खोला किनारको २० मिटर मापदण्डको फैसलामा सर्वोच्चले पुनरावलोकन...
मंसिर ७, २०८१ शुक्रबार
हाँस्यव्यंग्य कलाकारहरुले नेताको बोली र हाउभाउ नक्कल गरेर प्रहसन गर्ने गरेको त धेरैलाई थाहा छ । तर बोली र हाउभाउ भन्दा अनुहारको क्यारिकेचर गर्ने गरेको चाहिँ बिरलै देख्न पाइन्छ, त्यो पनि नेताहरुको नभएर कलाकारहरुको । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा अहिले यस्तै बिरलै देख्न पाइने प्रदर्शनी भैरहेको छ । अघिल्लो हप्ता तीन दिनको लागि भनेर आयोजना गरिएको प्रदर्शनी दर्शकको संख्या बढेपछि साउन ५ गतेसम्मको लागि थपिएको छ ।
प्रतिष्ठान र कार्टुनिष्ट क्लब अफ नेपालको संयुक्त आयोजनामा चलिरहेको प्रदर्शनीमा ४१ जना कलाकारको ५० वटा कलाकृति अर्थात क्यारिकेचर हेर्न पाइन्छ । जसमा हालै सम्पन्न पालिका चुनावमा स्वतन्त्रतर्फबाट निर्वाचित काठमाण्डौ तथा धरानका मेयर बालेन्द्र साह र हर्क साम्पाङदेखि बैंकर अनिल शाहसम्म छन् ।
कलाकारहरुमा नारायण गोपाल, हरिवंश आचार्य, सन्तोष पन्त, नीर शाह, भुवन केसी, सिताराम कट्टेल (धुर्मुस), सुनिल थापा, रंगकर्मी सुनिल पोखरेल, गायक अमृत गुरुङ लगायतको पनि क्यारिकेचर कार्टुन राखिएको छ । पत्रकारमा भने किशोर नेपाल अनि ऋषि धमला यस पटक कलाकारको आँखामा परेका छन् । चित्रकारमा किरण मानन्धर रकेके कर्माचार्य पनि समेटिएका छन् ।
प्रदर्शनीमा २० जना महिलाहरुले बनाएका २५ वटा क्यारिकेचर पनि समावेश गरिएको छ । कलाकृतिमा कार्टुनिष्ट वासु क्षितिजले बनाएको प्रतिष्ठानका उपकुलपति रमेश खनालको क्यारिकेचर पनि राखिएको छ प्रदर्शनीमा ।
‘कला अन्तर्गत पर्ने कार्टुन अनि त्यस अन्तर्गत पर्छ क्यारिकेचर । कार्टुन व्यंग्य हो भने क्यारिकेचर अतिरञ्जना हो’ खनालले भन्नुभयो ।
क्यारिकेचर कलाकाबारे उहाँ अगाडि थप्नुहुन्छ, ‘मेरो हुबहु क्यारेक्टर चाहिँ निकाल्ने । नाक ठूलो बनाइदिने । गाला ठूलो पार्ने । घाँटी सानो बनाइदिने अर्थात अतिरञ्जना गर्ने । यसले कलाकार र कला पनि माझिने गर्छ ।’
मुहारको भावसहित रेखा र रङको प्रयोग गरी दुरुस्त नक्कल गरेर त्यसलाई व्यंग्यात्मक शैलीमा पस्किनु नै क्यारिकेचर कार्टुन हो ।
क्यारिकेचर प्रदर्शनीको यो चौथो श्रृँखला हो । प्रतिष्ठान र कार्टुनिष्ट क्लब अफ नेपालले २०७४ सालदेखि निरन्तर गर्दै आएको प्रदर्शनी अघिल्लो वर्ष भने कोभिडका कारण हुन सकेन ।
अघिल्लो श्रृँखलाहरुमा महिलाहरुको सहभागिता थिएन भने यसपटक कार्टुनिष्ट क्लब र प्रतिष्ठानले महिलाहरुलाई सहभागी गराउन २ दिने कार्यशाला समेत आयोजना गरेको थियो । २ दिने कार्यशालामा सहभागी २० जना महिला कलाकारमध्येकी एक हुनुहुन्छ पाटनकी शुस्रिना शाक्य ।
उहाँले कार्यशालामा पहिलो पटक नीर शाहको क्यारिकेचर बनाउनु भएको थियो जुन हाल प्रदर्शनीमासमेत राखिएको छ । ‘पोट्रेट पहिलेदेखि बनाउने गर्थेँ । २ दिनको कार्यशालामा सरहरुले बनाउन पनि सिकाउनु भयो,’ उहाँ भन्नुहुन्छ, ‘नीर शाहको क्यारिकेचर बनाउन यहाँ २ दिन तथा घरमा पनि २ दिन गरेर ४ दिन लाग्यो ।’
‘यसअघि प्रदर्शनी प्रतियोगितात्मक भए पनि यस पटक भने महिला सहभागिता बढाउने उद्देश्यले त्यसो गरिएन’ आयोजक कार्टुनिष्ट क्लबका अध्यक्ष वासु क्षितिज भन्नुहन्छ ।
प्रदर्शनीमा दर्शकहरुको राम्रो उपस्थिति रहेको छ । तिनै मध्येका एक हुनुहुन्छ, शंकर पोखरेल । कीर्तिपुरबाट प्रदर्शनी हेर्न आउनु भएका पोखरेललाई क्यारिकेचर हेरेर हाँसो, रमाइलो तथा अचम्म लाग्यो ।
कार्टुनमा देश तथा समाजमा भएका विकृतिहरुलाई देखाइने गरेकोमा क्यारिकेचरमा भने विकृति नभएर मानिसको अनुहार बिगारेको देखेपछि उहाँले भन्नुभयो, ‘यो हेर्नेहरुको मानसिक विकासका लागि पनि उत्कृष्ट रहेछ । यसमा भने अनुहार सम्झन एकछिन घोत्लिनुपर्ने, सम्झनुपर्ने रहेछ ।’
२०५६ सालमा सबै कार्टुनिष्टहरुलाई एउटै छातामनि राख्ने उद्देश्यले स्थापना गरिएको कार्टुनिष्ट क्लबले कार्टुन तथा क्यारिकेचर सम्बन्धी कार्यक्रमहरु निरन्तर गर्दै जाने लक्ष्यका साथ प्रदर्शनीको आयोजना गरेको अध्यक्ष वासु क्षितिजले बताउनु भयो । उहाँ भन्नुहुन्छ, ‘नयाँ आउने कार्टुनिष्टहरुले पुरानाहरुले बनाएको पनि सँगै बसेर हेर्न पाउने र प्रदर्शनीमा पनि सँगै सहभागी हुुन पाउने अवसरका कारण यो अवधारण जन्मिएको हो ।’
भ्रष्टाचारको विषयमा, वातावरणको विषयमा, शिक्षाको विषयमा यसरी क्लबले कार्टुन बनाउँदै तथा प्रदर्शनी समेत गर्दै आएको छ । कार्टुन बनाउँदै आए पनि कार्टुनको एउटा विधा क्यारिकेचरको किन नगर्ने भनेर यो कार्यक्रमको थालनी भएको पनि उहाँले बताउनु भयो ।
विदेशतिर मानिसहरुले आफ्नो क्यारिकेचर पैसा तिरेर बनाउने चलन छ । तर, नेपालमा त्यो चलन नभए पनि क्यारिकेचर बनाएका कारण कोही पनि नरिसाएको पनि वासु क्षितिजले बताउनु भयो । कार्टुन अथवा क्यारिकेचरमा मुहारलाई हाँसोउठ्दो तरिकाले बनाइने हुँदा हाँस्य रस मिसाउँदा आफ्नो मुहार कस्तो देखिँदो रहेछ भनेर खुशी हुुने गरेको पनि क्षितिजको अनुभव छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ ।