अमेरिका भ्रमण औपचारिक रूपमा तय भएपछि जानकारी गराउनेछु : प्रधानमन्त्री देउवा

 असार ५, २०७९ आइतबार १६:४३:४३ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा हुने भनिएको आफ्नो अमेरिकाको भ्रमण औपचारिक रूपमा तय भएपछि संसद्लाई जानकारी गराउने बताउनुभएको छ ।

उहाँले आज आइतवार नेपाली कांग्रेस सचेतक पुष्पा भुसालसँगको भेटमा भ्रमण तय भएपछि सदन वा संसदीय समितिमा आएर औपचारिक रूपमा जानकारी गराउने बताउनुभएकाे हो । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भ्रमणका सम्बन्धमा जानकारी लिन प्रधानमन्त्री देउवालाई समिति बैठकमा बोलाएको सन्दर्भमा समिति सदस्यसमेत रहनुभएका सचेतक भुसालले आज उहाँसँग भेट गर्नुभएको थियो । 

समितिको यसअघिको बैठकमा परराष्ट्र मन्त्री डा. नारायण खड्काले प्रधानमन्त्रीको अमेरिका भ्रमणका सम्बन्धमा प्रारम्भिक छलफल भएको तर अन्तिम टुङ्गो लागिनसकेको स्पष्ट पार्नुभएको थियो । समितिले नेपालको परराष्ट्र नीति कार्यान्वयन र प्रधानमन्त्रीको भ्रमणका सम्बन्धमा छलफल गर्न आज बैठक बोलाएको थियो । प्रधानमन्त्री देउवा आफ्नो कार्यव्यस्तताका कारण बैठकमा उपस्थित हुन नसक्नुभएको बुझिएको छ । 

बैठकले प्रधानमन्त्रीको भ्रमणको कार्यसूचीबारे छलफल र जानकारीका लागि प्रधानमन्त्री/रक्षामन्त्रीलाई आउँदाे बैठकमा पुनः आमन्त्रण गर्ने निर्णय गरेको समिति सभापति पवित्रा निरौलाले जानकारी दिनुभयो । साथै बैठकले समितिको प्रतिवेदन २०७९ आवश्यक परिमार्जनसमिति पारित गरेको छ । 

बैठकमा बोल्ने धेरैजसाे समिति सदस्यले अमेरिकाको स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सन् २०१९ पछि अमेरिकाकै 'इन्डाे प्यासिफिक रणनीति' मा आबद्ध भएको प्रतिवेदनमा उल्लेख भएपछि नेपाल त्यसबाट फिर्ता हुन नेपाल सरकारले पत्र लेख्नुपर्ने सुझाव दिएका थिए । 

अन्तिम अपडेट: कात्तिक २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया