कोरोनाले गर्दा जापान फर्किन नपाएपछि १२ बिघा जग्गा भाडामा लिएर व्यावसायिक कृषि

 साउन ४, २०७९ बुधबार १३:३०:४७ | हेमराज शर्मा
unn.prixa.net

दाङ –  काेराेनाले वैदेशिक राेजगारी गुमेपछि दाङका हुमबहादुर अहिले आफ्नै गाउँमा कृषिमा रमाइरहनुभएकाे छ । गएकाे दुई वर्षदेखि दाङको हापुरमा कृषि फर्म सञ्चालन गरिरहनुभएको छ, ३३ वर्षीय केसीले ।  त्योभन्दा पहिले उहाँ जापानमा हुनुहुन्थ्यो । जापानमा उहाँले ८ वर्ष बिताउनुभयो । 

बिदामा नेपाल आएकै बेला कोराना महामारी फैलियो । महामारीका कारण उहाँ जापान फर्किन पाउनुभएन । जापानको रोजगारी गुम्यो । तर हुमबहादुरको हौसलामा कुनै असर परेन । उहाँले जापान जान नपाए पनि देशमै केही गर्छु भन्ने अठोट गर्नुभयो ।

हुमबहादुर(सेताे क्याप लगाउने) र पदम केसी(कालाे क्याप लगाउने)

जापानमा बस्दा उहाँले कृषि फर्ममा काम गर्नु भएको थियो । त्यहाँ बस्दा सिकेको सीपलाई उहाँले आफ्नै गाउँठाउँमा प्रयोग गर्ने निर्णय गर्नुभयो । १२ बिगाह जग्गा भाडामा लिएर कृषि व्यवसाय थाल्नुभयो । एनिमल सन साइन बहुउद्देश्यीय कृषि फर्म नाममा व्यवसाय दर्ता गर्नुभएको छ । फर्ममा कुखुरा, बाख्रा पालनसँगै तरकारी र फलफूल खेती गर्नुभएको छ । दुई वर्ष सबै तयारी गरेर व्यवसायको आधार तयार भएको उहाँको भनाइ छ ।

‘व्यवसायका लागि पूर्वाधार तयार भइसकेको छ, अब यसैलाई बढाउँदै लैजाने हो’, उहाँले भन्नुभयो, ‘यो व्यवसायले सुरुवाती चुनौतीको चरण पार गरिसकेको छ ।’

उहाँलाई व्यवसाय नाफामा जान्छ भन्नेमा ढुक्क छ । विदेशमा सिकेको सीप र गरेको मिहिनेतलाई अब आफ्नै गाउँठाउँमा सदुपयोग गरेर आत्मनिर्भरको बाटोमा लागेको उहाँ बताउनुहुन्छ । हुमबहादुरले स्नातक सम्मको पढाइ पूरा गर्नुभएको छ । स्नातक सकेर उहाँ जापान जानुभएको थियो । ८ वर्षसम्म जापानमा बस्दा उहाँले झण्डै एक करोड रुपैयाँ कमाउनुभयो । त्यही कमाइले दाङको घोराहीमा पक्की घर पनि बनाउनु भयो । 

हुमबहादुरले जापानमा गएर पैसा त कमाउनु नै भयो । तर मिहेनत गर्न पनि त्यहीँ गएर सिकेको उहाँ बताउनुहुन्छ । 

‘परिश्रम भनेको के हो भन्ने धेरै कुरा मैले जापानमै गएर सिकेँ’, उहाँले भन्नुभयो ।

हुमबहादुरले २० लाख रुपैयाँको लगानी गरेर व्यवसाय थाल्नु भएको हो । उहाँले त्यो व्यवसायमा आफू एक्लै नभएर परिवारका विभिन्न सदस्यको सहभागिता गराउनुभएको छ । ओभरसियर पढेका भतिज पदम केसी, आफ्नी श्रीमती, भतिजी बुहारी उहाँका व्यावसायिक साझेदार बनेका छन् । अहिलेलाई सहयोगका लागि अरु दुई जना कर्मचारी पनि राख्नुभएको छ । बाँकी काम आफै र घरपरिवारका सदस्यले हेर्छन् । 

राज्यले अनुदान दिने भन्दा पनि किसानले उत्पादन गरेका वस्तु बिक्रीको सुनिश्चितता गर्न सके कृषक तथा व्यवसायीहरुलाई राहत पुग्ने पदम केसीको भनाइ छ । यस्तै, सरकारले ठाउँठाउमा पुगेर कृषक तथा व्यवसायीलाई तालिम लिने, अवलोकन भ्रमण गर्ने गरेको भए पनि राज्यको नीति नहुँदा उत्पादित वस्तुमा बिचौलिया हाबी हुने गरेको पदम बताउनुहुन्छ ।

पदम भन्नुहुन्छ, ‘राज्यको नीति नहँुदा हाम्रो उत्पादनमा  बिचौलियाहरुको रजाइ छ, किसानले मूल्य पाउन सकेका छैनन् ।’

घरका सबै सदस्य व्यवसायमा खटिनुहुन्छ । सबैले मिलेर काम गरे व्यवसाय राम्रो हुनेमा सबै विश्वास गर्छन् । 

‘घरायसी कामसँगै व्यवसायमा हामी सबैले सहयोग गरिरहेका छौँ’ पदमकी श्रीमती सम्झना केसी भन्नुहुन्छ, ‘मैले बिहानै उठेर बाख्रालाई घाँस काट्ने, कुखुरालाई पानी दिने गर्छु, अरु सबै जनाले आफूले जानेको काम गर्नुहुन्छ ।’

यो फर्मलाई लुम्बिनी प्रदेश अन्तर्गत डिभिजन वन कार्यालय दाङले फलफुलका बिरुवा सहयोग गरेको छ । एक पालिका, एक नमूना कृषि वन कार्यक्रम मार्फत फर्मलाई फलफुलका बिरुवा सहयोग गरिएको हो ।

अन्तिम अपडेट: चैत १५, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया