खाडीमा कार्यरत नेपाली घरेलु महिला कामदारमध्ये ९० प्रतिशत अवैधानिक बाटोबाट

 असार ५, २०७९ आइतबार १७:५५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – घरेलु कामदारको रुपमा वैदेशिक रोजगारीमा जानेमध्ये अधिकांश नेपाली महिला अवैधानिक बाटोबाट गएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

वैदेशिक रोजगारीमा जाने घरेलु महिला कामदारको विषयमा सरोकारवालाहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रममा मन्त्रालयका सहसचिव राजिव पोखरेलले यसबारे जानकारी दिनुभएको हो । ८० देखि ९० प्रतिशत घरेलु महिला कामदार अवैधानिक बाटोबाट गएको उहाँले बताउनुभयो । यस्तै घरेलु कामदारमा गएका महिलाहरुको एकीन तथ्याँक सरकारसँग नभए पनि खाडी  देशमा ३ देखि ४ लाखको बीचमा घरेलु महिला कामदार रहेको पनि उहाँको भनाइ छ ।

आज दिउँसो भएको कार्यक्रमा सरोकारवाला विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले घरेलु कामदारको समस्यालाई समाधान गर्न अन्तरमन्त्रालयबीच गहिरो समन्वय हुनुपर्ने बताउनुभयो । परराष्ट्र मन्त्रालयले यसमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने उहाँको भनाइ थियो । 

यस्तै आप्रवासी महिला कामदार समूह आमकासकी अध्यक्ष विजया राई श्रेष्ठले घरेलु महिला कामदारको लागि शैक्षिक योग्यता तोक्न नहुने बताउनुभयो । शैक्षिक योग्यताको मापदण्डले गन्तव्य देशको भाषा जानेको, सबै कुरा राम्रोसँग बुझेका महिलाहरुलाई शैक्षिक योग्यताले रोक्न नमिल्ने उहाँको भनाइ थियो ।

यस्तै आप्रवासी महिला कामदारकै हकहितमा संलग्न संस्था पौरखी नेपालकी रणनीतिक सहल्लाहकार मञ्जू गुरुङले घरेलु महिला कामदारको मूल्यांकन तथा सम्मान नभएको र यौन हिंसाका दृष्टिकोणले हेरिने गरेको भन्दै यसलाई सम्मानजनक र सुरक्षित बनाउनुपर्ने बताउनुभयो । यस्तै कार्यक्रममा वैदेशिक रोजगारीसँग आबद्ध विभिन्न संस्थाका प्रतिनिधिहरुले आ आफ्नो धारणा पेस गर्नुभयो ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया