पाँचदलीय गठबन्धन संविधानको कार्यान्वयनका लागि : गृहमन्त्री खाँण

 असार १८, २०७९ शनिबार १६:५:९ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र वैदेशिक सम्बन्ध सन्तुलनका  लागि भएको बताउनुभएको छ ।

उहाँले वर्तमान सरकारले निर्वाचनमा भाग नलिएका दललाई समेत लोकतान्त्रिक धारमा ल्याउन सरकारले प्रयत्न गरिरहेको जानकारी दिनुभयोे । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ ले आज बुटवलमा आयोजना गरेको पालिका तहका नवनिर्वाचित जनप्रतिनिधिको सम्मानमा गृहमन्त्री खाँणले नेपाल कुनै पनि अन्तर्राष्ट्रिय सैन्य गतिविधिमा सहभागी नहुने  पनि प्रष्ट पार्नुभयो ।

सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडकमा पर्ने सिद्धबाबा क्षेत्रको सडक दुरावस्थाका कारण हजारौँ यात्रुले सास्ती भोग्नुपरेको र सयौँले ज्यानसमेत गुमाएकाले त्यसलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण आगामी आर्थिक वर्षदेखि अगाडि बढाइने र  पूर्वपश्चिम राजमार्गको दाउन्नेमा पनि सुरुङमार्ग निर्माणको काम सुरु हुने उहाँले जानकारी दिनुभयो । 

पालिका तहको चुनावले कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाएको र आगामी प्रतिनिधिसभा  तथा प्रदेशसभाको निर्वाचनमा पनि पार्टीलाई ठूलो र बलियो बनाउने गरी काम गर्न नेता कार्यकर्तालाई मन्त्री खाँणले आग्रह गर्नुभयो नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पालिका तहमा निर्वाचित जनप्रतिनिधिलाई घोषणापत्र र पार्टीको निर्देशनअनुसार काम गर्न आग्रह गर्नुभयो । कार्यक्रममा रुपन्देही क्षेत्र नं २ अन्तर्गत बुटवल उपमहानगरपालिका, तिलोत्तमा र सैनामैनाका जनप्रतिनिधिलाई सम्मान गरिएको थियो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया