मार्चमा झन्डै १ लाख जना पर्यटक नेपाल आए, पोहोरभन्दा दाेब्बरले ...
चैत १९, २०७९ आइतबार
काँ जान्छै पानी ए..
उँदउँदै बर्खामा उँदै
काँ जान्छै पानी ए ।
नेताका कमीले..
ढाई बिघा जिमिन बगाइ लग्यो,
नेताका कमीले ।।
आकाशमा मडारिएको कालो बादल । धमिलो पानीसँगै छेवैमा बग्दैछ जोगबुडा नदी । त्यही किनारमा गीतको भाकामा आफ्ना बेदना पोख्दै हुनुहुन्थ्यो डम्मरी वली ।
खेतमा अरु रोपारहरु पनि छन् । आली लगाउँदै गर्नुभएकी वलीको गीतको भाकामा पीडा मात्रै छैन्, सरकार र नेताहरुप्रति गुनासा पनि छन् । तर त्यसलाई व्यक्त गर्ने शब्द छैन । अढाई बिघा जमिन आँखा अगाडि नदीमा बिलिन भएको त्यो पीडाले अहिले पनि उहाँलाई पछ्याइरहेको छ ।
विगत २५ वर्षदेखि बसोबास गर्दै आउनु भएकी वलीका धेरै आफन्त तथा छिमेकी जोगबुडा नदीको बाढी र कटानले विस्थापित भइसके । कतिपयले त्यही नदीका कारण आफन्त गुमाए । कतिका सपनाहरु जोगबुडा नदीमा बिलाएर गए ।
मनसुन भित्रिएसँगै कटान सुरु
मनसुन सुरु भएसँगै कञ्चनपुरमा नदी तथा खोलानाला छेउछाउमा कटान हुन थालेको छ । बाढी तथा कटानको उच्च जोखिममा रहेको दोधाराचाँदनीमा महाकाली तथा जोगबुडा नदीले कटान सुरु गरेको हो । यस्तै जिल्लाका अन्य पालिकाहरु शुक्लाफाँटा, कृष्णपुर, र लालझाडीमा पनि नदीले कटान सुरु गरेको छ । डुबान र कटानको समस्या वर्षौँदेखि भए पनि त्यसको दीर्घकालीन समाधान नखोजिएको भन्दै स्थानीय चिन्तित बनेका छन् ।
जोखिममा दोधाराचाँदनी
दोधाराचाँदनी नगरपालिका १० मा पर्ने १८ नम्बर पिल्लर बस्ती अहिले कटानको उच्च जोखिममा छ । नेपाल भारत सीमासँग जोडिएको यो बस्ती झण्डै ४० वर्षअघि बसेको हो । त्यतिबेला यहाँ एक सयभन्दा बढी घर थिए । तर अहिले ६ घर मात्रै बाँकी छन् । भएका परिवारहरुलाई पनि कहिले विस्थापित भइन्छ भन्ने चिन्ताले सताइरहेको छ ।
सरकारले आफूहरुको समस्या नहेरेकाले बर्सेनि नदीले जमिन कटान गर्ने गरेको स्थानीय डम्मरी वली बताउनुहुन्छ । ‘हामी यहाँ बसेको २५ वर्ष भइसक्यो’ वलीले भन्नुभयो ‘राम्रो नेता नपाएरै होला अढाई बिघा जमिन यही नदीले लगिसक्यो ।’
वलीको मात्रै होइन, महेश सिंहको पीडा पनि उस्तै छ । जोगबुडा नदी पारिको यो बस्ती हरेक वर्ष कटानको चपेटामा पर्ने गर्छ । तर त्यसको दीर्घकालीन समाधानका लागि कसैको ध्यान जान सकेको छैन । जसले गर्दा यहाँका बासिन्दालाई देशमा तीन तहको सरकार भए पनि त्यसको महसुस हुन सकेको छैन ।
‘जमिन त धेरै थियो । तर के गर्नु नदीले बर्सेनि कटान गर्छ,’ सिंहले भन्नुभयो ‘तर त्यसको दीर्घकालीन समाधानका लागि कसैले चासो देखाएको छैन ।’
मनसुन सुरु भएपछि तटबन्ध निर्माण
मनसुन भित्रिएसँगै नदीले कटान सुरु गरेपछि स्थानीय सरकारले जैविक तटबन्ध निर्माणका लागि काम अगाडि बढाएको छ ।
दोधराचाँदनी नगरपालिका तथा वडा कार्यालयले जैविक तटबन्ध निर्माणका लागि उपभोक्ता समिति मार्फत काम गरिरहेका छन् । तर नदीमा पानीको सतह बढी सकेकाले तत्कालका लागि तटबन्ध निर्माणको काम रोकिएको छ । स्थानीय सरकारले पनि असार लागेपछि मात्रै तटबन्ध निर्माणका लागि चासो देखाएको स्थानीयको आरोप छ ।
‘नदीको कटान यहाँको पुरानो समस्या हो । यसको लागि त समयमै तटबन्ध निर्माण गर्नुपर्ने हो,’ वलीले भन्नुभयो ‘अहिले आएर वडा र नगरपालिकाले बाँस दिएको छ । यो पानीमा कसरी काम गर्नु ?’
पक्की तटबन्धको माग
जैविक तटबन्धले नदीको कटान रोक्न नसक्ने भन्दै दीर्घकालीन समाधानका लागि पक्की तटबन्ध गर्नुपर्ने स्थानीय बासिन्दाले माग गरेका छन् । ‘यो जैविक तटबन्धले कटान रोक्न सक्दैन । त्यसैले अब यसको दीर्घकालीन समाधान खोज्नुपर्छ’, स्थानीय महेश सिंहले भन्नुभयो ‘पक्की तटबन्ध नभएसम्म कटानलाई रोक्न सक्ने अवस्था छैन ।’
दोधाराचाँदनी नगरपालिकाका उपप्रमुख गङ्गादेवी जोशी भने विपद् व्यवस्थापनका लागि वडा तथा पालिकामा सबैखालको संयन्त्र तयार भइसकेको बताउनुहुन्छ ।