बैशाखको तुलनामा जेठमा वैदेशिक रोजगारीमा जानेकाे सङ्ख्या १७ हजारले बढी

 असार १२, २०७९ आइतबार १८:६:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पछिल्लो समय वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै गएको विभागको तथ्यांकले देखाएको छ । वैदेशिक रोजगार विभागका अनुसार गएको जेठमा बैशाखको तुलनामा जेठमा १७ हजार ३४४ बढी श्रमिक वैदेशिक रोजगारीमा गएका छन् ।

जेठमा पुनः श्रम स्वीकृति सहित ६२ हजार ३४९ जना वैदेशिक रोजगारीमा गए । जसमध्ये चार हजार पाँच सय ६९ महिला र बाँकी पुरुष रहेका छन् । यस्तै गएको बैशाखमा वैदेशिक रोजगारीमा जानेहरु जेठको तुलनामा कम थिए । बैशाखमा ४५ हजार पाँच जनाले वैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

जेठमा वैदेशिक रोजगारीमा जानेमध्ये सबैभन्दा धेरैले कतारको लागि अन्तिम श्रम स्वीकृति लिएका छन् । कतार जान ८ सय ११ महिलासहि १५ हजार ५६ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । बैशाखमा ११ हजार ४१७ जनाले कतार जान अन्तिम श्रम स्वीकृति लिएका थिए ।

यस्तै जेठ महिनामै कतारपछि साउदी, यूएई र मलेसिया जानको लागि श्रम स्वीकृति लिनेको संख्या धेरै छ । साउदीको लागि १२ हजार ७०१, यूएई ११ हजार १६७ र मलेसिया ९ हजार ६४९ जनाले अन्तिम श्रम स्वीकृति लिएको विभागको तथ्यांकले जनाएको छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया