‘मलेसियामा रोजगारीको आकर्षण बढ्दै, कतार र साउदीबाट भने माग केही घट्यो’

 असार ३०, २०७९ बिहिबार १३:१३:१६ | बेदानन्द जाेशी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ – खाडीका देश र मलेसिया नेपालीहरुको प्रमुख श्रम गन्तव्य देश हुन् ।  तर कोरोना महामारीले यी देशको अर्थतन्त्रलाई पनि असर गर्दा केही समय नेपालीको रोजगारी पनि प्रभावित भयो । कोरोना महामारीको असर कम भएसँगै यी देशबाट नेपालीका लागि रोजगारीको अवसर पनि आइरहेको छ । तर कोरोना महामारी कम भएको पहिलो ६ महिना गन्तव्य देशहरुले त्यति धेरै विदेशी श्रमिक लिएनन् । पछिल्लो समय भने मलेसिया तथा खाडीका देशबाट राम्रै माग आइरहेको छ । खाडी र मलेसियामा रोजगारीको अवसरबारे बुझ्न हामीले नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमलप्रसाद ढकाल र मलेसियामा रहेको नेपाली दूतावासका श्रम काउन्सेलर दीपक ढकालसँग कुराकानी गरेका छौं । 

मलेसियाको रोजगारी आकर्षक बन्दै गएको छ : दीपक ढकाल

नेपाल सरकारले सन् २०१८ को अक्टोबरमा मलेसिया सरकारसँग श्रमिक पठाउने विषयमा समझदारी पत्रमा हस्ताक्षर  गर्यौँ । त्योभन्दा केही समय अगाडि र पछाडि गरि त्यहाँको रोजगारी लामो समयसम्म बन्द भयो । त्यो पछि पनि केही समयको लागि मागपत्र प्रमाणीकरणको काम खुलेकोमा कोरोनाको कारण मलेसियाले विदेशी श्रमिक नलिने नीति लिएका कारण बन्द रहेको थियो । गएको फेब्रुअरी महिनादेखि मलेसिया सरकारले विदेशी श्रमिक ल्याउन सहज नीति अबलम्बन गरेसँगै नेपाली दूतावासमा मलेसियामा रहेका रोजगारदाता कम्पनीले मागपत्रहरु पेस गर्न थालेका छन् । यसबीचमा नेपाली श्रमिकको माग अत्यन्त उच्च रहेको हामीले महसुस गरेका छौँ । किनभने आजका दिनसम्म पनि हामीले दुई हजारभन्दा बढी माग प्रमाणीकरण गरेको अवस्था छ । हामीले यसपालि अनलाइनबाट उहाँहरुको अपोइन्टमेन्ट लिने जुन व्यवस्था गरेका छौँ त्यो हेर्दा पनि यो माग अझै बढ्दै जाने देखिएको छ ।

मलेसियामा विगतमा पनि म्यानुफ्याक्चरिङ क्षेत्रमा रोजगारी उच्च रहने गरेको थियो । ७० प्रतिशत यस क्षेत्रमा कामको माग छ । यस्तै त्यसपछि सेवा क्षेत्र जस्तै, सेक्युरिटी, क्लिनिङ आदिमा २० प्रतिशत माग रहेको देखिन्छ । त्यो बाहेक प्लान्टेसन, कन्स्ट्रक्सनको क्षेत्रमा पनि श्रमिकहरु आउने गरेका छन् ।

२०१८ मा मलेसिया सरकारसँग गरेको समझदारीको मर्म भनेकै कुनै पनि रोजगारदाता कम्पनीले नेपालबाट श्रमिक लाँदा शून्य लागतमा लिने भन्ने हो । श्रमिकको भर्ना गर्दा जति पनि खर्च हुन्छ त्यो रोजगारदाताले नै बेहोर्ने गरी उहाँहरुले कबोल गरेको हुन्छ । त्यही अनुसार दूतावासबाट मागपत्र प्रमाणीकरण हुन्छन् । वैदेशिक रोजगारी ऐन र नियमावलीले व्यवस्था गरे अनुसार सम्बन्धित रोजगारदाता कम्पनीले दूतावासबाट मागपत्र प्रमाणीकरण गर्नै पर्छ । 

अहिले मलेसियाको रोजगारी पूर्णरुपमा निःशुल्क छ । तर यदि कुनै म्यानपावरले मलेसिया पठाउने नाममा पैसा असुल्छ भने त्यो गैरकानी हो । यस्ता म्यानपावर कम्पनीलाई विभागले कारबाही गर्छ । निगरानी पनि गरिरहको हुन्छ । यस्तै, यदि कुनै कम्पनीले नेपालमै गएर निःशुल्क लाने गरी नै सम्झौता गर्छ र एमओयू नै गर्छ भने त्यो वास्तवमा प्रशंसनीय विषय हो । यसलाई सरकारले पनि बढी प्रोमोट गर्नुपर्ने आवश्यक ठान्छु ।

यस्तै पछिल्लो समय मलेसिया सरकारले मे १ देखि आधारभूत तलब बढाएर १२ सयबाट १५ सय रिंगिट बनाएको छ । ओभरटाइमको विषय कम्पनीको मात्रा कति छ भन्ने विषयसँग सम्बन्धित भएकाले त्यसलाई बाध्यात्मक बनाउन मिल्दैन । तर यदि कम्पनीले बेसिक तलब पनि दिँदैन र ओभरटाइम पनि गरेको छ भने मलेसिया सरकारको कानुन र नेपाल सरकारसँग भएको सम्झौताबमोजिम कारबाही हुन्छ । श्रमिकले कति समय ओभर टाइम गरेको छ, त्यसको सही क्यालकुलेशन गरेर उहाँहरुले नेपाली दूतावासमा र मलेसिया सरकारको श्रम विभागमा उजुरी हाल्न सक्नुहुन्छ । हामीले त्यो रकम दिन लगाउँछौँ । यदि कम्पनीले अटेर गरेमा त्यो कम्पनीलाई ब्ल्याकलिस्टमा राख्न सक्ने समेत प्रावधान छ ।

मलेसियामा पछिल्लो समय दूतावासमा घर फिर्ती सम्बन्धी उजुरी बढी आउने गरेका छन् । जस्तो करारको अवधि सकिएपछि कामदार घर फर्किन खोज्दा कम्पनीले जान नदिएका उजुरी छन् । यस्तै तलब समयमा नदिएको, बेसिक स्यालरीमा वृद्धि गरेअनुसार स्यालरी नदिएका उजुरी पनि आउने गरेका छन् ।

मलेसियामा माग अझै बढ्ने देखिन्छ । विदेशी श्रमिकबिना यहाँको अर्थव्यवस्था राम्रोसँग अघि बढ्न सक्दैन । अहिलेको अवस्था हेर्ने हो भने भविष्यमा अहिलेका भन्दा पनि राम्रा कम्पनीले कामदारको माग गर्न सक्ने सम्भावना देखिन्छ । 

कतार र साउदीबाट कामको माग केही घटेको छ : विमलप्रसाद ढकाल

अहिले खाडी मलेसिया लगायत सबै गन्तव्य देशमा रोजगारीको अवसर राम्रो छ । नेपाली श्रमिकलाई कामको अवसर जति पनि छ । दुई महिना अगाडिबाट मलेसियाको रोजगारी पनि खुलेको छ । नेपाली श्रमिकहरुको प्रमुख श्रम गन्तव्य देशमध्ये एक मलेसियामा रोजगारी खुलेसँगै त्यहाँबाट माग आउने क्रम जारी छ । 

तर, अर्को प्रमुख श्रम गन्तव्य देश कतारमा भने अहिले नयाँ कामदार लिने कुरामा निकै कमी छ । कतारमा हुन गइरहेको फिफा विश्वकप २०२२ का कारण पछिल्लो समय त्यहाँबाट आउने कामको मागमा कमी आएको हो । विश्वकप हुने भएपछि त्यहाँको सुरक्षाको हिसाबले भएका कामदारलाई पनि केही समयको लागि बिदामा घर पठाइरहेको छ, फिफा सकिएपछि फेरि फिर्ता बोलाउँछ । तर कामका मागमा कमी आए पनि कतारको रोजगारी ठप्प नै भने हुँदैन ।

यस्तै, साउदी अरबमा पहिले रोजगारीमा जाने क्रम निकै बढेको थियो । तर अहिले केही कम्पनील भनेअनुसार काममा नलगाउने, समयमा तलब दिन नसक्ने, काम दिन नसक्ने गर्दा त्यहाँबाट पनि रोजगारीको माग केही घटेको छ । यूएईको पनि जाने प्रक्रिया पहिलेदेखि पनि मलेसिया र कतार भन्दा कम नै हो । त्यहाँबाट आउने कामदारको माग उस्तै छ । यूएईबाट विशेषगरि सुरक्षा गार्ड, क्लिनिङ तथा कम्पनीहरुमा हो । अनि रहे बहराइन, कुवेत, ओमान । यी सानो देश हुन् । यीनीहरुले पहिले पनि एकदमै थोरै कामदार लिएर जान्थे । अहिले पनि त्यस्तै छ । ठूलो भोल्युममा त्यहाँबाट कामको माग आउँदैन ।

मलेसियामा लगायत खाडीका देशमा जान फ्री भिसा फ्री टिकेट भने पनि कतिपय कम्पनीले उतैबाट त्यही अनुसार खर्च तोकेर कामका मागहरु ल्याउँछन् । कतिले कामदारको खर्च आफै बेहोर्ने शर्तमा माग ल्याउँछन् । कति कम्पनीहरुले उतैबाट टिकट पनि दिन्छ । विदेश जाने कामदारको लागि सेवा शुल्कका बारेमा अहिले पनि विवादास्पद नै छ । सरकारले शून्य लागतमा कामदार पठाउने निर्णय गर्नुभन्दा पहिलेदेखि नै केही कम्पनीले उतैबाट आफै टिकट दिने र खर्च बेहोर्ने गरेका थिए ।  अहिले आउने मागमा कति कम्पनीले दिन्छ कतिले दिँदैन । कति कामदार आफै टिकट काटेर जान्छन् । सरकारले भन्दाखेरि टिकट पनि कम्पनीले दिने भन्छ । सरकार आफैले  कोरिया र इजरायल पठाउँदाखेरि कामदारबाटै टिकट शुल्क लिन्छ । यो निर्णय विरोधाभाषपूर्ण छ ।

यस्तै कामको माग प्रक्रियाको विषयमा कुरा गर्दा, कोरोनाको समयभन्दा पहिले र अहिलेमा खासै फरक आएको छैन । कामदारको माग ल्याउने प्रक्रिया उही हो । रोजगारदातासँग कुरा गरेर रोजगारदाताले मागपत्र बनाएर उनीहरुले आफ्नो प्रक्रिया पूरा गरेर सम्बन्धित देशमा रहेका नेपाली दूतावासमा प्रमाणीकरण गरेर हामीलाई पठाउने हो । यस्तै श्रमिकले अपनाउनुपर्ने मापदण्डमा पनि खासै समस्या छैन । अहिले यहाँबाट जाँदा कोरोनाको टेस्ट गराउने तथा भ्याक्सिन लगाएको सर्टिफिकेट लिनुपर्छ । तर कामदारलाई थप झन्झट हुने हिसाबले कुनै पनि देशले कडा मापदण्ड लगाएको छैन ।

मलेसिया लगायत खाडीको रोजगारी पूर्ण रुपमा पुरानै अवस्थामा फर्किएसँगै पत्रपत्रिकामा, सामाजिक सञ्जालमा पनि ‘विदेशमा रोजगारीका अवसर’ भन्दै विज्ञापन भेटिन्छन् । त्यही विज्ञापनको पछि लागेर रोजगारीको खोजीमा रहेकाहरु त्यही विज्ञापनको पछि लागेर कोही म्यानपावर पुग्छन्, कोही एजेण्टकोमा । त्यसरी प्रकासित विज्ञापन सत्य हो होइन नबुझेरै कसैलाई विश्वास गर्दा धेरै व्यक्ति ठगीमा पनि पर्ने गरेका छन् । त्यसैले कस्ता विज्ञापनलाई विश्वास गर्ने र विज्ञापन साँचो हो या झुटो हो भन्नेमा सचेत हुनुपर्ने वैदेशिक रोजगार विभागका निर्देशक तथा प्रवक्ता कृष्णप्रसाद भुसालको भनाइ छ । 

विज्ञापन साँचो हो या झुटो हो भनेर एकपटक भेरिफाइ गर्नुस् : भुसाल

वैदेशिक रोजगार विभागको वेबसाइट https://dofe.gov.np मा गएर पनि कामको खोजी गर्न सकिन्छ । विभागको वेबसाइटमा जब पोर्टल छ । वेबसाइटको होमपेजमै ‘रोजगारीको खोजी’ भन्ने अप्सन हुन्छ । त्यसमा क्लिक गर्नुभयो भने त्यो खुल्छ । त्यहाँ पुरुष, महिला के को लागि कुन देशमा जागिर खोज्ने भन्ने अप्सन राखिएका हुन्छन् । त्यसमा हेर्दै जानुभयो भने आफूलाई उपयुक्त काम भेटाउन सक्नुहुन्छ । यस्तै त्यसमा कुन देशबाट के कामको लागि कति जनाको माग आएको छ ?, त्यो माग नेपालको कुन म्यानपावरले ल्याएको हो, रोजगारदाता कम्पनीले के के सुविधा दिएको छ लगायतका सबै विवरण त्यसमा प्रष्ट राखिएका हुन्छन् ।

योसँगै विदेशबाट आएको माग राष्ट्रिय समाचारपत्रहरुमा पनि प्रकाशित भएको हुन्छ । त्यसबाट हेर्दा पनि थाहा हुन्छ । गन्तव्य देशमा रहेको नेपाली दूतावासबाट मागपत्र प्रमाणीकरण भइ विभागमा आइसकेपछि म्यानपावर कम्पनीले पूर्व स्वीकृति लिएपछि राष्ट्रिय स्तरका पत्रपत्रिकामा विज्ञापन गर्नुपर्छ । त्यो विज्ञापन हेरेर पनि कामको बारेमा जानकारी लिन सकिन्छ । तर एकपटक पत्रिकामा छापिएको कामबारे कन्फर्म गर्नको लागि वैदेशिक रोजगार कार्यालय वा नजिकको श्रम कार्यालयमा गएर पनि बुझ्न सकिन्छ । त्यहाँको कर्मचारीहरुले राम्रोसँग बुझाइदिनुहुन्छ । 

यस्तै पछिल्लो समय फेसबुक, ह्वाट्सअप जस्ता सामाजिक सञ्जालमा पनि वैदेशिक रोजगारीमा अवसर भन्दै विज्ञापन राख्ने गरेको देखिन्छ । यस्ता विज्ञापनमा विश्वास गर्नुहुँदैन । कतिपयको नियम यसरी विज्ञापन राखेर ठगी गर्ने हुन्छ । हाम्रोमा यस्ता ठगीका उजुरी धेरै नै आउने गरेका छन् । कुनै पनि व्यक्तिले म फलानो देशमा पठाइदिन्छु भन्दै प्रलोभनमा पारेर पनि ठग्ने गरेका छन् । त्यस्ता व्यक्ति तपाईहरुका आफन्त पनि हुन सक्छन् । त्यसैले यस्तो अवस्थामा सचेत हुनुपर्छ । एजेण्टको भर पर्नै हुँदैन । कहिलेकाहीँ म्यानपावरले पनि नभएको काम छ भनेर श्रमिकबाट रकम असुल्ने गरेका हुन्छन् । त्यस्तो अवस्थामा उनीहरुले भनेअनुसारको कामको माग छ कि छैन भनेर माथि भनेअनुसार विभागको वेबसाइटमा गएर वा विभागका कर्मचारीलाई सोधेर पनि बुझ्न सकिन्छ । पत्रपत्रिकाम प्रकाशित विज्ञापनमा लट नम्बर भनेर राखिएको हुन्छ । विभागको वेबसाइटमा राखिएको पूर्व स्वीकृतिमा क्लिक गरी त्यो लट नम्बर राखेर हेरेमा विदेशबाट माग भइ आएको कामको पूर्ण विवरण देखाउँछ । यसरी पनि त्याे विज्ञापन सही हाे या झुटो भन्ने पत्ता लाउन सकिन्छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया