बालबालिकालाई लगाइने खोपको प्रभावकारिता ९१ प्रतिशत

 असार ३, २०७९ शुक्रबार २०:०:१९ | रासस
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डौ – पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकालाई लगाइने कोरोना भाइरसविरुद्धको खोपको प्रभावकारिता नेपालमा ९१ प्रतिशत रहेको छ । 

स्वास्थ्य सेवा विभाग र नेपाल स्वास्थ्य पत्रकार मञ्चले आज शुक्रवार आयोजना गरेको कोभिड–१९ विरुद्धको भ्याक्सिन प्रवर्द्धन तथा रोकथाम नियन्त्रण सम्बन्धी अन्तरक्रियामा परिवार कल्याण महाशाखाका जनस्वास्थ्य अधिकृत सञ्जय महासेठले खोपको प्रभावकारिता ९१ प्रतिशत र सुरक्षित रहेको बताउनुभयो । 

सरकारले यही असार ९ गतेदेखि पाँचदेखि १२ वर्षमुनिका ३९ लाख बालबालिकालाई कोरोना भाइरसविरुद्धको फाइजर बायोएनटेक खोप लगाउन थालेको हो । विभागले खोप विद्यालयमा नै गएर लगाउने भएको छ । उहाँले खोप लगाउनका लागि खोप केन्द्रमा एक तालिम प्राप्त स्वास्थ्यकर्मी राख्ने जानकारी दिनुभयो । 

उहाँले खोप लगाएमा बालबालिका केही असर देखिने भएकाले खोप केन्द्रमा नै उपचारको व्यवस्था गरिएको बताउनुभयो । खोप लगाएपछि टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, सुइ लगाएको ठाउँ रातो हुने, शरीर चिलाउने, बिमिरा तथा डाबर आउनेजस्ता समस्या हुने गर्दछन् । 

२७ जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म पहिलो मात्रा र त्यही समूहलाई साउन २ देखि ८ गतेसम्म दोस्रो मात्राको खोप दिइनेछ । 

यस्तै दोस्रो चरण ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र त्यही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिने छ । 

पाँच वर्षदेखि १२ वर्षमुनिका उमेरका विद्यालयले तयार गरेको कक्षागत सूची, नामावली, विद्यालयले उपलब्ध गराएको परिचयपत्रका आधारमा खोप लगाइने छ । यस्तै विद्यालयमा सूचीकृत नभएका बालबालिकाको हकमा उमेर खुल्ने परिचयपत्र वा निजको अभिभावकले स्वःघोषणा गरेको उमेर पुगेका बालबालिकालाई खोप लगाइनेछ । 

विभागका महानिर्देशक दीपेन्द्ररमण सिंहले खोप सुरक्षित र प्रभावकारिता रहेकाले सबै अभिभावकलाई आफ्ना बालबालिकालाई खोप लगाउन आग्रह गर्नुभयो । 

खोप एक पालिकालाई एकै चरणमा सम्पन्न गर्ने गरिने छ । खोप केन्द्र तोकिएका विद्यालय र अभियानको अन्तिम दिन सबै स्वास्थ्य संस्थामा खोप लगाइनेछ । 

परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लाल विद्यालयबाहिर रहेका बालबालिकालाई पनि खोजी खोजी खोप लगाइने बताउनुहुन्छ ।  

खोप सरकारलाई कोभ्याक्सले निःशुल्क उपलब्ध गराएको हो । 

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा. भक्त केसीले खोपले बालबालिकाको रोग प्रतिरोधात्मक क्षमताको विकास गर्ने बताउनुभयो ।  

खोप केन्द्रमा कम्तीमा एक जना खोप दिने स्वास्थ्यकर्मी र थप लक्षित सङ्ख्याको आधारमा स्वास्थ्यकर्मी तथा दुई जना स्वयंसेवक र प्रति दुई सय थप लक्षित सङ्ख्याका लागि थप एक जना स्वयंसेवक परिचालन गरिने छ । 

पहिलो चरणमा २७ जिल्लाका बालबालिकालाई खोप लगाइनेछ । प्रदेश–१ को  झापा, इलाम, सुनसरी, मोरङ, मधेश प्रदेशको सप्तरी, सिराहा, धनुषा, महोत्तरी र पर्सा, बाग्मती प्रदेशको  मकवानपुर, सिन्धुली, चितवन, काभ्रेपलान्चोक, काठमाण्डौ, भक्तपुर, र ललितपुरका विद्यालयका बालबालिकालाई खोप लगाइनेछ ।  

गण्डकी प्रदेशको कास्की र नवलपरासी पूर्व, लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रूपन्देही, दाङ, बाँके र बर्दिया, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र डडेल्धुरामा खोप लगाइनेछ । 

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया