नेकपा एमालेद्वारा गण्डकी प्रदेशका मुख्यमन्त्रीकाे राजीनामा माग

 असार १५, २०७९ बुधबार ११:३३:२० | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की - नेकपा एमाले संसदीय दलले गण्डकी प्रदेशका मुख्यमन्त्रीकाे राजीनामा माग गरेकाे छ । आज पत्रकार सम्मेलन गर्दै बजेटमाथि निकास दिन नसकेको भन्दै एमालेले मुख्यमन्त्री  कृष्णचन्द्र नेपाली पोखरेलकाे राजीनामा मागेको हो।

नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले भन्नुभयाे, ‘सरकारले राजीनामा दिनुपर्छ । नीति तथा कार्यक्रम टेबुल गर्दा मन्त्री नै अनुपस्थित थिए । त्यसको कारण के हो ? सरकारले त्यही दिन मार्ग प्रशस्त गर्नुपर्थ्यो ।’ नेता गुरुङले कार्यपालिका र व्यवस्थापिकाको अन्तर पनि सरकारले बुझ्न नसकेकाे बताउनु भयाे । 

कांग्रेस र माओवादीबीचको विवादले बजेटमाथिकाे छलफल रोक्न नमिल्ने उहाँको भनाइ छ । ‘मुख्यमन्त्रीले संसद् रोक्न मिल्दैन । दलको विवाद मुख्यमन्त्रीको समस्या हो, संसद्को होइन,’ उहाँले भन्नुभयाे ‘कि मुख्यमन्त्रीले अर्थमन्त्री हटाउन सक्नुपर्छ । कि मुख्यमन्त्री आफैँले राजीनामा दिनुपर्छ ।’

निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमलाई बजेटमा समावेश गर्नुपर्ने उहाँको भनाइ छ । मुख्य मन्त्री पोखरेलले बजेटमा चुनावी क्षेत्र पूर्वाधार कार्यक्रम समावेश गर्न निर्देशन दिनु भएकाे थियाे । तर, अर्थ मन्त्री रामजीप्रसाद बराल जीवनले त्याे कार्यक्रम बजेटमा समावेश नगरेपछि विवाद सुरु भएको हो ।

विवाद भएपछि गण्डकी प्रदेश सरकारले बजेटमाथि छलफल नगरि अनिश्चितकालका लागि संसद् स्थगन गरेको छ । गण्डकी सरकारले असार १ गते ३५ अर्ब ९० करोड रुपैयाँकाे बजेट ल्याएको थियो।

अन्तिम अपडेट: चैत ११, २०८०

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया