म अहिले किन अयाेग्य भएँ ? बुबासँगकाे प्रतिशाेध साँध्न बर्खास्त गरियाे : रेणुका साह

 असार ३१, २०७९ शुक्रबार १३:५४:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – न्याय परिषद्ले गएकाे असार २५ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासकी न्यायाधीश रेणुका साहलाई योग्यता नपुगेको भन्दै पदबाट बर्खास्त गर्‍याे । २०७५ चैत २० मा उच्च अदालतमा नियुक्त हुनुभएकी धनुषाकी साहले निरन्तर वकालत गरेको समयावधि १० वर्ष नपुगेको भन्दै न्याय परिषद्ले बर्खास्त गरेको थियो । 

न्यायाधीश नियुक्त हुनका लागि आवश्यक योग्यता नपुगेको (ढाँटेको) अभियोगमा न्याय परिषद् सचिवालयको सिफारिसमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले साहलाई बर्खास्त गर्नुभएको थियो । संविधान र कानुन बमोजिम निरन्तर कानुन व्यवसाय गरेको हुनुपर्नेमा उहाँले निरन्तर जागिर खाएको पाइएको परिषद्ले निष्कर्ष निकालेको थियो । 

बर्खास्त हुनुभएकी साह भने आफूमाथि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले प्रतिशोध साँधेको आरोप लगाउनुभएको छ । आज शुक्रवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले सबै प्रक्रिया पुर्‍याएर नियुक्ति गरिएको साढे तीन वर्षपछि कानुनमन्त्री कोइरालाले आफ्ना बुबा एवम् पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साहसँगको प्रतिशोध आफूमाथि साँधेको बताउनुभयो । उहाँले नियुक्त भएर काम गरिसकेको यो अवधिसम्म कामु प्रधानन्यायाधीश कार्कीसहित न्याय परिषद्ले कार्यक्षमता, व्यवहार र आचरण तथा कार्यदक्षतामा प्रश्न नउठाएको भन्दै कानुनमन्त्री कोइरालाले मन्त्री बनेपछि आफ्नो नाम कमाउन र योजनाबद्ध तरिकाले आफूलाई बर्खास्त गरेको बताउनुभयो ।

साहले भन्नुभयो, ‘अहिले म किन अयोग्य भएँ ? साढे तीन वर्ष नियुक्तिको प्रक्रिया पूरा भइसकेपछि फेरि फर्किएर नियुक्तितिर जानु भनेको प्रतिशोधको कारणले भइरहेको छ । यो प्रायोजित रूपमा भएको जस्तो मलाई लागेको छ । यो बीचमा मलाई एक पटक पनि कामु प्रधानन्यायधीशले रेणुका शाहको कार्यक्षमता, दक्षता, आचरण, व्यवहारमा कुनै प्रश्न गर्नुभएको छैन । जब गाेविन्द काेइराला नयाँ कानुनमन्त्री नियुक्त हुनुभयो, उहाँ बिलकुलै प्रतिशोधको भावनाले आउनुभएको छ । प्रतिशोध कसलाई हो तर मलाई निसाना बनाइयो । उहाँले न्यायपालिकामा सुदृढीकरण गर्छु भन्नुभएको छ । तर यो कुरा योजनाबद्ध तरिकाले आएको छ । रेणुका साह अयोग्य थियो भन्ने लाग्छ भने त्यो बेलाको सबै नियुक्ति बदर गर्नुपर्छ । नियुक्ति हुँदा नै मैले सबै कागजात दिएको थिएँ, अपुग थियो भने त्यही बेला भन्नुपर्थ्याे । अहिले स्पष्टीकरण सोध्दा मैले सबै कागजात बुझाउन आवश्यक नरहेका बेला पनि बुझाएको छु ।’

साहले कानुनमन्त्री काेइरालाले संविधान र कानुनभन्दा पनि माथि गएर निर्णय गरिरहेको आराेप लगाउनुभयाे । नियुक्ति गरेर झन्डै चार वर्ष काम गरिसकेको मानिसलाई बर्खास्त गर्नुको कारण अहिलेसम्म नदिएको उहाँकाे गुनासाे छ । साहले आफ्नै नियुक्तिलाई बदर गर्नु र सर्वोच्चको अन्तिम भएर बसेको फैसलालाई पनि 'ओभरटेक' गरेर फैसला विपरीत काम गर्नु सरासर गैरकानुनी भएको बताउनुभयो ।

साहले न्याय दिनेमाथि नै अन्याय भएको कुरा बोल्ने मानिस को छ भन्दै प्रश्न पनि गर्नुभयो । उहाँले आफूमाथि भएको अन्याय र अत्याचार साथै अयोग्यताको छाप मेटाउन आफू नयाँ बाटो लिएर अघि बढ्ने बताउनुभयाे । २०७५ चैत २० गते न्यायाधीश नियुक्त हुनुभएकी साह पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साहकी छोरी हुनुहुन्छ । उहाँको अयोग्यतामाथि प्रश्न उठेपछि परिषद्ले छानबिन गरेर अयोग्यता ठहर गरेको थियो । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको अध्यक्षतामा बसेको न्याय परिषद्को बैठकले साहलाई गरेको नियुक्तिको निर्णय कामु प्रधानन्यायाधीश कार्कीले उल्ट्याउनुभएको थियो । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया