११ महिनामा ९ खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो, विदेश जाने बढेकाे बढ्यै

 असार २७, २०७९ सोमबार १७:१२:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – चालु आर्थिक वर्षको ११ महिनामा नाै खर्ब चार अर्ब रुपैयाँ विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ । 

गएको साउनदेखि जेठसम्म नाै खर्ब चार अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । यो अघिल्लो आर्थिक वर्षको ११ महिनाको तुलनामा ३ दशमलव ८ प्रतिशतले धेरै हो । तर रेमिट्यान्सको वृद्धिदर भने कम भएको छ । अघिल्लो वर्षको ११ महिनामा रेमिट्यान्स १२ दशमलव ६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स १ दशमलव ५ प्रतिशतले वृद्धि भइ सात अर्ब ५१ करोड डलर पुगेको छ । 

यस्तै ११ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भइ तीन लाख १३ हजार तीन सय ६७ जना पुगेको छ । अघिल्लो वर्षको ११ महिनामा यस्तो सङ्ख्या ६८ प्रतिशतले घटेको थियो । 

त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या २ सय ८ प्रतिशतले वृद्धि भइ दुई लाख ५९ हजार ९१ जना पुगेको छ । अघिल्लो वर्षको ११ महिनामा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ५२ प्रतिशतले घटेको थियो । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया