अमेरिकामा रहेकी जग्गाधनीलाई थाहै नदिइ जग्गा बिक्री, कर्मचारीसहित ५ जना पक्राउ

 असार ३०, २०७९ बिहीबार १३:१८:० | रासस
unn.prixa.net

फाइल तस्बिर

सप्तरी – जग्गाधनीलाई जानकारी नै नदिइ जग्गा बिक्री गर्ने कर्मचारीसहित पाँच जनालाई कैद सजाय भएको छ । राजविराज नगरपालिका ७ को करोडौँ रुपैयाँ पर्ने तीन कठ्ठा नौ धुर जग्गा कीर्ते गरी बिक्री गर्ने कार्यमा सलंग्न मालपोत कार्यालय सप्तरीका नायब सुब्बा राजविराज ५ का सीताराम चौधरी र कार्यालय सहायक राजविराज ९ का हरिनारायण शर्मालाई बुधवार जनही ६ वर्ष कैद सजाय भएको छ ।

कीर्ते गरेकाेमा एक वर्ष, कर्मचारी भएकाले थप दुई वर्ष र ठगी गरेकाेमा तीन वर्ष गरी ६ वर्ष कैद सजाय भएको सप्तरी जिल्ला अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले जानकारी दिनुभयो । अर्का कर्मचारी सुनसरी दुहबी ४ का उद्धव खतिवडाको कारागारमै ज्यान गएकाले उनको हकमा मुद्दा खारेज भएको छ । कीर्ते जालसाजी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका ५८ वर्षीय नायब सुब्बा खतिवडाको २०७८ पुस २ गते ज्यान गएको थियो । उनी २०७५ साउनदेखि नै पुर्पक्षका लागि राजविराज कारागारमा थुनिएका थिए ।

खतिवडासँगै थुनामा रहेका चौधरी र अर्का कर्मचारी हरिनारायण शर्माको कैद अवधि अझै दुई वर्ष बाँकी छ । फरार रहेका शर्मा अदालतमा हाजिर भएपछि २०७५ कात्तिक १३ गतेदेखि थुनामा छन् । करारका कर्मचारी शर्मा श्रेस्तामा कैफियत लेखी फोटो टाँसेर फाँटवालामा पेस गर्ने गर्दथे ।

यसैगरी जग्गा खरिद बिक्रीमा संलग्न राजविराज ७ गजेन्द्र चोककी देवरानीदेवी दास र डाक्नेश्वरी नगरपालिका ८ घर भइ अहिले राजविराज ७ मा घर बनाइ बसेकी घुरनीदेवी साहलाई चार वर्ष कैद सजाय भएको छ । दास र साहलाई कीर्ते गरेकाेमा एक वर्ष र ठगी गरेकामा तीन वर्ष गरी चार वर्ष कैद सजाय भएको अदालतले जनाएको छ ।

प्रहरीद्वारा २०७५ असार ३२ गते पक्राउ परेकी दास २०७५ साउन १७ गते १५ लाख पाँच हजार रुपैयाँ धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भएकी थिइन् । घुरनीदेवी भने २०७५ पुस ३० गते साढे सात लाख रुपैयाँ धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भएकी थिइन् ।

यस्तै २०७५ असार १९ गते पक्राउ परि साउन १७ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका राजविराज ११ का ७८ वर्षीय फुदन साहको कैद सजाय अवधि चार वर्ष पूरा भएको छ । कैद सजाय भुक्तान भएकाले उनी रिहा भएका छन् । उनका छोरा शङ्कर साह तेली र शर्माका नातेदार उपेन्द्र शर्मा फरार रहेका छन् ।

उनीहरूले राजविराज नगरपालिका ७ की ६९ वर्षीया उषा अर्यालको करोडौँ रुपैयाँ पर्ने तीन कठ्ठा नौ धुर जग्गा बिक्री गरेका थिए । अमेरिकामा रहेकी अर्याललाई थाहै नदिइ एक महिनामा दुई पटक उनको जग्गा बिक्री भइसकेको थियो । उहाँले आफ्नो जग्गा खोजी गर्दा अर्कैको नाममा पुगिसकेको थाहा पाएपछि न्यायका लागि प्रहरीसमक्ष पुग्नुभएको थियो । कीर्ते गरी आफ्नो नाममा जग्गा ल्याइ बिक्री गर्ने फुदन साह र खरिद गर्ने देवरानी दासलाई प्रहरीले पक्राउ गरेसँगै कर्मचारीसहितको संलग्नताको रहस्य खुलेको हो ।

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया