बक्सिङका गणेश भट्टराईलाई 'लाइफटाइम अचिभमेन्ट अवार्ड'

 असार १४, २०७९ मंगलबार २०:३४:७ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बक्सिङका अग्रज खेलाडी गणेशबहादुर भट्टराईलाई 'लाइफटाइम अचिभमेन्ट अवार्ड' बाट सम्मान गर्ने भएको छ ।

यही असार १८ गते शनिवार दिउँसो ३ बजे पोखरा सभागृह हलमा मञ्चले आयोजना गर्ने छैटौँ पोखरा स्पोट्र्स अवार्ड २०७८ को अवसरमा भट्टराईलाई अवार्ड प्रदान गरिने छ । भट्टराईलाई लाइफटाइम अचिभमेन्ट अवार्डका साथमा चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिनुभयाे । 

यसअघि मञ्चले यहाँका अग्रज खेलाडीहरू प्रा. डा. वीरेन्द्रसिंह गुरुङ, कृष्णबहादुर थापा, खड्गबहादुर रानाभाट, चित्रबहादुर गुरुङ र आनन्द रञ्जितलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिसकेको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीनानाथ बरालले छैटौँ पोखरा स्पोट्र्स अवार्ड २०७८ को तयारी अन्तिम चरणमा पुगिसकेको जनाउनुभएकाे छ । 
पोखरा स्पोर्टस् अर्वाड अन्तर्गत वर्ष खेलाडी पुरुष र महिलाले इलेक्ट्रिक स्कुटर र ट्रफी पुरस्कार स्वरूप प्राप्त गर्नेछन् । वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद सङ्घ, उत्कृष्ट खेल पत्रकारलाई नगद ३५ हजार रुपैयाँकाे साथमा ट्रफी प्रदान गरिनेछ ।

पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रमलाई गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका लगायत निजी संस्थाले सहयोग गरेका छन्  ।

अवार्ड कार्यक्रमलाई भव्य बनाउन विभिन्न समिति तथा उपसमिति बनाएर कामलाई तीव्रता दिइएको छ । मञ्चले २०७२ सालदेखि पोखरामा स्पोर्ट्स अवार्ड कार्यक्रम गर्दै आएको छ । 

काे हुन् भट्टराई ?

पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी भट्टराई सन् १९९० मा पाकिस्तानमा भएको चौथो दक्षिण एसियाली खेलकुदमा सिल्भर मेडलिस्ट हुनुहुन्छ । भट्टराई सन् १९८९, १९९० र १९९१ मा लगातार बक्सिङमा राष्ट्रिय च्याम्पियन हुनुभयाे । सन् १९८७ मा पहिलो पटक जुनियर राष्ट्रिय प्रतियोगितामा सहभागी हुनुभएका भट्टराईले पहिलो सहभागितामै जुनियर च्याम्पियन बन्नुभयाे । सन् १९८८ मा पनि जुनियर राष्ट्रिय च्याम्पियनशिपमा उहाँले गोल्ड मेडल जित्नुभयाे । त्यही वर्ष सिनियरतर्फ उहाँ चौथो हुनुभयाे । त्यसको एक वर्षपछि राष्ट्रिय च्याम्पियन बन्नुभयाे । भट्टराई सन् १९९० मा बैंकक र १९९१ मा पाकिस्तानमा ६–६ महिना प्रशिक्षणका लागि पुग्नुभएकाे थियाे । 

राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलहरूमा सहभागिता जनाउँदै गर्दा उहाँको दाहिने हात भाँच्चियो । त्यसपछि खेलाडीको रूपमा उहाँले विश्राम लिए पनि व्यवस्थापकीय पक्ष सम्हाल्न थाल्नुभयाे । सन् १९९८ मा नेपालमै भएको सागमा दुई स्वर्ण, पाँच रजत र दुई कास्य पदक नेपालले जित्दा उहाँ टिम म्यानेजर हुनुहुन्थ्याे । 

फुटबलमा समेत संलग्न भट्टराई एन्फाको केन्द्रीय सदस्य हुँदै उपमहासचिव बन्नुभयाे । भट्टराईले भूतपूर्व खेलाडी मञ्चका उपाध्यक्ष, नेपाल बक्सिङ सङ्घका उपाध्यक्ष, जोय फाउन्डेशनका संस्थापक सदस्य, रेबान पोखराको अध्यक्ष, पोखरा उपमहानगरपालिकाको आठ महिनासम्म उपमेयरको जिम्मेवारीसमेत सम्हालिसक्नुभएकाे छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया