पाथीभरामा केबलकार रोक्न माग

 साउन ४, २०७९ बुधबार १८:४:२० | केशवप्रसाद भट्टराई
unn.prixa.net

फाइल तस्बिर

ताप्लेजुङ – ताप्लेजुङको पाथीभरा मन्दिरमा बन्न लागेको केबलकार निर्माण रोक्न भन्दै सर्वाेच्चमा मुद्दा विचाराधीन हुँदाहुँदै पनि फुङलिङ नगरपालिकाले केबलकार निर्माणका लागि म्याद थपेको छ ।

नगरपालिकाले केबलकार बनाउन म्याद थपेको भन्दै किँरात याक्थुङ चुम्लुङ जिल्ला समितिले आपत्ति जनाएको छ । मुकुम्लुङ संयुक्त सङ्घर्ष समिति नै बनाएर सङ्घर्षको समेत घोषणा गरिएको छ । समितिले ताप्लेजुङको पाथिभरा क्षेत्रमा केबलकार निर्माण हुन नदिने चेतावनी दिएको हो । ‘विगतमा हामीले राखेका पाँच बुँदे मागको सम्बोधन नभइ केबलकार निर्माणको परिकल्पनासम्म गर्न सकिँदैन’, किराँत याक्थुङ चुम्लुङका जिल्ला अध्यक्ष इन्दिरा मेन्याङ्वोले भन्नुभयो । 

आन्दोलनरत सङ्घ–संस्थाको माग र विचारलाई बेवास्ता गर्दै नगरपालिकाले केबलकार बनाउने कम्पनीको कार्य अवधि थप गरेको अध्यक्ष मेन्याङबोले बताउनुभयो । अदालतमा मुद्दा रहँदा रहँदै पनि नगरपालिकाले किन म्याद थप गरेको भनी उहाँले प्रश्न गर्नुभयो ।  

सङ्घर्ष समिति तथा याक्थुङ चुम्लुङले मुकुम्लुङ क्षेत्रमा कुनै पनि निर्माण कार्यका लागि कम्पनीसँग गरेको सम्झौता खारेज गर्नुपर्ने, रैथाने याक्थुङ लिम्बूहरूको संस्कृतिककाे संरक्षण र प्रवर्द्धन गर्नुपर्ने माग गर्दै आएको छ ।

पाथीभरा देवीदर्शन केबुलकार प्रालिले भने पाथीभरा क्षेत्रमा झन्डै तीन अर्ब रुपैयाँको लगानीमा केबलकार निर्माण प्रक्रिया थाल्ने बताउँदै आएको छ ।

असार २९ गतेको कार्यपालिका बैठकले केबलकार सञ्चालन अनुमतिसम्बन्धी कार्यविधि संशोधन गरेको थियो । असार ३० गते पाथीभरा माता केबलकार कम्पनीको म्याद थप गरिएको नगरपालिकाका प्रवक्ता मोहन न्यौपानेले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया