बिहानैदेखि सेवाग्राही आउँदा भीड भयो, आवेदन फारममा तोकिएको समयमा मात्र आउनुहोस् : विभाग

 असार १९, २०७९ आइतबार १७:३५:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राहदानी विभागले आवेदन फारममा उल्लेख भएको मिति र समयमा मात्र विभागमा आउन अनुरोध गरेको छ ।

अनलाइनबाट आवेदन दिँदा नै विभागमा उपस्थित हुने मिति र समय प्राप्त हुने भए पनि सेवाग्राही बिहानैदेखि विभागमा आउँदा धेरै भिड भएको भन्दै आवेदन फारममा उल्लेख भएको मिति र समयमा मात्र उपस्थित हुन एक सूचना जारी गर्दै विभागले अनुरोध गरेको हो । 

विभागले भनेको छ ‘सबै सेवाग्राही बिहान एकै पटक आउँदा विभागमा उल्लेख्य भीड हुने भएकाले आवेदन फारममा उल्लेख भएको मितिमा पनि तोकिएको समयमा मात्र विभागमा आउनुहुन अनुरोध छ । ’

विद्युतीय राहदानीको लागि अनलाइनबाटै प्री–इनरोलेमन्ट गर्नु पर्ने र प्री–इनरोलमेन्ट गर्दा नै मिति र समय तोकिन्छ । तर दिउँसोको ३ बजेको समय भए पनि अहिले राहदानी बनाउनेहरू बिहानैदेखि कार्यालय पुग्दा लामो समय कुर्न पर्ने र भिडभाड हुने गरेको विभागले जनाएको छ । यदि फारम भर्दा दिउँसोको ३ बजेको समय दिएको छ भने बिहान ७ बजे नै विभागमा उपस्थित भए पनि ३ नबज्दासम्म पालो आउँदैन ।

यस्तै, राहदानी विभागले अत्यावश्यकबाहेकका अवस्थामा राहदानी बनाउन काठमाण्डौ नआउनसमेत अनुरोध गरेको छ । लाइभ इनरोलमेन्ट हुने र जिल्ला प्रशासन कार्यालयहरूबाट आवेदन भएका राहदानी नजिकको जिल्लाहरुमा एक हप्तामै प्रिन्ट गरी पठाउने व्यवस्था भएको विभागले जनाएको छ ।

‘काठमाण्डौ उपत्यकाभित्रका जिल्ला र काभ्रेमा आवेदन गर्नेहरूले १ हप्ता भित्रमा र अन्य जिल्लाको हकमा १० देखि १५ दिन भित्र राहदानी प्राप्त गर्ने सुनिश्चितता मिलाइएको छ’ विभागले सूचनामा भनेको छ ‘अत्यन्त जरुरी परेका सेवाग्राहीहरूले राहदानी विभागमा आवेदन गर्नुहुन र अन्य कम जरुरी हुनेले आफ्नो सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाटै सहज रूपमा राहदानी प्राप्त गर्न सकिने हुँदा आफ्नो जिल्ला प्रशासन कार्यालयबाटै सेवा लिनु हुन अनुरोध छ ।’

विभागका अनुसार पछिल्लो ३ महिनादेखि राहदानी विभाग काठमाण्डौबाट राहदानी लिनेको सङ्ख्या उल्लेख्य रूपमा बढिरहेको छ । 

पछिल्लो समय देशका सबै जिल्ला प्रशासन कार्यालयहरूबाट र १७ वटा इलाका प्रशासन कार्यालयहरूबाट समेत नियमित रूपमा राहदानीको आवेदन दिन सकिन्छ । 

तर पछिल्लो समय विभागमा धेरै भीड हुने गरेको विभागको ठहर छ । राहदानी तयार भएपछि लिन आउनेको सङ्ख्या र अन्य इमर्जेन्सी कार्यको लागि गरी दैनिक ५ हजारभन्दा बढी सेवाग्राहीहरूलाई सेवा दिइरहेको विभागले सूचनामा उल्लेख गरेको छ । 

विभागबाट प्रत्येक दिन २४ सय जनाले अनलाइनबाट आवेदन फाराम (प्री–इनरोलमेन्ट) गर्न सक्नेछन् । फाराम भरिसकेपछि १ देखि ४ दिनभित्र विभागमा राहदानीको फाराम बुझाउन सक्ने र विभागमा गएर आवेदन दिएको २ कार्य दिनमा राहदानी प्राप्त गर्ने व्यवस्था छ ।

विभागले आइतबारदेखि बिहीबारसम्म प्रत्येक दिन दिउँसोको ४ बजेर ३० मिनेटमा अनलाइन आवेदनको टोकन खुलाउँछ । यही समयमा अनलाइनबाट राहदानीका लागि प्री–इनरोलमेन्ट गर्न सकिन्छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया