कञ्चनजङ्घा हिमालकाे फेदमा वन्यजन्तु अध्ययन–अनुसन्धान केन्द्र

 साउन १, २०७९ आइतबार १८:५७:५३ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङको कञ्चनजङ्घा हिमालकाे फेदमा अन्तर्राष्ट्रिय दुर्लभ वन्यजन्तु अध्ययन अनुसन्धान केन्द्र निर्माण भएको छ । वन्यजन्तुकाे अध्ययनका लागि 'हिमालयन रिसर्च सेन्टर' नामकाे वन्यजन्तु अध्ययन अनुसन्धान केन्द्र निर्माण गरिएको हो ।

हिउँ चितुवाको वासस्थान मानिएको चार हजार दुई सय मिटरको उचाइमा कञ्चनजङ्घा हिमालको फेद खम्बाचेनमा वन्यजन्तु अध्ययन अनुसन्धान केन्द्र निर्माण गरिएको कञ्चनजङ्घा संरक्षण क्षेत्र परिषद्का अध्यक्ष खगेन्द्र फेम्बु (लिम्बु) ले बताउनुभयो । यो अध्ययन अनुसन्धान केन्द्र सबैभन्दा अग्लो ठाउँमा रहेकाे उहाँकाे दाबी छ । मङ्गोलियामा पनि एक वन्यजन्तु अध्ययन केन्द्र भए पनि यो जतिकाे उचाइमा नरहेको उहाँले बताउनुभयाे । 

राष्ट्रिय निकुञ्ज, वन्यजन्तु संरक्षण विभाग, अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालय, काठमाण्डौ विश्वविद्यालय, कृषि वन विश्वविद्यालयमा स्नातकाेत्तर तहमा अध्ययनरत विद्यार्थीलाई सोधपत्रमा समेत सहयोग पुग्ने अपेक्षा गरी याे केन्द्र निर्माण गरिएको हो । यस केन्द्रले हिउँ चितुवाको विचरण क्षेत्रको भू–बनोट, वासस्थानको अवस्था, आहार प्रजाति, हिउँ चितुवा मानवबीचकाे द्वन्द्व आदिकाे बारेमा अध्ययन अनुसन्धान गर्नेछ । 

याे केन्द्र बनाउन सुवर्ण हिमालयन जेभी निर्माण सेवासँग २०७६ साल असार २३ गते पाँच कराेड ४९ लाख रुपैयाँमा सम्झाैता भएकाे थियाे । यही महिनामा भवन केन्द्रलाई जिम्मा लगाउने योजना रहेको कम्पनीका प्राेप्राइटर इन्द्र केदेमले बताउनुभयो । 

अनुसन्धान केन्द्रमा एकै पटक अनुसन्धानकर्ताहरू वर्षभरि नै फिल्डमा बसी अध्ययन अनुसन्धान गर्न सकिने भवन बनाइएकाे कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयका प्रमुख रमेशकुमार यादवले बताउनुभयो । यस केन्द्रका कारण पर्यटक आगमनमा पनि वृद्धि हुने उहाँकाे दाबी छ ।  

कञ्चनजङ्घा संरक्षण क्षेत्रको ओलाङचुङगोला, याङमा, खम्बाचेन, रोनाल्क, रामजेल, चेराममा १३ देखि २१ वटा हिमचितुवा रहेको अनुमान गरिएको अध्यक्ष फेम्बुले बताउनुभयाे । हिउँ चितुवाको आहारा भनिएको नाउर एक हजार ६ सयभन्दा धेरै सङ्ख्यामा रहेकाे उहाँकाे भनाइ छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया