राेपाइँ महाेत्सवमा पर्यटक पनि रमाए (तस्बिरहरू)

 असार १५, २०७९ बुधबार १७:३१:११ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – पोखरामा १७ औँ असारे रोपाइँ महोत्सव सम्पन्न भएको छ । विदेशी पर्यटकसँगै आन्तरिक पर्यटकलाई लक्षित गरेर आज बुधवार पोखरा पर्यटन परिषद्को आयोजनामा ‘पोखरा सबै मौसमका लागि’ भन्ने मूल नाराका साथ १७ औँ असारे रोपाइँ महोत्सव भएको हो । पोखराको माईस्थानमा १० रोपनी खेतमा भएको महोत्सव किसानसहित पर्यटन व्यवसायीले उत्साहित भएर मनाएका थिए । 

महोत्सवमा विभिन्न किसिमका प्रतियोगितासमेत आयोजना गरिएको थियो । महोत्सवमा विदेशी पर्यटकले पनि नेपाली पर्यटकसँगै रमाइलो गर्दै हिलो छ्यापाछ्याप गरेका थिए । खेतीयोग्य जमिनको संरक्षण, कृषिलाई व्यवसायीकरण गर्दै किसानलाई आफ्नो पेसाप्रति अभिप्रेरित गर्नु तथा परम्परागत कृषि प्रणालीमार्फत पोखराको पर्यटन प्रवद्र्धन गर्ने मूल उद्देश्यका साथ २०६१ सालदेखि परिषद्ले असारे रोपाइँ महोत्सवको आयोजना सुरु भएको थियो ।

पोखरा पर्यटन परिषद्का उपाध्यक्ष एवम् रोपाइँ महोत्सवका संयोजक पोमनारायण श्रेष्ठले नेपाल सबै मौसममा भ्रमण गर्न उपयुक्त छ भन्ने सन्देश दिन महोत्सवलाई निरन्तरता दिइएको बताउनुभयो । उहाँले सहरमा बस्ने नयाँ पुस्तालाई खेती प्रणालीका बारेमा जानकारी दिन पनि महोत्सव फलदायी भएको बताउनुभयो । महोत्सवमा झन्डै दुई सय विदेशको सहभागिता रहेको उहाँको भनाइ छ । 

स्थानीय किसान विष्णुप्रसाद तिमिल्सिनाले धान रोपाइँ सुरु भए पनि सरकारले किसानलाई समयमै मल, बिउको व्यवस्था गर्न नसकेको गुनासो गर्नुभयो । 

महोत्सवमा साउने प्रतियोगिता, आमा समूहबीच असारे गीत तथा रोपाइँ प्रतियोगिता, हिलोमा माछा समात्नेसहित दौड प्रतियोगिता भएका थिए । पछिल्लो समय बढ्दो प्लटिङसँगै कङ्क्रिट सहरका कारण महोत्सव स्थलसमेत पाउन मुस्किल हुन थालेको छ । धेरैजसो मानिस हिलोमा छिरेर टिकटिक बनाउनदेखि सेल्फी खिच्न व्यस्त देखिन्थे । महोत्सवस्थलमा रमाइलो भइरहँदा नजिकैका खेतमा भने किसानले काम गरिरहेका थिए । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया