प पोखराका लेफ्टिनेन्ट कर्णेल शशाङ्क त्रिपाठीले भ्रमणले भारत र नेपालको मैत्री सम्बन्धमा अझ राम्रो बनाउने बताउनुभयाे । भ्रमण टाेलीले भारतका प्रसिद्ध र परम्परागत, ऐतिहासिक सांस्कृतिक महत्त्वका स्थानको छनोट गरेकोमा खुसी व्यक्त गर्नुभयाे । 

नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी सदस्य गणेशबहादुर भट्टराईले घुमघाम संस्कृतिले पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयाे । आफूले झन्डै १५ वर्ष पहिले नै त्यस क्षेत्रको भ्रमण गरेको उहाँले सुनाउनुभयाे । पोखराको फेवातालदेखि भारतको प्याङ्गन तालसम्म जान पाउनु एउटा अविस्मरणीय यात्रा हुने उहाँले बताउनुभयाे । 

भ्रमण टाेलीलाई नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद् लगायतको प्रवर्द्धनात्मक सहयोग रहेकाे छ । 'राइड एन्ड ग्लाइड' नामकरण गरिएको यात्राको टोलीमा नौ जना प्याराग्लाइडिङ पाइलटसमेत रहेका समूहका सदस्य विकास भट्टराईले जानकारी दिनुभयाे । सन् २००८ देखि 'डुलुवा' नाम जुराएर घुमघाम गर्दै आएको उहाँले बताउनुभयाे । समूहले पर्यटन प्रवर्द्धनसँगै आवश्यकता हेरेर विद्यार्थीहरूलाई न्यानो कपडा, स्कुलका सामग्री र खेल सामग्री वितरण गर्दै आएको बताए ।

टोली प्रमुख योगेश भट्टराईलाई भारतीय पेन्सन क्याम्प पोखराका लेफ्टिनेन्ट कर्णेल शशाङ्क त्रिपाठीले भारतको र पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले नेपालकाे झण्डाे हस्तान्तरण गर्दै बिदाइ गर्नुभएकाे थियाे । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया