नेपालमा भुटानी शरणार्थीको अवस्था र अधिकारमाथि केन्द्रित सम्मेल...
पुस ५, २०८१ शुक्रबार
काठमाण्डाै - कोरोना सङ्क्रमणपछि केही घटेको वैदेशिक रोजगारीको क्षेत्र अहिले लयमा फर्किएको छ । चालु आर्थिक वर्षमा ६ लाख २८ हजार ५ सय ३ जना नेपाली कामदार वैदेशिक रोजगारीमा गएका छन् ।
कोभिड–१९ विरुद्धको खोपको पहुँच र स्वास्थ्य मापदण्डमा आएको लचकतासँगै पछिल्लो वैदेशिक रोजगारीमा जाने क्रम बढेको हो । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षमा श्रम स्वीकृति लिएको सङ्ख्या अघिल्लो आर्थिक वर्षको भन्दा ४ लाख ६१ हजार ८ सय ५ ले धेरै हो ।
गएकाे दुई वर्ष कोरोनाका कारण नेपाल र श्रमगन्तव्य देश प्रभावित भएर रोकिएको वैदेशिक रोजगारी यो वर्ष तीन दशमलव ७४ गुणाले बढेको देखिएको छ । चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या सबैभन्दा बढी मङ्सिर महिनामा रहेको छ ।
मङ्सिर महिनामा ७४ हजारभन्दा बढीले श्रम स्वीकृति लिएका छन् भने सबैभन्दा कम साउनमा २५ हजार ४ सय ६८ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । यस्तै पुसमा झन्डै साढे ६६ हजारले श्रम स्वीकृति लिए भने जेठ र असारमा क्रमशः साढे ६२ हजार र ६० हजारले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्क छ ।
यो वर्ष नेपालीका प्रमुख श्रमगन्तव्य देश साउदी अरब र कतार बनेका छन् । साउदी अरबका लागि १ लाख ८८ हजार ३ सय ९६ जनाले र कतारमा १ लाख ८४ हजार ५ सय ३ जनाले श्रमस्वीकृति लिएका छन्। चालु आर्थिक वर्षमा कम श्रम स्वीकृति लिने देशमा ओमान, जापानलगायतका देश रहेका छन् ।
सरकारले श्रम स्वीकृति दिएर विदेश जान अनुमति दिन थालेको २९ वर्षमा चालु आर्थिक वर्ष सबैभन्दा बढीले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्कले देखाएको छ । वैदेशिक रोजगार विभागका अनुसार विभागले २०५० सालदेखि श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको तथ्याङ्क राख्न सुरु गरेको थियो।
वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले अहिले पनि अन्तर्राष्ट्रिय देशमा वैदेशिक रोजगारी कोभिडभन्दा अगाडिको लयमा नआइसकेको भए पनि नेपालको वैदेशिक रोजगारको अवस्था पूर्ण रुपमा लयमा फर्किएको बताउनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।