पश्चिमी वायुको सामान्य प्रभाव : कोशी र गण्डकी प्रदेशका पहाडी ए...
मंसिर ९, २०८१ आइतबार
गर्मी महिना भन्ने बित्तिकै विभिन्न किसिमका सङ्क्रामक रोगहरु देखिने गर्छ । यस्तोमा कीटजन्य रोग, किराहरुले टोक्ने, सर्पले टोक्ने आदि हुनेगर्छ । यसो हेर्दा गर्मी महिना जलचरदेखि विश्वमा देखिने अन्य जीवका लागि पनि सङ्क्रमण फैलाउन उपयुक्त समय हो कि जस्तो लाग्छ ।
यस्तो समयमा पानीजन्य, खानाजन्य अनि लामखुट्टे आदिबाट हुने सङ्क्रमण पनि बढ्ने गर्छ । वास्तवमा गर्मी महिना सरुवा रोग, किराहरुको टोकाइ आदिबाट जहिले पनि सामना गर्नुपर्ने समयका रुपमा देखिन्छ । जसमा हैजा, झाडापखाला, डेङ्गी, टाइफाइड, सर्पदंश अनि अहिले देखिएको नाइरोबी फ्लाइ रहेका छन् ।
कोरोना भाइरसजन्य सङ्क्रमण भए पनि यो अहिले पनि सकियो भनेर ढुक्कले सुत्न सकिने अवस्था छैन । अहिले कोरोना सङ्क्रमण पनि बढीरहेको छ । के हुन् त यी सङ्क्रमणहरु र यसबाट जोगिने उपाय ।
कोरोनाबाट सतर्क हुनुस् तर नआत्तिनुस्
पहिला कोरोना सङ्क्रमणको कुरा गरौँ । कोरोनाको बारेमा कुरा गर्दा मैले आफ्नो धारणा अलि फरक ढङ्गले राख्ने गरेको छु । त्यो भनेको सङ्क्रमण हुनु र सङ्क्रमण भएर अस्पताल जानु । यसलाई फरक ढङ्गले हेर्नुपर्ने हुन्छ । जस्तो जाडो महिनामा एक पटक सबै जना सङ्क्रमित हुन्छन् । रुघाखोकी, स्याँकसुँक त हुन्छ नै । यसमा कार्यालयलगायत अन्य ठाउँम पनि एकजना सङ्क्रमित हुँदा सबैलाई हुन्छ ।
अर्को भनेको दोस्रो लहर वा त्योभन्दा अगाडिको अवस्था र अहिले वा पछि देखिने अवस्था । यसलाई जहिले पनि फरक ढङ्गले हेर्नुपर्ने हुन्छ । तर, विदेशी सञ्चार माध्यममा त्यो ढङ्गले हेर्ने गरिँदैन । र नेपालमा पनि त्यसरी हेर्ने गरिँदैन । नेपालमा पनि सङ्क्रमण बढ्यो भन्ने ढङ्गमा मात्र हेरिन्छ ।
केही दिनदेखि कोरोना सङ्क्रमण बढेको देखिन्छ । तर, यसमा पनि अहिले हामीले हेर्नुपर्ने भनेको दोस्रो लहर वा त्यो भन्दा अगाडिको अवस्था हो । खोप पनि सहज रुपमा उपलब्ध थिएन । त्यस बेला एउटा मात्र देखियो भन्दा तहल्का नै मच्चिन्थ्यो । हाम्रो कुनै उपाय पनि थिएन । त्यो बेलामा उपचारको पनि अनुभव थिएन र अनुसन्धानको नतिजा मात्र निरन्तर आइरहने समय थियो ।
अहिले भनेको जनसङ्ख्याको ७० प्रतिशतले खोप लगाइसकेको र कतिले त बुस्टर पनि लगाइसकेको अवस्था हो । लक्षण देखिएर वा नदेखिएर धेरै पटक सङ्क्रमित भइसकेको हुनुपर्छ । अहिलेको सङ्ख्या हेर्दा र परीक्षण गर्यो भने साङ्केतिक रुपमा अर्को लहरको सङ्केत होला भनेर भन्न सकिएला ।
तर, जसरी दोस्रो लहर वा जति जति ग्राफ बढ्दै जान्थ्यो त्यो बेलामा अस्पताल भर्ना हुनेको सङ्ख्या पनि बढ्दै जान्थ्यो । अहिले भने ग्राफ बढ्दै गए पनि अस्पताल जानेको सङ्ख्या भने त्यस्तो नहोला । यो कुरा मैले ओमिक्रोनको समयदेखि नै भन्दै आएको हुँ । यसले पहिले जस्तो स्वास्थ्य प्रणाली नै ध्वस्त भएर त्यो अवस्थामा पुग्ला भन्ने सम्भावना मैले धेरै कम देखेको छु ।
कोरोना पूर्णरुपमा अन्त्य नभइसकेको हुनाले मास्क लगाउन बन्द नगरौँ । मास्क कोरोनाको लागि मात्र नभएर नेपालको सन्दर्भमा बाटोमा जताततै धुलो धुवाँ तथा प्रदूषणबाट जोगिनका लागि आवश्यक छ । खोकीको माध्यमबाट सर्ने टीबी जस्ता रोग र हावाबाट फैलिने अन्य सरुवा रोगबाट जोगिनका लागि पनि मास्क लगाउँ भन्न चाहन्छु ।
हैजालाई सामान्य रुपमा नलिउँ
हैजा हाम्रा लागि नौलो होइन । विगतमा धेरै पटक हैजा महामारीको रुपमा आइसकेको छ । मेरो २० वर्षको अनुभवमा काठमाण्डौमा हरेक वर्ष हैजा देखिने गरेको छ । हैजा र झाडापखाला एकै हो भनेर पनि सोध्ने गरिन्छ । झाडापखाला भनेको लक्षण हो भने हैजा भनेको रोग हो । हैजा जस्तो अरु रोगका कारण पनि झाडापखाला लाग्छ । अरु रोगको नाम नलिएर हैजा अर्थात कलेराको चाहिँ हामी नाम लिएरै भन्छौँ ।
विश्वमा तथा नेपालमा पनि यसले महामारीको रुप लिएको हुनाले हामी यसको नाम नै लिएर उच्चारण गर्ने गर्छौँ । भिब्रिया कलेरा नामक ब्याक्टेरियाका कारण हैजाको सङ्क्रमण हुने गर्छ । सङ्क्रमण भएका १० जनामध्ये १/२ जनालाई एकदम कडा हैजा हुन्छ । जसमा चौलानी पानी जस्तो पखाला तारन्तार हुने गर्छ । जसका कारण केही घण्टामा मान्छेको ज्यान पनि जान सक्छ । त्यसकारण हैजाको विषयमा नेपालमा मात्र नभएर विदेशमा समेत चासो रहन्छ । कारण यहाँबाट कोही मानिस विदेश गयो र उसका कारण फैलियो भने रोक्नै नसकिने महामारीको रुप लिन्छ भन्ने डर हुन्छ ।
हैजा सबै ठाउँमा छ । तर, काठमाण्डौमा अव्यवस्थित बसोबास, ढल तथा खानेपानीको उचित प्रबन्ध नभएका कारण हैजाको प्रकोप बढी हुने सम्भावना छ । तर, स्वास्थ्य सेवामा पहुँच भएका कारण मृत्यु हुने सम्भावना काठमाण्डौमा कम हुन्छ भने गाउँघरमा धेरै हुन्छ । गएको वर्ष नवलपरासीमा ९ सय हाराहारीलाई झाडापखाला लागेको थियो भने ४ जनाको ज्यान गएकाे थियाे । जसमा ३ जना १० वर्षमुनिका बालबालिका थिए ।
पानी उमाल्ने वा कीटनाशकको प्रयोग गर्ने साथै व्यक्तिगत सरसफाइमा पनि विशेषगरी हात धोएर मात्रै खाने गर्नाले हैजाबाट बच्न सकिन्छ ।
नाइरोबी फ्लाइ
नाइरोबी फ्लाइ न्यानो ठाउँमा हुने अध्ययन अनुसन्धानले देखाएको छ । यो देश विशेषमा सीमित नभएर न्यानो ठाउँमा हुन्छ भनेर हामीले बुझ्नुपर्छ । यो खास नौलो नभए पनि अहिले सामाजिक सञ्जालको प्रयोग व्यापक भएका कारण पनि यसमा चासो भएको हो ।
हाम्रोमा वातावरण न्यानो खालको छ । यसले यो सङ्क्रमण पहिलेदेखि थियो भन्ने जनाउँछ भने विशेषज्ञले पनि पहिलेदेखि थियो भन्ने भन्नुभएको छ । सामान्य चिलायो भने जँचाउन त कोही जाँदैनन् । तर, नाइरोबी फ्लाइ रङ्गीन खालको किरा भएकाले मान्छे डराएर अनि यो के खालको किरा हो भनेर जिज्ञासाका कारण पनि चर्चामा छ ।
यदि नाइरोबी फ्लाइ शरीरमा बसिहाल्यो भने त्यसलाई मार्ने वा थिच्ने गर्नु भएन । यो अहिलेको प्रचारले सिकाएको कुरा हो । नत्र यदि लुगामा भए हामीले छोएर खसाल्थ्यौँ होला त्यसले जनै खटिरा जस्तो फोका आउँथ्यो । त्यसले केही समस्या हुन्थ्यो । तर, अहिलेको प्रचारले त्यसबाट जोगिन मद्दत पुगेको छ ।
यो कोरोनाको जस्तो महामारी अनि ज्यान नै जाने खालको सङ्क्रमण होइन । यसलाई यदि शरीरको कुनै भागमा बसेको छ भने खसाल्ने अनि बसेको ठाउँमा साबुन पानीले धोएको खण्डमा यसबाट हुने असरबाट जोगिन सकिन्छ ।
कीटजन्य रोगबाट सुरक्षित रहौँ
तत्काल पानीजन्य र खानेकुराबाट फैलने सङ्क्रमण तथा किराको टोकाइबाट बचौँ । अब भनेको कीटजन्य रोगहरु देखिने बेला हो । हुन त स्क्रब टाइफस पनि कीटजन्य रोग अन्तर्गत पर्छ । यो असार, साउनतिर उच्च हुन्छ ।
अर्को भनेको लामखुट्टेबाट सर्ने डेङ्गी । यो काठमाण्डौमा प्रशस्त मात्रामा देखिने गर्छ । गएको वर्ष पनि कालोपुलतिर फैलिएको मलाई याद छ । यसले जति जति आफ्नो स्वरुप फेर्छ यो त्यति नै जटिल हुने गर्छ ।
यसबाट बच्ने भनेको लामखुट्टेको टोकाइबाट बच्ने हो । त्यो भनेको लामखुट्टे बस्ने वातावरण सिर्जना नगर्नु हो । त्यसो भनेको हाम्रो वरिपरि पानी जम्ने वातावरण नबनाउनु हो । त्यसका लागि फालेका ड्रम र टायरमा ध्यान दिनुपर्छ ।
सर्पदंशको घटना पनि बढेको छ । तराईतिरको हकमा भने केही मिनेटमै उपचार नपाउँदा मृत्यु पनि हुनसक्छ । पहाडमा यदि सर्पले टोकेको खण्डमा एउटा फोन नम्बर र उपचार हुने ठाउँ थाहा पाइराख्नुपर्छ । यो अस्पताल र ऊ अस्पतालभन्दा भन्दै बिरामीको ज्यान जाने अवस्था अवस्था पनि हुनसक्छ । त्यसकारण उपचार कहाँ कुन अस्पतालले गर्छ थाहा पाइराख्नुपर्छ ।
खानपान, सरसफाइ र स्वास्थ्यमा ध्यान दिने हो भने रोगको सङ्क्रमण तथा किराको टोकाइबाट बच्न सकिन्छ ।
(सङ्क्रामक रोग विशेषज्ञ डाक्टर पुनसँगकाे कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
डाक्टर पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकाे क्लिनिकल रिसर्च युनिटका संयाेजक हुनुहुन्छ ।